ब्लग


बन्द गरिदेऊ जेरी आँसुको दोकान

बन्द गरिदेऊ जेरी आँसुको दोकान

राधिका अधिकारी
कात्तिक ३० , काठमाडौँ

यो साता नेपाली मिडियाको ठूलो हिस्सा जेरी–शंकरले ओगटे। नेपाली दोहोरी गायनमा आफूलाई सफल बनाएका जेरी–शंकरले आफ्नो वैवाहिक जीवन भने सफल बनाउन सकेनन्। गत साता मात्रै उनीहरुले काठमाडौं जिल्ला अदालतमा आफ्नो दुई वर्षे सहयात्रामा पूर्णविराम लगाए। 

‘सेलेब्रिटी’का हिसाबले उनीहरुको पारपाचुकेको खबरले स्थान पाउनु ठूलो कुरा भएन। तर ‘डिभोर्स’पछिको जेरीको आँसु भने असामान्य लागिरहेको छ। उनले युट्युब च्यानलमा राम्रै स्थान बनाइन्। उनी कतै दिल खोलेर रोइन्। कतै छोडेका श्रीमानका बारेमा अनेकन कुरा बोलिरहिन्। तर भन्न छोडिनन्, ‘म उनलाई अहिले पनि प्रेम गर्छु।’ उनको यो आँसुको कथाले अहिले राम्रो ‘भ्युअर्स’ मात्रै पाएका छैनन् राम्रै सहानुभूति पनि पाइरहेका छन्। उनका कथाव्यथा यु–ट्युब ट्रेन्डिङमा देखिने क्रममा छन्। 

हुन त हाम्रो समाज जतिबेला जे बिक्छ, त्यतिबेला त्यही बेच्छ। बाबुको मृत्युपछि कोरा बारेर बसेको छोराका अगाडि बुम तेर्स्याउन हाम्रो संवेदनाले छेक्दैन। कोराबाटै ‘मेरा बा यस्ता थिए’ भनेर छोरालाई चर्चा कमाउनु छ। चिताअघिका सेल्फी हुन् अथवा कोराभित्रबाटै बनाएका टिकटकले हाम्रो संवेदनाको धरातल देखाएकै छ। 

कहिले ग्ल्यामरका नाममा बेच्यो ज्योति मगरहरुका अर्धनग्न शरीर। एकताका बेच्यो अर्चना पनेरुहरुका सपना, कुसुमहरूका सुन्दरता र यौवन, मूकदर्शक बनिदियो समय। त्यही समयले किनार लगायो उनीहरुलाई। अहिले कसैको खोजीमा पर्दैनन्, आफ्ना सपनाका लागि कहाँ कसरी संघर्ष गरिरहेछन् उनीहरु। शारदा भुसालहरूलाई कुण्ठाग्रस्त र चरित्रहीनको बिल्ला भिराएको हो। एकताका बेचेकै हो मीना ढकालको हाँसो र आँसुको कथा। अहिले मीना एक्लै सन्तान भेट्न नपाएको पीडा पोखिरहेकी हुन्छिन्। समाजले उनलाई लगभग भिराउन भ्याइसक्यो पागलको पगरी। हिजो मीनाकै अघिपछि हिँड्ने ठूलो जमात देखिँदैन उनीसँग। सहानुभूतिका नाममा सामाजिक सञ्जालमा आउने एकाध टिप्पणीबाहेक कोको छन्, मीनाको साथमा?

तैपनि कहिल्यै खुल्दैनन्, हाम्रा आँखा। छ्याप्छ्याप्ती पारिरहेछौँ जेरीका आँसु र विलाप अनि धज्जी उडाइरहेछौँ– कसैको जीवन, विवशता र इज्जतको। के तपाईंलाई लाग्दैन्, कतै सोझा शुभचिन्तकको इमोसनल ब्ल्याकमेलिङ पो भयो कि? केही दिनदेखि सामाजिक सञ्जालमा झरेका उनका आँसु हेरेर म आफैंसँग प्रश्न गरिरहेछु किन यति कमजोर बनाइन्छ छोरीहरुलाई?

उनले दिएका अन्र्तवार्ता, उनलाई अन्र्तवार्ताकारले सोधेका प्रश्न, त्यसपछि क्रमशः उनले गाएका गीत र सामाजिक सञ्जालमा आएका प्रतिक्रिया सबै हेरिरहेछु। डाँको छोडेर रुँदै गाएका गीत सुनेँ, गीतको भावसँग एकैछिन घुल्ने प्रयत्न गरे। कम्तीमा मैले व्यक्तिगत रुपमा यो आँसुमा प्रेम, समर्पण, त्याग र संवेदनाभन्दा धेरै प्रतिशोध र व्यापार देखिरहेछु। मलाई थाहा छ मैले यति लेख्दा खानु पर्ने गालीको आयतन। तर जेरीका आँसुले एउटा लोग्नेबिना छोरीहरु अपुरा छन्, अधुरा छन्, बाँच्नै सक्दैनन् भन्ने भाष्य जबर्जस्त स्थापित गर्न खोजेको होइन? किन छोरीहरु आफैँ बिचरा भएर बाँच्न चाहन्छन्? यो आँसुमा मानिसले दिने सहानुभूतिको आयु कति होला? कहिलेसम्म छोरीको जिन्दगीलाई फुटेको फूल र भाँडोसँग तुलना गरे च्यूँ... च्यूँ गरिरहने र कठैबराको पासोमा बेरिएर निस्सासिरहनु पर्ने हो? 

जेरीले अन्र्तवार्तामा भनिन्, ‘बिहेको ४५ दिनबाट घरेलु हिंसा सुरु भयो। टाउको फुट्ने गरी पिट्यो, वचन लायो, लेबल खोज्यो, अर्कैसँग सुत्यो।’ अनि गीतमा उनी बिलौना गरिरहेकी छिन्, ‘ऊ मेरो संसार थियो, मेरो भर छैन म मर्छु होला।’ यसै महिलालाई कमजोर ठान्ने हाम्रो समाज केही थोपा आँसु झारिदिएर अझैं कमजोर बन्न उत्साहित गरिरहेछ। 

कहिलेकाहीँ तिमीलाई स्वाभिमानका पाठ घोकाउने शिक्षक, आफ्नै खुट्टामा हिँडेको हेर्ने सपना बोकेर पढाउने बा–आमाको पनि ख्याल गर्नु र कोहीबिना म मर्छु, म अधुरो छु भनेर दुनियाँलाई नसुनाउनू।

मान्छेलाई मान्छे भएर बाँच्न दिनकै लागि पारपाचुकेको अवधारणा आएको हो। स्तरहीन भन्ने एउटा केटासँग अघिपछि भएर आत्मस्वाभिमान गुमाएर बाँच्नु्भन्दा आफ्नै रफ्तारमा दौडनु कति सुन्दर छ, त्यो पक्कै थाहै नभएको होइन होला। जिन्दगीमा मानिसहरु मन पर्छन्, फेरि तिनै मानिस मन पर्दैनन्। कहिलेकाहीँ सबै कुरा मिलेजस्तो लाग्छ, कहिले केही मिल्दै मिल्दैनन्। कहिले सँगै हिँड्न मन लाग्छ, कहिले सँगै हिडिरहेको मान्छेलाई छोडेर एक्लै कतै हराउन मन लाग्छ। 

कुनै बिन्दुमा एक–अर्काका सबैसबै चाहना मिलेका जस्तै लाग्छन्, फेरि केही रुचि मिल्दै नमिलेको जस्तो पनि हुन्छ। फरक परिवेश, फरक पारिवारिक पृष्ठभूमि, फरक शैक्षिक गुण्स्तरका स्कुल, फरक परिवेशको हुर्काइ आएकाहरुबीच कहिलेकाहीँ भावना मिलेको जस्तो लाग्ने मात्रै हो। सम्बन्ध भन्नु पनि धेरै सम्झौता र थोरै भावना हो। यो सम्झौतामा पनि कसैसँग धेरै मुद्दा मिल्छन् त कसैसँग कम्ती। मुद्दा नमिलेपछि स–सम्मान बाटो अलग गरेर हिँड्ने हो, त्यसैले सम्बन्दबिच्छेद जस्तो सुन्दर कानुनी अवधारणा अघि सारिएको छ। नत्र श्रीमान् मर्दा श्रीमतीले जिउँदै चितामा जल्नुपर्ने बाध्यकारी नियम पनि त थियो देशमा कुनैदिन। जेरीका आँसुमा म त्यही लोग्ने जलेकै आगोमा जल्न चाहने सतिलाई देखिरहेछु। अन्यथा भर नभएको जीवनमा सम्बन्धको भरपाइ भएन भनेर रुनुको के अर्थ?

बाँचुञ्जेलसम्मको लागि न हो साथ पनि
अँगालोमा मरेको मान्छेले पनि एक्लै जल्नु पर्छ
झगडा गरी गरी उसकै हुनु किन पर्यो
प्रिया गन्तव्य छैन भने बाटो बदल्नु पर्छ।

प्रदीप रोदनले यी गजलका शेरमा जीवनको यही यथार्थ लेखेका छन्। 

महिला अधिकारका लागि विभिन्न मोर्चामा होमिएकाहरुले लोग्ने छाडेकै कारण ‘मर्छु होला म’ भनेर तिमीले गाएका गीत सुने भने कति पीडाबोध गर्दा हुन्। 

जेरीको आँसु हेरेर मलाई लागिरहेको छ हामी छोरीहरु अझै पनि पारपाचुकेका लागि मनोवैज्ञानिक रूपमा तयार भइसकेका रहेनछौं। उनका आँसुले पारिवारिक हिंसाभन्दा कयौं गुणा ठूलो चोट सम्बन्धविच्छेद हो भनिरहेको छ। 

प्रेम गरेर जोडेको घरसंसार उजाडिँदा दुख्नु हुँदैनथ्यो, दुख्दैदुख्दैन भन्न खोजेको पनि होइन। बाटोमा हिँड्दा कुम ठोक्किएको मानिसलाई त वर्षौ सम्झन्छौँ हामी, कयौं वर्ष प्रेम गरेर विवाह गरेको लोग्नेसँगको बिछोडले आँसु नआउने होइन। तर, कम्तीमा आँसु पनि त्यति सस्ता नबुनन्। झर्ने ठाउँ इज्जतिलो होस्, आँसुको अर्थ होस् भन्ने मात्रै हो। आज डाँको छोडेर रोएको आँसु भोलि आफ्नै लागि लाज र कमजोरीको विषय नबनोस् भन्ने लागेको हो। एक्लो जीवन बाँच्न गाह्रो छ, मान्दछु। तर, एउटै छानामुनि पुरुषको दास भएर बाँच्न त्यो भन्दा कयौं गुणा गाह्रो थियो, प्रेम, विवाह र पारपाचुकेसम्मको यात्राले पक्कै सिकायो होला! 

मलाई थाहा छ यहाँ पनि तपाईं कति ‘तँलाई परेको भए थाहा पाउँथिस्’ भनेर औँला उठाउन आउनु हुनेछ। म जीवन, सम्बन्ध, आफन्त, बेलाबेला बदलिरहने आफन्तको अनुहार सबैसबैसँग राम्रोसँग जानकार छु। म पनि सम्बन्धले दिएको चोटको दुखाइ खप्न नसकेर डाँको छोडेर रोएको छु, तर आफ्नाहरुको काँधमा। म पनि छुटेर जानेहरुसँग आफ्नो संसारै गयो भन्ने महसुस गरेर निस्सासिएकै हुँ तर आफैंभित्र। सम्बन्धभन्दा माथि जिन्दगी भनेर एक्लै हिँड्न लागेको दशक काट्न लाग्यो। साथमा जो–जो भए पनि बाँच्नु, लड्नु एक्लै पर्छ समयले नै सिकाएकै हो। मलाई थाहा छ मेरो समाजमा आज पनि एउटी महिलाले एकल भएर बाँच्न कतिपटक मर्नु पर्छ भन्ने कुरा। त्यसैले त जेरीहरु जत्तिका योग्य र आर्थिक रुपमा सक्षम मान्छेले सम्बन्ध, लोग्ने र घरको मूल्यभन्दा सस्तो हो एउटी छोरीको जिन्दगीको मूल्य भन्नेर स्थापित भएको मान्यता भत्काउनु पर्छ। 

कानुनीरूपमा पारपाचुके गरेर छोडेको लोग्नेका विरुद्ध अनेक बोलेर जनमानसमा आक्रोश खडा गर्नु पनि जरुरी छैन। मेरा आँसुले सराप्छ भन्दै रुनु पनि जरुरी छैन। सराप्छ भने देखाएका भन्दा कयौं गुणा शक्तिशाली हुन्छन् लुकाएका आँसु। सरापेर भन्दा चुपचाप बसेर आफ्नो मूल्य बताउन सकिन्छ छुटेकाहरुलाई।

उनको पछिल्लो गतिविधि हेरेर मणि भट्टराईले फेसबुकमा लेखे, ‘आफू हुँदाहुँदै अर्कोसँग बिस्तारा साझेदारी गर्न सक्ने लोग्नेप्रति यतिबिघ्न माया पलाउँछ कि घृणा? सक्षम भइसक्दा पनि परनिर्भरता दिमागबाट हटाउन नसक्नु, कुनै अर्को अडेसको अपेक्षा गरेर रुनु कराउनु आफ्नै उपेक्षा गर्नुबाहेक केही होइन।’

तिम्रा आँसुमा आँसुकै भाका हालेर पुरुष मुर्दावाद भन्नेहरुले आफू महिलावादी हुनुको धर्म निभाउनुभन्दा अर्को केही गरेका छैनन्। 

नारी कमजोर छैनन्, पुरुषजत्तिकै बलवान छन्। नारी भावुक मात्रै छैनन्, उनीहरु ठाउँ हेरेर कठोर पनि बन्न सक्छन्। यतिबेला आँसु र रोनाधोना छाडेर हिम्मत, आँट र सपनाका कुरा गरेको भए कति सुन्दर देखिन्थ्यो होला। अरे यार अब त बन्द गर तिम्रा आँसुका दोकान। महिलाका आँसु, कुण्ठा र पीडा मात्रै होइन हिम्मत, आँट र सपना पनि बिक्छन् भन्ने मान्यतालाई स्थापित गरिदेऊ। तिमीभन्दा पछि डिभोर्स पेपरमा सिग्नेचर गर्ने छोरीहरुले पश्चातापको आँसु होइन उन्मुक्तिको एक सुस्केरा फाल्न सकून्। र, श्रीमानलाई भन्न सकून् आजबाट तिमी मेरो साथी भयौ। नारीका आँसु, पीडा, वेदना, कुण्ठा र जवानीको व्यापार गरेर कहिल्यै नअघाउने यो समाजका लागि अब पनि केवल वस्तु बनेर बिक्री भैरहने या मान्छे भएर हिम्मतको कथा लेख्ने? त्यो तिम्रै रोजाइको कुरा हो।  
 

कात्तिक २८, २०७९, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad