पहिरोका कारण शुक्रबार साँझदेखि पूर्ण रूपमा बन्द नारायणगढ–मुग्लिन सडक दिउँसोसम्म खुल्ने अनुमान गरिएको छ।
चितवनको इच्छाकामना गाउँपालिका-६, तुइनखोला पुलनजिक शुक्रबार साँझ खसेको पहिरोले गर्दा नारायणगढ–मुग्लिन सडक ४० घण्टादेखि बन्द छ।
सडक खुलाउन शनिबार बिहानदेखि पहिरो पन्छाउने क्रम जारी रहे पनि अहिलेसम्म सफल हुन सकेको छैन। पहिरो खसिरहने कारण हिजो दिनभरको प्रयास सफल नभएपछि आज बिहानैदेखि पुन: पहिरो हटाउन थालिएको छ।

अब थप पहिरो नखसे आज दिउँसो २ बजेसम्ममा सडक खुल्ने अपेक्षा गरिएको चितवन प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार पहिरो पन्छाउन ६ वटा स्काभेटर-लोडर प्रयोग गरिएको छ। तीमध्ये मुग्लिनतर्फ तीन र नारायणगढतर्फ तीनवटा परिचालन गरिएको छ।
सडक डिभिजन कार्यालय, चितवनका प्रमुख (सीडीई) नारायणप्रसाद लामिछानेका अनुसार सडकमाथिबाट ढुंगासहितको पहिरो खसिरहेका कारण समस्या भइरहेको छ।
सडकमाथिको भिरबाट झर्ने अवस्थामा रहेका ठुला ढुंगा तल झार्न सशस्त्र प्रहरीको विपद् व्यवस्थान टोलीसँग समन्वय गरिएको लामिछानेले बताए।
उनले नेपालखबरसँग भने, ‘अब माथिबाट थप पहिरो खसेन भने अबको करिब ६ घण्टामा पहिरो हटाएर सवारी आवागमन सुचारु गर्न सकिन्छ भन्ने हाम्रो अनुमान छ। जसका लागि दुवैतर्फबाट सफा गर्ने कार्य भइरहेको छ। आज बिहानैबाट काम भइरहेको छ।’
पहिरोका कारण शुक्रबार साँझदेखि सडक अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन्।
सयौँको संख्यामा सवारीसाधनको लाम लागेको छ।
यसैबीच प्रहरीले हाललाई वैकल्पिक मार्गहरू बाटो नौबिसे–दामन–हेटौँडा र मुग्लिन–भिमाद–डेढगाउँ–गैँडाकोट (कालीगण्डकी करिडोर) प्रयोग गर्न सुझाव दिएको छ।


Shares

प्रतिक्रिया