खेल


गगनसमेत सहभागी ‘ग्रिन रन’मा पुरुषतर्फ पालले पाए प्रथम पुरस्कार ५० हजार

महिला प्रतियोगीहरूलाई फेरि दौडाइने
गगनसमेत सहभागी ‘ग्रिन रन’मा पुरुषतर्फ पालले पाए प्रथम पुरस्कार ५० हजार

नेपालखबर
साउन ६, २०८३ बुधबार ११:३०, काठमाडौँ

नेपाली कांग्रेसका संस्थापक नेता तथा जननिर्वाचित प्रथम प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवसका अवसरमा आज साउन ६ गते नेपाली कांग्रेसले आयोजना गरेको ग्रिन रन प्रतियोगितामा पुरुष धावकतर्फ विजयीहरूलाई नगद पुरस्कार प्रदान गरिएको छ।

ललितपुरको यूएन पार्कबाट सुरु गरिएको ग्रिन रन प्रतियोगितामा सहभागीमध्ये विजयी ६ जनालाई कांग्रेसका सभापति गगनकुमार थापाले नगद पुरस्कार प्रदान गरेका हुन्। 

प्रतियोगिताका लागि तय गरिएको ५ किलोमिटरको धावनमार्ग १६ मिनेट १५ दशमलव ७ सेकेन्डमा पूरा गरी मुकेशबहादुर पाल प्रथम भएका छन्। उनलाई सभापति थापाले ५० हजार नगद पुरस्कार प्रदान गरे। 

त्यसैगरी दोस्रो भएका नरेन्द्रसिंह रावललाई २५ हजार रुपैयाँ प्रदान गरिएको छ भने तेस्रो भएका सञ्जय श्रेष्ठलाई २० हजार प्रदान गरिएको छ।

प्रतियोगितामा चौथो भएका गणेश सिंहलाई १२ हजार, पाँचौ भएका अमृत ठकुरीलाई १० हजार र छैटौँ भएका नागेश्वर अहिरलाई ८ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ।

प्रतियोगितामा सहभागिताका लागि १४ सय जनाले नाम दर्ता गराएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।

प्रतियोगितामा सहभागी महिला प्रतियोगीहरूले धावनमार्ग छाडेर दौडेकाले उनीहरूलाई फेरि प्रतिस्पर्धा गराइने भएको छ।

ग्रिन रन प्रतियोगितामा सभापति थापासमेत प्रतियोगी बनेका थिए। 

ग्रिन रान प्रतियोगितापछि जाउलाखेलमा जलवायु परिवर्तन सम्बन्धी विज्ञहरूबिच छलफल कार्यक्रम समेत आयोजना गरिएको थियो।

पार्टीका उपसभापति विश्वप्रकाश शर्मा संयोजक रहेको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा जलवायु परिवर्तन सम्बन्धी राष्ट्रिय प्राथमिकता, नीतिगत व्यवस्था, सचेतना र सतर्कताको आवश्यकता रहेकोमा जोड दिइयो।

प्रतियोगिता आयोजना गरेर जलवायु परिवर्तनबारे सचेतना जगाउन मात्र नभई संकल्प गर्न समेत लागिएको सभापति थापाले बताए।

‘अहिले हामी जलवायु परिवर्तनको बारेमा सचेतना जगाउन मात्र नभई संकल्प गर्न पनि यहाँ उभिएका छौँ। यसका बारेमा हामी बृहत् कार्यक्रमको तयारी गरेका छौँ’, सभापति थापाले भने।

जंगल, जमिनलगायतका प्राकृतिक स्रोत-साधनलाई संरक्षण गर्नुपर्ने र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा बीपी कोइरालाले त्यतिबेला नै ल्याएको सभापति थापाले स्मरण गराए।

जननायक बीपी कोइरालाले विकासको दिगोपनको अवधारणा र प्राकृतिक स्रोतसाधनलाई न्याय गर्नुपर्छ भन्ने दृष्टिकोणप्रति कांग्रेसले अहिले फेरि संकल्प गरेको उनले बताए।

"समावेशिताको अवधारणालाई पनि सात दशकअगाडि नै कांग्रेस संस्थापक नेता कोइरालाले व्यवहारमै लागु गराएर हामीलाई सिकाउनुभएको छ, त्यसप्रति पनि हामी पूर्ण प्रतिबद्ध छौँ" सभापति थापाले भने।

सो अवसरमा जलवायु परिवर्तन सम्बन्धी चित्रकला प्रतियोगिता पनि आयोजना गरिएको थियो। कार्यक्रममा सहभागीरूलाई विभिन्न जातका बिरुवा समेत वितरण गरिएको छ। बिरुवा वितरण कार्यक्रम पार्टी केन्द्रीय कार्यालय सानेपाबाट जारी रहने कांग्रेसले जनाएको छ।

यो पनि : 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad