ब्लग


नागढुंगा पुगेपछि जब कन्डक्टर चिच्याए– मास्क लगाऔं है मास्क ...

नागढुंगा पुगेपछि जब कन्डक्टर चिच्याए– मास्क लगाऔं है मास्क ...

रूपबहादुर विश्वकर्मा
साउन २२ , काठमाडौँ

कोरोना महामारी सुरु भएयता काठमाडौं उपत्यका बाहिर गएको थिइनँ। किनकि सरकारले स्वास्थ्य सुरक्षा मापदण्डको जतिसुकै बखान गरे पनि उपत्यकाभित्रै चल्ने सार्वजनिक सवारीसाधनमा भोगेको भद्रगोलबाट म तर्सिएको थिएँ। त्यही हविगतमा १०/१२ घण्टाको यात्रा गरियो भने भाइरस सर्ने पक्का छ भनेर लामो दूरीको यात्रालाई सकेसम्म पन्छाइरहेको थिएँ।  

तर ज्यादै जरुरी घरायसी काम परेकाले म यही साउन १८ गते गृहजिल्ला (सर्लाही) जानैपर्ने भयो। त्यस दिन नाइट बस चढ्नुअघि मनमा व्यापक चिन्ता थियो– उपत्यकाभित्रका लोकल बसमा केही बेर यात्रा गर्दा त कस्तो उकुसमुकुस महसुस हुन्छ, झन् रातभर यात्रा गर्नुपर्दा अवस्था कस्तो होला! तर के गर्नु! सरकारले जस्तो र जतिसम्म व्यवस्था गरेको छ, हामी अकिञ्चन नागरिकले भोग्नुको विकल्पै के हुन्छ र! मरिन्छ भन्ने थाहा भए पनि हाम फाल्नैपर्ने हुन्छ। मजदुरीका लागि ‘मजबुर’ नागरिक भारत जान त्यसै लाइन लागेका होइनन्!

कोरोना सर्ने जोखिम एकदमै छ भन्ने जान्दाजान्दै लामो दूरीको बस चढ्नैपर्ने बाध्यता भयो। तैपनि सकेसम्म ज्यान जोगाउने उपाय त गर्नैपर्यो। त्यही भएर टिकट बुक गर्ने बेला नै भनें– मलाई झ्याल छेउको सिट अनिवार्य। किनकि विज्ञहरूका अनुसार चारैतिर बन्द ठाउँभन्दा ताजा हावा ओहोरदोहोर गर्ने स्थानमा कोरोना सर्ने जोखिम कम हुन्छ।

झ्याल छेउमा बस्न पाउने पक्का भएपछि मौखिक रूपमा टिकट बुकिङ गरेँ र गत सोमबार साँझ ६ बजे आफूलाई पायक पर्ने स्थान काठमाडौँको गुर्जुधारा चोक पुगेँ। हाम्रो जिल्ला सदरमुकाम मलंगवा जाने ‘बनेपा डिलक्स’ आइपुग्यो। खुसीको कुरा– गाडी त खाली रहेछ! अर्थात् त्यति ठूलो बसमा मसमेत मुस्किलले १२ यात्रु थियौं होला। एक/दुई लहर फरक पारेर एउटा सिटमा एक जना मात्रै बस्दा पनि पुग्ने! यात्रा सोचेभन्दा निकै सुरक्षित हुनेमा ढुक्क भएँ।

तर अचम्म– चालकदेखि यात्रुसम्म, लगभग सबैजसोका मुखमा मास्क भने रहेनछन्! मुस्किलले दुई/तीन जनाले मास्क लगाएका थिए, त्याे पनि नाकमुनि, चिउँडोमुनि, हातमा! गाडी खाली र झ्याल खोलेर टाढाटाढा बस्न पाइएकाले खासै चिन्ता भएन। सोचेँ– कोरोनाकालमा धेरै जनाले लामो दूरीका गाडी नचढ्ने रहेछन्, ठीकै हुनेरहेछ। बीच बाटामा पनि यात्रु थपिएनन्। 

ताज्जुब त तब लाग्यो, जब सदरमुकाम (मलंगवा) ओर्लिएँ। वास्तवमा म कोरोना महामारी सुरु भएयता पहिलोपटक  जिल्लाको सदरमुकाममा पाइला टेक्दै थिएँ। सदरमुकामको शैली त कोरोना देखापर्नुभन्दा पहिलेकै जस्तो पो रहेछ! मानौं, मलंगवालाई कोरोना महामारीबारे केही थाहै छैन! अर्थात् विश्वभरमा मलंगवा मात्र त्यस्तो स्थान हो, जहाँ अहिलेसम्म कोरोना पुगेकै छैन!

वास्तवमा मलंगवा त्यस्तो सदरमुकाम हो, जुन हालै विश्वमै सबैभन्दा बढी कोरोना फैलिएको छिमेकी मुलुक भारतसँग सीमा जोडिएको छ, प्रत्यक्ष सम्पर्क हुन्छ, दैनिक ओहोरदोहोर हुन्छ। उताका मानिस यताका बजारमा आउँछन्, यताका मानिस उताका बजार जान्छन्। 

मलंगवामा मास्क लगाएको मानिस देख्न मुस्किल पर्‍याे मलाई। अपवादबाहेक मलंगवा मास्कविहीन! पसलमा भीडभाड छ, तर कसैका मुखमा मास्क छैनन्। बसका टिकट काउन्टरमा हुलमुल छ, तर मास्क लगाउने कोही छैनन्! बाटामा हुल बाँधेर हिँडेका मधेसी मूलका महिला मास्कविहीन मुखले जोडजोडले गफिइरहेका छन्।

 

पान, खैनी खाएर यत्रतत्र थुक्नेहरू पनि उत्तिकै छन्। 

उफ! उखरमाउलो गर्मीले भन्दा मलंगवाका मानिसकाे तरिका देखेर मेरो टाउको टनटन गर्‍याे।  

त्यहाँको चहलपहल र फुक्काफाल दृश्य हेर्दा कोरोनाको त कसैलाई रत्तिभर पनि डर नभएको देखिन्थ्यो। मानौं, मलंगवाका मानिसलाई कोरोना भन्ने चिज छ भन्ने नै थाहा छैन! 

अचम्म लागेर त्यहाँका दृश्य मोबाइलको क्यामेरामा कैद गर्न थालेँ। केहीले पत्रकार हो कि भन्ने अनुमान गरेछन्। एक जना भाइले पसलमै बोलाएर सोधे– किन खिचेको, पत्रिकाका लागि हो? मैले होइन भन्ने उत्तर दिनु उपयुक्त सम्झिएँ। उसो त मैले सञ्चारमाध्यमकै लागि भनेर खिचेको पनि थिइनँ। किनकि म आफ्नै निजी कामको चिन्तामा रहेकाले त्यस्तो मुड पनि थिएन। तैपनि मैले जिज्ञासा राखेँ– किन भाइ, यहाँका मानिसले मास्कै नलगाएका, नगरपालिका, प्रहरी कसैले केही कारबाही गर्दैन? ती भाइको उत्तर थियो– यहाँ त यस्तै हो, कसैलाई कुनै मतलबै छैन!​

कम्तीमा काठमाडौंमा धुलो धुवाँका कारण कोरोना देखापर्नु अघिदेखि नै मास्क संस्कृति छ। भलै, यो कोरोनाकालमा जसरी र जुन रूपमा सबैले मास्क लगाउनुपर्ने हो, त्यस्तो हुन नसकेको किन नहोस्। तर काठमाडौंमा भन्दा कम धुलो नउड्ने भए पनि मलंगवामा पहिलेदेखि मास्कको चलनै थिएन। तर झन्डै २ वर्षदेखि कोरोना महामारीले देशभर यत्रो हंगामा मच्चाइरहेका बेला त पक्कै पनि मास्क लगाउने चलन बस्यो होला भन्ने लागेको थियो।

तर मलंगवा त ६ वर्षअघिको जस्तै रहेछ (म मलंगवा नगएको झन्डै ६ वर्ष पुगेछ)।

अहिले मास्क नलगाएका मानिस देखियो भने दुम्सी देखेजस्तो डर लाग्छ- कति बेला तीखा काँडा छातीमा रोपिनेगरी छाड्ने हुन् भनेर। मलंगवाको भीडमा मिसिँदा मलाई त्यस्तै अनुभूति भयो। म त बरु उमेरकै छु, खासै रोगी पनि छैन। शरीरको प्रतिरक्षा प्रणाली बलियै होला भन्ने विश्वास छ। भाइरसले हतपती आक्रमण नगर्ला; गरिहाले पनि परास्त गर्न सकुँला। तर ७० वर्ष पुग्नुभएकी, कमजोर स्वास्थ्य अवस्थाकी मेरी आमा पनि सँगै हुनुहुन्थ्यो। विशेषगरी उहाँलाई कसरी बचाउने भन्ने चिन्ताले सताइरह्यो। उसो त मेरी आमाजस्तै अवस्थाका अन्य थुप्रै आमा–बुबाहरू पनि थिए त्यहाँ, जो भीडमा निर्धक्कसँग खाली मुखले हिँडिरहेका/बसिरहेका/गफ गरिरहेका छन्! रूखमुनिका चौतारोमा पल्टिरहेका छन्।  

आधा दसकभन्दा बढी समयपछि आफ्नो जिल्ला सदरमुकाम पुगेको मलाई कहिले त्यहाँबाट भागौंजस्तो भयो!

फेरि नाइट बसमै फर्किने निधो गरेँ। 

सोचेको थिएँ– आउँदा जस्तै फर्किंदा (काठमाडौं) पनि मास्क नलगाएकै यात्रु भए पनि खाली गाडी पाइनेछ र सुरक्षितै किमिसमले यात्रा गरिनेछ। त्यही भएर शिव गंगा रात्रि सेवाको काउन्टरमा गएँ र सिटबारे बुझें। काउन्टरवाला दाइ पनि बिनामास्क गजधम्म बसिरहेका थिए, पान चपाउँदै, पिच्च पिच्च थुक्दै!

काठमाडौंबाट आउँदा ८ सय रुपैयाँ तिरेको मलाई १२ सय रुपैयाँ लाग्छ भनेपछि अचम्म लाग्यो– यत्रो फरक! काउन्टरवाला दाइले रेटै यही हो, नयाँ गाडी हो, एसीको सुविधा छ भनेर पुष्टि गर्न थाले। आफूलाई त्यही रात जसरी पनि फर्कनु थियो। पहिलेजस्तै झ्यालको सिट मिलाउने सर्तमा बल्लबल्ल हजार रुपैयाँमा सहमति भयो। टिकट काट्दा भर्खर दिउँसोको २ बजेको थियो। गाडी साँझ ५ बजे छुट्ने भनिएको थियो। त्यही भएर ५ सय रुपैयाँ मात्र एडभान्स दिएर टिकट लिएँ। आमा–छोरा कोरोना भाइरसबाट बच्न एकान्त र गर्मी छल्न शीतल ठाउँको खोजीमा लाग्यौं। तर त्यस्तो स्थान कतै भेटिएन। जता गएर बसे पनि अगाडि आएर पान खाएर पिच्च थुकिदिने, चुरोट तानेर ब्वाङब्वाङ धुवाँ उडाइदिने!

साँझ ६ बजेपछि शिव गंगा गाडी (बस) आइपुग्यो। ५ सय रुपैयाँ तिर्न बाँकी नै रहेको टिकट लिएर बसभित्र छिरेँ। उता (काठमाडौं) बाट आउँदा भन्दा स्थिति एकदमै फरक रहेछ! यात्रु टनाटन! त्यही भएर मलाई बी-१२ नम्बरको सिट दिएका रहेछन्। गाडीमा छिर्नासाथ मेरो सातो गयो! सिटभरि यात्रु छन्, तर कसैका मुखमा मास्क छैनन्! बाहिर उखरमाउलो गर्मी छ, भित्र गाडीमा चिसो एसी चलिरहेको छ। सबै झ्याल बन्द गरेर मानिस एसीको आनन्द लिइरहेका छन्। तर मलाई एसीले शीतलता होइन, भतभती पोल्न थाल्यो। टिकट काटिसकियो, ५ सय दिइसकियो, काठमाडौं फर्किनै छ; के गर्ने! सिटमा गएर बसेँ। सिसाको झ्याल खोल्न खोजें, निकै टाइट रहेछ। बल्ल बल्ल खोलेँ। 

चिसो एसीले मलाई पोल्नुको कारण छ। त्यो के भने विज्ञहरूले एसी भएको कोठामा झन् कोरोना भाइरस फैलिने जोखिम बढी हुन्छ भनेका छन्। बाहिरको हावा नआउने, त्यही हावा घुमिरहने भएकाले होला। 

ओ हो! रातभर यो स्थितिमा बस्दा कोरोना नसरी रहला! घर (नयाँरोड) मै झर्ने भए पनि आमा पनि सँगै हुनुहुन्थ्यो। आमाको अवस्था पनि के होला! म एकछिन पनि बस्न नसक्ने अवस्थामा पुगेँ र आमालाई भनेँ– आमा! म त यो गाडीमा नजाने! 

‘के भन्छ यो!’ आमा अचम्ममा पर्नुभयो।

मैले कुरा बुझाएँ। अनि राखिसकेको झोला झिकेर आमा–छोरा गाडीबाट बाहिर निस्कियौं।

र, टिकट काट्ने दाइलाई झुटो कथा बुन्दै भनेँ– दाइ! मलाई अचानक फोन आयो, अहिले काठमाडौं फर्किन नपाउने भएँ। पैसा फिर्ता दिनुपर्यो!

मजस्तालाई ‘खाएर’ बसेका दाइ के कम! उनले भने, ‘जाने बेला भइसकेको टिकट फिर्ता गर्न मिल्दैन, उता पैसा चढाइसकेको हुन्छ।’

मैले कर गरेँ, ‘के गर्नु दाइ यस्तै पर्यो, यात्रु जति पनि पाइने रहेछ, जति सकिन्छ कटाएर भए पनि फिर्ता दिनुस् न।’

दाइले सोधे, ‘तपाईं कहिले काठमाडौं जाने त?’

‘ठेगानै भएन दाइ,’ मैले छल्न खाेजेँ। 

दाइले चलाखीपूर्वक भने, ‘तपाईं जहिले आउनुस्, एक महिनापछि किन नहोस्, त्यसबेला यो टिकट देखाउनुस् र ५ सय रुपैयाँ मात्र तिरेर जानुस्।’

अब भने मेरो बोल्ने ठाउँ रहेन।

अन्ततः बरु ५ सय माया मार्ने, त्यस गाडीमा नजाने निर्णय गरेँ र अरू गाडी हेर्न थालेँ। काठमाडौंबाट आउँदा चढेको बस पनि नियालेँ। न हिजो जस्तै यो बसचाहिँ खाली पो छ कि भनेर। किन हुन्थ्यो र! 

काठमाडौंबाट आउँदा मात्रै हो वा त्यो दिन मात्र संयोगले हो खाली भएको रहेछ। यता (मलंगवा) बाट जाँदा त मानिस खाँदाखाद! त्यही स्टेसनमा अर्काे बस हेरेँ, अर्काे हेरेँ, अर्काे हेरेँ, सबैको हालत त्यस्तै। मास्कविहीन मुखहरू उस्तै! अन्यथा अर्थ नलागोस्, सबै यात्रु मधेसी मूलका। 

साँझसम्म पनि चर्काे लाग्ने घाममा बिरामी आमालाई यता र उता हिँडाउनसम्म हिँडाएँ।

अन्ततः आमालाई सुनाएँ, ‘आमा! म मलंगवाबाट काठमाडौंको गाडी नचढ्ने!’

आमा अर्काेपटक अचम्ममा पर्नुभयो, मेरो पारा देखेर। तर मेरी आमा वृद्ध उमेरकै भए पनि नयाँ कुरा स्वीकार गर्ने खालको हुनुहुन्छ। अर्थात्, छोराछोरीका जायज कुरालाई नकार्नुहुन्न।

रात्रिसेवाको स्टेसन छाडेर लोकल बसको स्टेसन आयौं। मेरो विचार– लोकल गाडीमा राजमार्गसम्म निस्किने र पूर्वतिरबाट आउने रात्रि बस छान्ने। सकेसम्म खाली, भरि भए पनि मास्क लगाएका यात्रु होउन्। तर लोकल गाडी छुट्ने समय सकिएछ! बर्बाद! स्थिति त्यही छाडेको बसमै काठमाडौं जानुपर्नेजस्तो देखियो। 

एउटा अटोका चालक भन्दै रहेछन्– नवलपुर, नवलपुर (राजमार्गमा पर्ने स्थान)।

खुसी हुँदै सोधेँ, ‘नवलपुर जाने हो?’

‘सवारी (पुग्दो यात्रु) भयो भने जाने, नत्र त के जानु,’ ती चालकले भने। 

रिजर्भ गरेचाहिँ जान सकिने विकल्प पनि उनले सुनाए। सामान्य भाडा प्रतियात्रु सय रुपैयाँ रहेछ (उनका अनुसार बसमा चाहिँ ९० रुपैयाँ)। अटोको सिट क्षमता ८ जना रे! भनेपछि ८ सय रुपैयाँ तिरे लगिदिने। 

मैले प्रस्ताव राखेँ, ‘५ सय रुपैयाँ दिन्छु, बीचमा यात्रु भेटे चढाउनुहोला।’ 

उनले मानेनन् र भने, ‘६ सय रुपैयाँ दिनुस्, बीचमा मानिस भेटे हाल्छु, नभेटे पनि लान्छु।’

मैले यात्रु नकुर्नेे, पाए हाल्न पाउने सर्तमा ६ सय नै दिने बताएँ। उनले सहमति जनाए र अटो उत्तर हुइँकियो। 

ती चालकले पनि मास्क लगाएका थिएनन्। निश्चित थियो– अरू यात्रु भेटिएका भए तिनका मुख पनि त्यस्तै खाली हुन्थे। तर अटोमा झ्यालढोका केही नहुने भएकाले हावा गुम्सिने अवस्था थिएन। यस्तो अवस्थामा कोरोना सर्ने सम्भावना कम हुने विज्ञको जुन तर्क छ, त्यसले सान्त्वना दिइरहेको थियो। भाग्यवश! बीचमा अन्य यात्रु भेटिएनन्, आमा–छोरा मात्रै ‘कम्फरटेबल’ तरिकाले राजमार्गको यात्रा तय गर्यौं। 

बीचमा अटो चालकलाई सोधेँ, ‘के हो तपाईंहरू त यस्तो कोरोनाकालमा पनि मास्कै लगाउनुहुन्न त!’

‘हामी त यहाँ कोही लगाउँदैनौं! मास्क लगायो भने तातो हावा, कार्बनडाइअक्साइड खानुपर्छ, अक्सिजन, नाइट्रोजन त लिनै पाउँदैन,’ उनी भन्दै थिए।

आफूलाई गाडी नपाइने चिन्ता रहेकाले यस विषयमा थप कुराकानी गर्न सकिनँ। तर मास्कबारे उनको बुझाइ त्यहाँको प्रतिनिधि बुझाइ हाे भन्ने अनुमान गर्न सकिन्छ। 

यस क्रममा उनले अर्काे महत्त्वपूर्ण कुरा पनि सुनाए। मलंगवाबाट काठमाडौं चल्ने रात्रि बसमा यात्रुको भीड हुनाको कारण हो– कामको खोजीमा काठमाडौं जाने भारतीय नागरिकको हुल। अर्थात् मास्कविहीन यात्रुको त्यो भीडमा कोरानाको दोस्रो लहरले आक्रान्त छिमेकी मुलुक भारतका मानिस प्रशस्त छन्। गाडीमा मास्क त नहेर्ने नेपाल सरकारले खुला सीमामा अर्थाेक के जाँच गरेको होला र!

नवलपुरसम्म कोरोनाको जोखिमरहित तरिकाले आमा–छोरा आइपुग्यौँ।

आमाले भन्नुभयो– यहाँ बस्दा पूर्वका गाडी (नाइट बस) मात्र आउँछन्, नयाँरोड जाऔं, त्यहाँ उता बरहथवाबाट पनि आउँछ, धेरैवटा छान्न पाइन्छ।’

कुरा ठीकै लाग्यो। फेरि नयाँरोडसम्म पुग्ने म्याजिक भ्यान हेर्न थाल्यौं। यात्रुको ताल उस्तै अर्थात् खाँदाखाँद, मुखमा छैन मास्क!

छनोट गर्दागर्दा नवलपुरमै धेरै समय बित्यो। तुलनात्मक रूपमा केही ‘कम्फरटेबल’ लाग्ने म्याजिकमा चढ्यौँ। मास्क लगाउने त हामी आमा–छोरा मात्र!

नयाँरोड पुग्यौं। र, रोडमा उभिएर दक्षिण (बरहथवा) र पूर्वबाट आउने रात्रि बस हेर्न थाल्यौं। धेरैवटा बस चढ्दै र ओर्लिंदै गरेँ। तर मैले खोजेको जस्तो बस भेटिनँ। रातको ८ बजिसक्यो। आमा चोकभन्दा केही तल घर फर्कनुछ, एक्लै। के गर्ने के, म अलमलमा परेँ! 

अन्त्यमा, मनमनै एउटा निर्णय गरेँ- मलंगवा बोर्डरसँग जोडिएको र भारतीय नागरिक बढी हुने भएकाले त्यहाँको बसमा नचढ्ने, त्यसबाहेक अन्य स्थानका र झ्यालमा बस्न पाउने बस चढ्ने। 

यसै क्रममा जनकपुरबाट एउटा बस आइपुग्यो। यसो हेरेँ- मलंगवाको जस्तो मास्क शून्य नभएको फाट्टफुट्ट मास्क लगाएका यात्रु भएका र तुलनात्मक रूपमा केही होलोखुकुलो रहेछ। झ्यालको सिट मिलाउने सर्तमा जे पर्लापर्ला भनेर चढेँ र आमालाई बिदा गरेँ। पहिले टिकट काटेर छाडेको बस शिव गंगा थियो, यो हरहर महादेव रहेछ! अर्थात् जति छल्न खोजे पनि उनै शिव भगवान् परे!

झ्यालको सिट त पाइयो तर लास्टको। जे होस्, त्यस लामो सिटमा पल्लो छेउमा मात्र एउटा यात्रु रहेछन्। म वल्लो छेउको झ्यालमा बसेँ, हावा खाँदै। यत्ति भएपछि कोरोना नसर्ला भनेर आफ्नो मनले आफैंलाई सान्त्वना दिँदै। 

तर पल्लो छेउमा खाली मुखमा बसेका मधेसी मूलका ती दाइ त लमतन्न सुते र टाउको म छेउमै ल्याए। अनि फुक्काफाल खोक्ने र हाच्छिउँ गर्न थाले। मुख छोप्नुस् न भनेँ। के टेर्थे।

एन-९५ मास्क लगाएको आफ्नै मुखचाहिँ झ्यालतिर मात्रै फर्काएँ र बसेँ। 

८/१० वटा रात्रिबस हेर्दै छाड्दै गरेको छनोटले केही न केही यात्रा सहज नै महसुस गरायो। सकेसम्म भाइरस नसरोस् भनेर बच्ने कोसिस गरिरहेँ, रातभर। चिसो हावा झ्यालबाट छिराइरहेँ। यस्सो हेर्छु– कोरोनाबाट म जत्तिको डरछेरुवा त बसभरि नै कोही देखिनँ।   

सोचेँ– हामीले त्यत्रा अनलाइनबाट त्यतिविधि कोरोना, कोरोना भनेर दिक्कै लाग्नेगरी खबर लेखेको भए पनि यी मानिसम्म अझै नआइपुगेका हुन् त! सरकारले पनि उत्तिकै प्रचारप्रसार गरिरहकै छ। त्यसकै लागि भनेर लकडाउन/निषेधाज्ञा पनि भइरहकै छ। तर....!

त्यति लामो बाटोमा कहीँ कुनै प्रहरी/निकायले यात्रुले मास्क लगाएका छन् कि छैनन्, हेरेनन्।

सर्लाहीदेखि रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन, धादिङ गरी ७ जिल्ला पार गरियो, बीच बाटामा अरू के के चेक गरे प्रहरीले, रातको समय उति थाहा भएन, तर मास्कबारे कसैले कहीँ चेक गरेनन्।  

जब गाडी काठमाडौं उपत्यका छिर्ने नाका नागढुंगाको उकालो लाग्न थाल्यो, तब बसका कन्डक्टर यात्रुका निन्द्रा/तन्द्रा भंग हुनेगरी चिच्याए– मास्क लगाऔं है मास्क!

हतारहतार कसैले झोलाबाट त कसैले गोजीबाट मास्क झिके र लगाए। अब बच्चादेखि वृद्धसम्म, चालकदेखि सहचालकसम्म, सबैका मुखमा मास्क! नलगाउने कोही छैनन्। ​

हैट! हामीले मास्क लगाएको त सरकारको डरले पो रहेछ, प्रहरीको डरले पो रहेछ। कोरोना भाइरससँग त हामीलाई डरै रहेनछ! 

पहिलोपटक प्रत्यक्ष थाहा पाएँ- भारतबाट देशका जिल्लाजिल्ला अनि जिल्लाजिल्लाबाट काठमाडौं कोरोना कसरी भित्रिरहेको रहेछ!

साउन २१, २०७८, बिहीबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .
ad ad