नुवाकोटकी माइली राईलाई भरपेट खान गाउँमै पुगेको भए यो सहरमा आउँदिन थिइन् होला। गाउँमा हलो जोत्दाजोत्दै उनका श्रीमान् ढलेका भए घाट पुर्याउन चार वटा काँधको अभाव हुने थिएन होला। त्यसो हुन सकेन। जीवन धान्नकै लागि सहर पसेका माइलीका श्रीमान् यहीँ रिक्साको पाइडल घुमाउँदा घुमाउँदै अस्ताए।
उनले कतिलाई रिक्सामा सहर डुलाए होलान्, कतिका भारी गन्तव्यमा पुर्याए होलान्। तर, उनी मर्दा कसैले देखेनन्। उनको मरण थाहा पाएनन्।
अहो! कस्तो अत्यासलाग्दो यथार्थ। श्रीमान् गुमाउनु। आफ्नै श्रीमानको मृत्युको पनि शोक मनाउन नपाउनु। अझ त्यो भन्दा कहालीलाग्दो कुरा, लासले जल्ने घाटसम्म नपाउनु। कि दुख्दैन हँ गरिबको मन? पीडा हुँदैन उनीहरूलाई आफन्त गुमाउँदा? माइली राईलाई पनि त मन थियो होला, श्रीमानको लासमा अँगालो हालेर रुन। खै त उनले आफ्नाका वियोगमा रुन पाएको?
लास लिन आँगनमा आएको शववाहन ‘तँसँग पैसा रहेनछ’ भनेर रित्तै फर्कियो। शववहानले उडाएको धुलो हेरिरहँदा उनले के सोचिन् होला? उनको मन कति पटक भत्कियो होला? कुन हिम्मत र बलले लोग्नेको लास रिक्सामा हालिन होला? त्यसपछि माइली दिदीले आफूलाई घिसारिन् कि रिक्सा? समाचार पढेरै मुटु कम्पन भैरह्यो।
पैसा नहुनु भनेको त यो सहरमा आफन्त पनि नहुनु रहेछ। गाउँमा भए माइली दिदी जति गरिब भए पनि एक्लै जानु पर्दैनथ्यो घाटमा। लास जलाउने आगो र चिताका लागि हात फैलाउनु पर्दैनथ्यो, भौँतारिनु पर्दैनथ्यो।
हामी धेरैको मनमा यतिबेला घुमिरहेको छ, श्रीमानको दाहसंस्कारपछि खाने केही नभएर छट्पटिएकी माइली राईको आकृति। तर, के हामीले कल्पना गरेका छौँ, शवदाह गृहअगाडि घण्टौँसम्म एक्लै बसेर मेरो श्रीमानको लास जलाउन पाऊँ भन्दा कति पटक जल्यो होला उनको हृदय! उनले कति पटक धिक्कारिन् होला आफ्नो जीवनलाई। घण्टौँसम्म के–के सोचेर हेरिबसिन् होला श्रीमानको निर्जीव शरीरलाई? उनीभित्रको यो छटपटी शवदाह गृहका मानिसका आँखाले देख्नु पर्ने हो। तर, देखेनन्।
अरु कोही परको मान्छेले देख्यो। बागमती प्रदेशका पूर्वसांसद नरोत्तम वैद्यलाई फोन गरिदियो। उनले मानवता उनले देखाए। शव जलाउन लाग्ने शुल्क तिरिदिए। माइलीका श्रीमानको शव खरानी भयो।
तर, श्रीमान हुँदा आश्रय दिएको कोठाले उनलाई आश्रय दिन सकेन। पैसा तिरेर बसेको डेरा उनको भएन। घरबेटीले कोठामा कोरा बार्न दिएनन्। उदास आँखा बोकेर घाट फर्किएकी माइलीले यसपटक आफैँले फोन गरिन् नरोत्तम वैद्यलाई। वैद्य आए, पशुपति आर्यघाट नजिकैको किरियापुत्री भवनको १०७ नम्बर कोठामा बसेर श्रीमानको काजकिरिया गर्ने प्रबन्ध मिलाइदिए। धन्न यो सहरमा नरोत्तम वैद्यहरू छन् र माइली राईहरूले शोक मनाउने ठाउँ भेट्टाए।
यता, माइली राईको अभावको कथा सामाजिक सञ्जालमा चर्चाको विषय बन्न थाल्दै थियो। त्यही रात उता यही महानगरका मेयर बालेन्द्र शाह सरकारी गाडी लिएर नाइटक्लब पुगे। नाचे, रमाए। सरकारी गाडी दुरुपयोग गरेकोमा उनको आलोचना भयो। बचाउ गर्न समर्थक ओइरिए। उनको तरिका गलत भयो भन्नेलाई आक्रमण गरे।
उनीहरूको तर्क छ, ‘बालेन्द्रको पनि आफ्नो जीवनमा रमाउन पाउने अधिकार छ।’ हरेक मान्छेको व्यक्तिगत जिन्दगी हुन्छ भन्ने कुरासँग म सहमत छु। तर, बालेन्द्र शाह व्यक्ति मात्र होइनन्, सरकार हुन्।
त्यो रात मेयर सा’ब चढ्ने सरकारी गाडी पशुपतिको किरियापुत्री भवनअगाडि पुगेर रोकिएको भए! ‘माइली दिदी! तपाईंका श्रीमानको लास पैसा नभई जलाउँदिनँ भन्ने को हो? तपाईंलाई आफ्नै डेरामा श्रीमानको किरिया बस्न दिन्नँ भनेर पस्न नदिने घरबेटी को हुन्?’ भनेर प्रश्न गरेको भए। सायद यो घटनाको पटाक्षेप अलि फरक हुन्थ्यो कि!
मलाई राम्रोसँग थाहा छ, यहाँ मलाई आउन सक्ने प्रश्न। तपाईंहरूले मलाई सोध्नुहुने छ, ‘तैँले चाहिँ के गरिस्?’ हो, यहाँ मेरो पनि आफ्नो दायित्व थियो। म लगलग मुटु कमाउँदै पशुपति पुगेँ। आफूसँग जति थियो, दिदीको छोराको हातमा राखेर फर्किएँ। मलाई जसरी नै अरु थुप्रैलाई माइली राईको घाउले दुखायो। त्यही भएर ती केही रुपैयाँ र केही खाद्यान्न बोकेर उनी बसेको किरियापुत्री भवनमा पुगिरहेको छ। व्यक्तिले गर्ने यति नै त हो।
माइली राईको पीडाले व्यक्ति दुखेर केही हुँदैन। सत्ता दुख्नुपर्छ। शासक दुख्नु पर्छ। चुनावताका ‘गरिबको चमेली बोल्दिने कोही छैन’ गाएर गरिबको ध्यान खिच्ने बालेन्द्र शाहहरूको मन दुख्नु जरुरी छ। सुशासन र समृद्धिको गफ दिएर गठबन्धन फेरीफेरी मुख्यमन्त्री र प्रधानमन्त्रीको कुर्सीमा ‘म्युजिकल चेयर’ खेल्ने शासकहरूको मन दुख्नुपर्छ। कम्तीमा शासकको मन दुख्यो भने माइली राईजस्तै अर्को गरिबले उसैगरी घाटका लागि रुनु पर्दैन। माइली राईकै कथालाई आधार मानेर यो देशको शासन सत्ताले बनाए हुँदो हो एउटा नियम।
सुन्दर महानगरको कल्पना गरिरहेका बालेन्द्रको सहर यति कुरुप छ, जहाँ मान्छेले मरेर लास बन्नुअघि घाटका लागि पैसा जम्मा गर्नु पर्छ। अन्यथा जल्दैन उनीहरूको लास। मर्नुअघि मान्छेले खोज्नु पर्छ आफ्नै काजकिरिया गर्ने ठाउँ, नत्र गलहत्याएर निकालिदिन्छन् घरबेटीले। अनि यो देशका शासक नाइटक्लबहरूमा नचिरहन्छन् बेहोसी नाच!
Shares
प्रतिक्रिया