ad ad

ब्लग


अहिलेको पुस्तालाई के थाहा हलो जोत्दाको त्यो रौस र रोमाञ्च!

अहिलेको पुस्तालाई के थाहा हलो जोत्दाको त्यो रौस र रोमाञ्च!

रासस


ईश्वर पोखरेल
असार २७, २०८१ बिहिबार १७:९, काठमाडौँ

२००६ साल साउन ११ गते लमजुङ दुराडाँडास्थित अर्चल्यानी भन्ने ठाउँमा पण्डित तोयनाथ अधिकारीले दुई सियो जोतेर ब्राह्मणले हलो जोत्ने कार्य प्रारम्भ गरेका रहेछन्। त्यसदिन स्थानीय हरिलाल पौडेलको हलगोरु र हलो लिएर मायानाथ पौडेलले पण्डित तोयनाथ अधिकारीको दुुराडाँडाको बाटुले गह्रोमा पूर्वतिर फर्काएर हल गोरु नारेका रहेछन्। 

तोयनाथ आफूले दुई सियो लगाएर ‘ल अब फुक्यो’ भनेर छाडिदिएका रहेछन् र त्यसपछि शेषकान्त अधिकारी, हरिभक्त अधिकारी, श्रीकान्त अधिकारी, मायानाथ पौडेललगायतका २७ जना ब्राह्मणले सामूहिक रूपमा हलो जोतेछन्। त्यस दिन लमजुङका कुन्छा, परेवाडाँडा, कोइरालाफाँट र तनहुँका रतनपुर, रूपाकोट, तार्कुघाट, मानेचौकालगायतका ठाउँका मानिसहरू यो अभियानमा सहभागी हुन दुरडाँडा पुगेका रहेछन्। 

त्यतिबेला हलो जोत्ने ब्राह्मणलाई हलो नजोत्ने ब्राह्मणहरूले उल्याएर यस्तो गीत नै बनाएका रहेछन् :

शेषकान्त लेप्टन, हरिभक्त तिघ्रे
तोयनाथ पण्डित हलो जोती बिग्रे

तोयानाथ अधिकारी लगायतको यस पहलकदमीपछि ब्राह्मणले हलो जोत्नु हुँदैन भन्ने सामाजिक मान्यता भंग हुँदै आएछ। 

हलो जोत्ने यो अभियान वा ‘हलो–क्रान्ति’ म हुर्किंदाओर्दामा सिन्धुली जिल्लाको तीनपाटनसम्म बिस्तार भइसकेको रहेछ। 
सिन्धुली जिल्लाको जिल्ला सदरमुकामभन्दा झन्डै चौध किलोमिटर पूर्व अवस्थित फाँट हो- तीनपाटन। (तीनपाटन अब गाउँपालिकाको नाम भएको छ।) यस फाँटलाई चिरेर पूर्वबाट पश्चिमतर्फ बग्छ- चदाहा खोला। 

बुढापाका सम्झिन्छन्- २०२३ सालमा यस खोलामा आएको बाढीले यस फाँटमा खेतभन्दा धेरै बढी बगर बनाइदियो।’ कालान्तरमा काँस फुल्ने चदाहा खोलाका बगर पनि खेतमा परिणत हुँदैआए र पछिल्लो समय त यी बगर उर्बर खेतका रूपमा देखिए। काँसका बुटा मासेर जसोतसो खेत बनाएकाले यहाँका बासिन्दा बगरका यी खेतलाई ‘कँसेरी’ भन्ने गर्दछन्। 

मैले गोरु जोत्ने रउस बाबाटै प्राप्त गरेको हुँ। मैले थाहा पाएकै मितिदेखि बा हलो जोत्नु हुन्थ्यो। बर्खामा हरूवाले मिलाइसकेको मेलामा पनि बा, फिनिसिङ गर्नु हुन्थ्यो। धान रोप्ने समयमा बा बिहानदेखि बेलुकासम्म खेतमै हुनुहुन्थ्यो र हलो जोत्ने वा पटाहा लगाउने सन्दर्भलाई पर्खिनु हुन्थ्यो। बाको पुस्तामा हाम्रो गाउँमा ब्राह्मणमा बालाई छाडेर स्वर्गीय तेजकुमार कोइराला हुनुहुन्थ्यो, जसले हलो जोतेको देखियो। सके तेजकुमारले नै सिकाउनु भएको थियो होला बालाई हलो जोत्न। ती दिनमा उहाँहरूका बीचको मित्रता अत्यन्त गाढा थियो। अलिपछि त चदाहा खोलावारिपारिका गाउँमा हलो जोत्ने ब्राह्मण धेरै भए। 

मैले भने एसएलसी दिएको वर्ष हो, मज्जाले हलो जोत्न पाएको। घरमा थिएँ र यस वर्ष दुई हलमध्ये एक हल चाहिँ आफैँले जोतेर बर्खाको धान खेती उतार्ने धुनमा थिएँ। घरमा दुई हल गोरु थिए र बा दुइटा हरूवा चाहिन्छ भन्ने पक्षमा हुनुहुन्थ्यो। कहिलेकाँही हलो जोत्नु, तोरी÷मकै छर्दा हलो जोत्नु र धान रोप्ने बेलामा बर्खाभरि हलो जोत्नु समान कुरा थिएनन्। मेरा बाआमा मलाई यही कुरा बुझाउन प्रयत्नरत् हुनुहुन्थ्यो।

हुन पनि बर्खामा हलो जोत्दा हलोमा पल्टाउनै नसकिने किसिमको लुँडी लाग्थ्यो। त्यसमाथि तीनपाटनमा धान खेतको ठूलो क्षेत्रफल बगरबाट खेतमा रूपान्तरित भएको हो। बगर खेतमा काँसका बुटाहरू हुन्थे। ती बुटालाई उधिन्न अनुभवी हरूवालाई पनि कठिन हुन्थ्यो। दिनहुँ जोत्ने मेलो हुने भएकाले तोरी वा मकै छर्दा जस्तो रहरको विषय मात्र हुन सक्दैनथ्यो- बर्खामा हलो जोत्ने विषय। थाकिन्थ्यो। रुझ्दै÷भिज्दै जोत्नु पर्ने भएकाले ज्वरो आउने सम्भावना पनि हुन्थ्यो। यसबाहेक बर्खामा दिनहुँ हिलोमा हिड्नु पर्दा खुट्टा हिलाले खान्थ्यो। हिलाले खुट्टा खाएपछि घाउ हुन्थ्यो र रातमा धेरै चिलाउँथ्यो। 

हिलाले खाएका खुट्टाहरूको अचुक औषधिका रूपमा प्रख्यात थियो- अमारो। व्यक्तिगत रूपमा अमाराको पात निचोरेर रस हिलाले खाएको ठाउँमा लगाइन्थ्यो। परिवारका लागि भने अमाराको पात पकाइन्थ्यो र जमेर कालो भएपछि खुट्टामा लगाउने गरिन्थ्यो। यो यति कष्टकर हुन्थ्यो; खुट्टा टट्टाएर बस्नखान सकिँदैनथ्यो। अमारोको विकल्पमा मसी झार निचोरेर रस लगाए पनि हुन्थ्यो र नुनबेसार लगाए पनि हुन्थ्यो। टट्टाउन त फेरि उस्तै हो। यसरी बर्खामा हलो जोत्नु विविध कोणबाट जटिल कार्य थियो। यिनै कारणले गर्दा बा बर्खामा मैले हलो जोत्ने उत्साह नदेखाए हुन्थ्यो भन्ने पक्षमा हुनुहुन्थ्यो। र बालाई मैले एक हल गोरु बर्खाभरि जोत्न सक्छु भन्ने विश्वास पनि थिएन, सायद। बाको विचारप्रति मेरो मौन असहमति थियो। तर जब बा दुइटै हरूवा खोज्न लाग्नु भयो अनि मैले भनेँ- ‘एक हल म जोत्छु।’ आमा पनि त्यतै हुनुहुन्थ्यो, आमाले सोझै अस्वीकार गर्नुभयो र भन्नु भयो- ‘तँ सक्दैनस्।’

मलाई भने म सक्दिनँ भन्ने लाग्दैलाग्थेन। मेरा दौँतरी सबै हलो जोत्छन्, दिनभरिभरि जोत्छन्। म पनि तिनीहरूभन्दा कमजोर देखिन चाहन्नथेँ। 

तर बाआमा चाहनुहुन्थ्यो- बिउ उखल्ने, गाईगोरुलाई घाँसपानी गर्ने, पानीको बन्दोबस्त मिलाउने, मेलामा बाउसे गर्ने जस्ता हल्काफुल्का काम गरोस्; हलो जोत्ने कुरा चैँ नगरोस्। मेरो अवस्था फरक थियो, म दौँतरीहरूका बीचमा मैले पनि बर्खाभरि एक हल गोरु जोतेँ भनेर नाक ठाडो पार्न चाहन्थेँ, आफ्नो बहादुरी स्थापित गर्न चाहन्थेँ। तर मेरो महत्वाकांक्षालाई कुनै मूल्य नदिएर हरूवा दुइटै राखियो- एकजना मथुरे दाइ र अर्को डडुवाको घर्ती दाइ।

औलो नियन्त्रणको सरकारी अभियान प्रारम्भ हुनुअघि तीनपाटनमा मानिसहरू शिखरमा बस्ने गर्दथे र रोपाइँको समयमा बेसीमा झर्ने गर्दथे। कत्लेशिखर, थुम्कीशिखर, नेपालेशिखर, जखनीशिखर आदि औलो नियन्त्रण हुनुअघि यहाँका घनाबस्ती भएका शिखरहरू हुन्। औलो नियन्त्रणपछि भने शिखरबाट बेसीमा झर्‍यो बसोबास। अब चदाहा खोलाको वारिपारि पहाडको काछमा गाउँ नै गाउँ भए। असोजदेखि फागुनसम्म तीनपाटनमा बाक्लो हुस्सु लाग्थ्यो। हुस्सेको समयमा वारिबाट पारि जाने मानिसहरू आफूले ताकेको गाउँमा पुग्दैनथे, कि तल्लो गाउँ कि माथिल्लो गाउँ पुग्थे।

हाम्रो समयमा आइपुग्दा तीनपाटनमा सबैजसो ब्राह्मण युवाहरू हलो जोत्थे, वैष्णवहरू पनि जोत्थे। हुस्सु लाग्ने सिजनमा हरूवालाई आलीमा राखेर हलो जोत्न सिक्थ्यौँ हामी। हाम्रो जस्तो कृषि पेसामा आधारित परिवारमा घाँस काट्ने, खन्ने, आली लगाउने, बिउ उखेल्ने, गाईगोरुलाई घाँसपानी गर्ने आदि कामका विविध आयामहरू हुन्थे। मलाई भने हलो जोत्ने काम सहज र रमाइलो थियो।

मलाई मन पर्ने गोरु थिए- सिन्दुरे र बहादुरे। दाजुभाइ थिए यी। रातु गाईका बाच्छा। घरमै हुर्किएका। दुइटैको स्वभाव एउटै प्रकारको थियो। दुबै छिटा थिए, अगाडिको हललाई भेटेर हिँड्थे। सबैभन्दा अगाडि छन् भने पछाडिको हललाई झिँजो नलाग्ने गरी हिड्थे। दुवैलाई हकारे पुग्थ्यो, कुट्नु हुँदैनथ्यो। कुट्यो भने मेलामा ल्याउन कठिन हुन्थ्यो। म यही हल जोत्न चाहन्थेँ।

चाहन्थेँ मात्र होइन, मैले यो बर्खा अधिकतर दिन यो हल जोतेँ। मथुरे दाइ र घर्ती दाइले पालोपालो आली लगाउनु भयो, पानीको रठ्ठापठ्ठा मिलाउनु भयो, बिउ काढ्नु भयो। कुनै दिन त हामी बाबुछोराले नै हलो जोत्यौँ र दाइहरू अरु काममा लाग्नु भयो। बा जोत्न अग्रसर हुँदा मेरो मन खुम्चिन्थ्यो, किनकि बा मेरै अनौ समात्न आउनु हुन्थ्यो र भन्नु हुन्थ्यो- ‘तँ अगाडि जा।’

हलोका लागि सबैभन्दा राम्रो मानिन्थ्यो- सान्दान जातको काठ। हलोको अघिल्लो भागलाई खोपेर फालीघर बनाइन्थ्यो र फालीघरमा फलामको अंग्रेजी अक्षर ‘यू’ आकारको करुवाको सहयोगमा फलामको फालीलाई अड्याइन्थ्यो। हरूवा पर्याप्त सजग रहेन भने वा कुनै पनि तरहबाट हलो रड्कियो भने फालीले गोरुको खुर छेड्थ्यो। यसरी छेडिनुलाई ‘फाली लाग्नु’ भनिन्थ्यो। गोरुलाई घुमाउनुलाई ‘भर्रा’ र गोरुलाई मेलामा ल्याउनका लागि ‘पछ् पछ्’ भन्ने गरिन्थ्यो। जोत्दा सियो खप्टिन चुक्यो भने ‘राँटा बस्यो’ भन्न गरिन्थ्यो।

हाम्रो परिवारमा एकदमै भिजेका हरूवा थिए- लाखे दाइ।  लोखे दाइजस्तै मथुरे दाइ र बुढाथोकी मामा हाम्रो परिवारका यस्ता सहयोगी हुनुहुन्थ्यो, जो हाम्रो बर्खे खेतीको रठ्ठापठ्ठा आफै मिलाउनु हुन्थ्यो।
 
म जुन कालखण्ड र परिवेशमा हुर्किएँ, त्यसको उपलब्धिको एउटा आयाम हलो जोत्न पाउनु हो। मेरा सबै भाइहरूले हलो जोतेका छन्। गोकर्णलाई जोत्न भन्दा खन्न मन पथ्र्यो। नारायणले उति धेरै जोत्न पाएन होला। ध्रुव, सानु, श्यामराज र उत्तमले मैले भन्दा अझ जिम्मेवारीका साथ हलो जोतेका छन्। यी चार भाइ त जोत्न मात्र होइन; घाँस काट्न, बिउ काढ्न, आली लगाउन, छेउकुना खन्न आदि सबै प्रकारका काममा फिट!

हलो जोत्नुको मज्जा हामी हाम्रै पछिल्लो पुस्तालाई हस्तान्तरण गर्न नसक्ने भएको छौँ। यसका अनेकौँ कारण छन्। एक त, निर्वाहमुखी कृषि कर्मप्रति नेपाल समाजमा चरम वितृष्णा देखिएको छ। दोस्रो, कृषिकर्मले व्यावसायिकताको स्वरूप ग्रहण गर्दैछ। तेस्रो, उन्नत प्रविधिको बढ्दो प्रयोगले हामीले प्रयोग गरेका हलो, हरिस, फाली, अनौ, जुवा, सोइला, जोतारो, नारा, ठेडी आदि संग्रहालयको निकट पुगेका छन्। चौथो, शारीरिक श्रमलाई दुःखका रूपमा परिभाषित गर्ने प्रवृत्ति अझ घनिभूत हुँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .