शनिबार राति हात्तीको आक्रमणमा परेर चितवनको भरतपुर महानगरपालिका-२३, जगतपुरकी २४ वर्षकी आशिका बोटे र उनको ४ वर्षका छोरा भरतको मृत्यु भयो।
साँझ खाना खाएर आशिकाको परिवार सुतिसकेको थियो। रातको करिब ११:३० बजे ध्रुबे हात्तीले आशिकाको परिवार सुतिरहेको घर हल्लाउन थाल्यो।
बाँसमा माटोले लिपेर बनाइएको घर भत्काउन हात्तीले मिहिनेत गर्नै परेन। छोरा भरतलाई लिएर सुतेकी आशिकालाई हात्तीले लछारपछार बनायो।
आशिकाका श्रीमान् पूर्ण बोटेले सँगै सुतेकी ६ वर्षकी छोरी सिरिसालाई काखी च्यापेर आत्तिँदै हात्ती धपाउन लागे। दुई जना भाइहरू पनि उठेर हात्ती धपाउन थाले।
मात्तिएर गाउँ पसेको ध्रुबे हात्ती तब मात्रै गाउँबाट बाहिर निस्कियो, जब पूर्णले आफ्नो घरमै आगो लगाइसकेका थिए।
श्रीमती र छोरालाई लछारपछार बनाएपछि अत्तालिएका पूर्णले पराल बालेर हात्ती खेद्न खोज्दा घरमै लागलागी भयो। यता आशिका र भरतको मृत्यु भयो। उता घर जलेर खरानी बन्यो।
मृत्यु हुने भरत गाउँकै कदम आधारभूत विद्यालयमा अध्ययनरत थिए।
त्यसो त, चितवन राष्ट्रिय निकुञ्जमा बस्ने जंगली ध्रुबे हात्तीले १४ वर्षअघि पूर्णको बाजे र बज्यैलाई समेत मारेको थियो।
उनका छिमेकी कृष्ण दवाडीले नेपालखबरलाई दिएको जानकारीअनुसार १४ वर्षअघि चितवनकै तत्कालीन माडी गाविस-१, द्रौपदीमा बस्दै आएका उनीहरूको घरमा आक्रमण गरेको थियो।
२०६९ मंसिर ३० गते ध्रुवे हात्तीले हजुरबुबा ७१ वर्षका सोमला बोटे र ६८ वर्षीया हजुरआमा झरली बोटेको ज्यान लिएको थियो।
घरमै हात्तीले आक्रमण गरेर आमा बुबाको ज्यान लिएपछि पूर्णका बुबा शनिसरा बोटेले आफ्ना तीन छोरा र श्रीमती मंगलीलाई लिएर जगतपुरमा बसाइँ सरेका थिए।
जगतपुर आएपछि ७ वर्षअघि नवलपरासीकी आशिकाको पूर्णसँग विवाह भएको थियो। उनीहरूका छिमेकी कृष्णले भने, ‘आशिकाको श्रीमान् पनि धेरै सोझा छन्। सासुससुरा पनि उस्तै हुनुहुन्छ। देवरहरू पनि कमाएर घर चलाउन सक्ने उमेरका छैनन्। घर व्यवहार सबै आशिकाकै काँधमा थियो।’
उनका अनुसार आमासँगै ज्यान गुमाउने भरत परिवारका कान्छा छोरा हुन्। परिवारमा दुई सन्तानमध्ये ६ वर्षीया छोरी भने सकुशल छिन्।
पूर्णले समयमै आगो नबालेको भए एउटै घरमा सुतिरहेका आठै जनाको ज्यान जोखिममा पर्न सक्ने अवस्था रहेको उनको भनाइ छ।
त्यसो त, ध्रुवे हात्ती २०६९ सालदेखि नै मानव-हात्ती द्वन्द्वको मुख्य कारण बन्दै आएको छ। सोही वर्ष नेपाली सेनाका एक सिपाहीको ज्यान लिएपछि चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीय त्रसित बनेका थिए।
चितवन राष्ट्रिय निकुञ्जको तथ्यांकअनुसार ध्रुवेले २०७४ सालमा निकुञ्जअन्तर्गत मेघौलीमा कार्यरत नेपाली सेनाका एक मेजरको समेत ज्यान लिएको थियो।
ध्रुवे हात्तीबाट ज्यान गुमाउनेको संख्या २५ पुगेको छ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार शनिबार मध्यरातमा दुई जनाको ज्यान लिएपछि ध्रुवे अहिले कहाँ छ? भन्ने यकिन छैन।
यद्यपि सुखीभार पोस्ट आसपासको क्षेत्रमा रहेको हुन सक्ने अनुमान गरिएको उनको भनाइ छ। मान्छेको ज्यान लिने ध्रुबेलाई के गर्ने भन्ने निर्णय माथिबाटै आउनु पर्ने उनी बताउँछन्।
Shares

प्रतिक्रिया