मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१२, घलेगाउँकी श्रेया गुरुङको मोबाइलमा घण्टी बजिरहन्छ।
‘फोन उठाउनेबित्तिकै प्रश्न आउँछ, ‘श्रेयाजी बोल्नुभएको होइन? उनी हतारिँदै जवाफ फर्काउँछिन्, हजुर हो। को बोल्नुभयो होला?’
उताबाट जवाफ आउँछ, ‘सुन्नु न, म सिन्धुलीबाट हो। ५० किलो गुन्द्रुक चाहिएको थियो, त्यसैले फोन गरेको।’
आफूहरूले भण्डारण गरेर राखेको गुन्द्रुकको भाँडोतिर हेर्दै श्रेया भन्छिन्, ‘अहिले त त्यत्रो गुन्द्रुक नै छैन। अहिले साग फल्ने सिजन नभएको कारण अहिलेलाई सरी भनेँ ल! हिउँदमा जसरी पनि उपलब्ध गराउँछु।’
उनलाई मात्रै होइन, गुन्द्रुक उत्पादनमा संलग्न यहाँका प्रायः दिदीबहिनीहरूलाई यस्तै फोन आइरहन्छ।
गुन्द्रुक अमिलो, मिठो र स्वादिलो भएका कारण यतिबेला हेटौँडाको गुन्द्रुकले देसका विभिन्न सहरसहित विदेशमा समेत चर्चा पाइरहेको छ। सोही स्वाद सम्झिएर अर्डरका फोन आइरहन्छन् उनीहरूलाई।
घलेगाउँका ११ जना महिलाले सुरु गरेको गुन्द्रुक उत्पादनले सबैको ध्यान तानेको छ।
कुनै समय पुरुषहरूले सञ्चालन गरेको कृषि सहकारी संस्था डुबेर लिलाम हुने अवस्थामा पुगेको थियो। त्यही बेला स्थानीय महिलाहरूलाई सहकारी दर्ता गरेर उद्यमी बन्ने हुटहुटी जागेको थियो।
हटौँडा उपमहानगरपालिका मातहतमा रहेको सहकारी लिलाम गर्ने कि नयाँ ढंगबाट सञ्चालनमा ल्याउने भन्ने बहस नगरपालिकाभित्र चल्यो।
अन्ततः नगरपालिकाले उक्त सहकारी ती महिलाहरूलाई दिने सहमति गर्यो। वि.सं. २०७० मै दर्ता सहकारी संस्था २०७९ सालमा ती महिलाहरूको हातमा पर्यो।
उनीहरूले त्यो सहकारीलाई पुन: चलायमान त बनाए नै, गुन्द्रुक उत्पादन थालेर देशदेखि विदेशसम्म हेटौँडा सहरकै पहिचान गराए।
‘बिहान उठ्यो, खाना बनायो। बच्चाहरूलाई खुवाएर स्कुल पठायो’, गुन्द्रुक उत्पादनमा आबद्ध शिला घले भन्छिन्, ‘बिहानको घरधन्दा सकाएर खाना खाएपछि यहाँ आउँछौँ। दिनभरि काम गर्छौं। अपराह्न ४ बजेपछि बच्चाहरूसँगै घर पुग्छौँ। त्यसरी भ्याएर गुन्द्रुक बनाइरहेका छौँ।’

बचेको समय सदुपयोग गर्दै उद्यमी बन्न पाउँदा निकै खुसी लागेको उनी बताउँछिन्।
कञ्चनजंघा कृषि सहकारीकी कोषाध्यक्ष श्रेया गुरुङ थोरै समयमै ठुलो सफलता हासिल गर्न सकेकामा निकै खुसी छिन्।
दुई वर्षभित्र धेरै जना दिदीबहिनीलाई उद्यमी बनाएर आयआर्जनमा सघाउन पाएमा उनी दंग देखिन्छिन्।
उनीसहित पुगेका ४ जनाको टोलीले सुरुमा नगरपालिकामा पुगेर उद्यमी बन्न के काम गर्ने होला भनेर सल्लाह गरे।
हेटौँडा उपमहानगरपालिकाका तत्कालीन सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेल र मेयर मीनाकुमारी लामाले गुन्द्रुक उत्पादन गर्न सुझाव दिए।
ती दिन स्मरण गर्दै श्रेया भन्छिन्, ‘छ्या यस्तो कतै नबिक्ने गुन्द्रुक उत्पादन गरेर उद्यमी बनिएला र? अहिलेको जमानामा गुन्द्रुक किनेर कसले खान्छ? बिकेन भने के गर्ने भनेर हामीले मेयर साब र हिम सरलाई प्रश्न गर्यौँ। उहाँहरूले हौसला दिनुभयो। गुन्द्रुक बिकेन भने हेटौँडा उपमहानगरपालिकाको १९ वटै वडामा रहेका होटलहरूलाई अनिवार्य गुन्द्रुक किन्न पर्ने वातावरण मिलाउँछु भन्ने वाचा मेयर साबले गर्नुभयो। अनि मात्रै हामीले आँट गरेका थियौँ।’
सुरुमा जग्गा भाडामा लिएर रायोको साग रोपे। सहकारीमा आबद्ध ११ महिला मिलेर साग हुर्काए। १५ कठ्ठा जग्गामा लगाइएको त्यही सागबाट स्वादिलो गुन्द्रुक उत्पादन सुरु गरियो।
जब उनीहरूले बनाएको गुन्द्रुक बजार लान थालियो, तब कहाँ बेच्ने भन्ने चिन्ता हट्यो।
हेटौँडाका होटलहरूले एकपटक यो गुन्द्रुकको अचार बनाएर बेचेपछि ग्राहक पल्किए।
अनि बिस्तारै आफूहरूले उत्पादन गरेको गुन्द्रुक काठमाडौँ, पोखरा, सुर्खेत, धरानलगायतका देशका विभिन्न सहरमा पुगेको र अहिले विदेशमा समेत निर्यात भइरहेको श्रेया सुनाउँछिन्।
सुरुमा हिच्किचाउँदै सुरु गरेको गुन्द्रुक उत्पादनले अहिले बजारको माग धान्नै मुस्किल भइरहेको उत्पादक महिलाहरू बताउँछन्।
हेटौँडा उपमहानगरपालिकाको १ लाख रुपैयाँ सहयोगबाट सुरु गरिएको उद्यमले उनीहरूलाई हेटौँडाकै सफल उद्यमीको पहिचान बनाउन मद्दत गर्यो।
डेढ सयभन्दा बढी सदस्य रहेको यस सहकारीका सबै महिलालाई उद्यमी बनाउने विषयमा विचार गरिरहेको सरकारीकी अध्यक्ष चिनिमाया गुरुङ बताउँछिन्।
गुन्द्रुक उत्पादन मात्र नभएर अचार, मस्यौरा बनाउने तथा कृषिबाली लगाउने तालिमको आवश्यकता रहेको चिनीमायाको भनाइ छ।
‘१५ कठ्ठा जग्गाबाट सुरु गरेको साग खेती अहिले ३० कठ्ठामा फैलाएका छौँ’, उनले भनिन्, ‘अब हामी सागसँगै पिँडालु खेती पनि गर्छौं। पिँडालुको मस्यौराको पनि माग आइरहेको छ। साग बर्खामा पनि फलाउन टडेँलो हाल्न थालेका छौँ। यसमा पनि नगरपालिकाले नै साथ दिएको हो। बेकामे भएर बसिरहेका हामीहरूलाई गुन्द्रुकले धेरै सहज बनाएको छ।’
उनका अनुसार यो वर्ष मात्रै १० क्विटल गुन्द्रुक बिक्री भइसकेको छ। सागको उत्पादन राम्रो भइदिएको भए १५ क्विटल गुन्द्रुक उत्पादन भई माग पूरा गर्न सकिने उनी बताउँछिन्।
गुन्द्रुक उत्पादनका लागि खर्चिएको समयको मतलब हुँदैन। हरेक महिना कामको हिसाब हुन्छ। अनि सहकारीमा रहेका खातामै रकम जम्मा हुन्छ।
काम धेरै भएका बेला सहकारीकै अन्य सदस्यले रोजगारी पाउँछन्। एक घण्टा श्रम गरेको ज्याला सय रुपैयाँ तोकिएको छ।
जति धेरै काम गर्न सक्यो, उति नै रकम खातामा जम्मा हुन्छ। अनि खाँचो परेका बेला त्यही रकमले घरको गर्जो टार्ने गरेको उनीहरू बताउँछन्।
‘कुनै बेला मन लागेको कुरा किन्न पनि श्रीमान्सँग हात फैलाउन पर्थ्यो’, सहकारीमा आबद्ध शिला भन्छिन्, ‘अहिले सानातिना खर्च गर्न कसैसँग माग्न परेको छैन। बच्चाहरूको टिफिन खर्च पनि पुगिरहेको छ। यो अवस्थासम्म आइपुग्दा पनि गर्व नै लाग्छ।’
आफ्नै प्रेरणाले उद्यमी बनेको यो समूहको प्रगतिले हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामा पनि सन्तुष्ट देखिन्छिन्।
गत वर्ष सुरु गरिएको गुन्द्रुक उत्पादनले अन्तर्राष्ट्रिय बजारमा समेत पहिचान पाउँदा आफूलाई निकै खुसी लागेको मेयर लामा बताउँछिन्।
‘हामीले प्रोत्साहन गरेर सुरु गरिएको उद्यमले बजार जमाउँदा निकै खुसी लाग्ने रहेछ’, मेयर लामाले नेपालखबरसँग भनिन्, ‘गुन्द्रुक उत्पादनसँगै अन्य २४ वटा आइटम सूचीकृत गरेका छौँ। त्यस नुसार ब्रान्डिङ गर्ने, लेबलिङ गर्ने, बजारीकरण गर्ने, उत्पादन वृद्धि गर्ने र त्यसलाई कोल्ड स्टोरमा सञ्चित गर्नेजस्ता काममा नगरपालिका तीव्रताका साथ लागिरहेको छ।’
नगरमा बसोबास गर्ने नागरिकलाई उद्यमी बनाउन आफूहरूको सधैँ साथ रहने पनि उनले बताइन्।
Shares

प्रतिक्रिया