गत शुक्रबार हेटौँडामा जमिनमुनि भासिएको डीआई गाडी भूगर्भविद्को अध्ययनले समेत पत्ता लगाउन नसकेपछि भूगर्भविद्को टोली काठमाडौँ फर्किएका छन्।
मंगलबार (हिजो) र बुधबार (आज) दिनभर पहिलो चरणको अध्ययन गर्दा पनि गाडीको अवस्था पत्ता लगाउन नसकेपछि भूगर्भविद्को टाली आज काठमाडौँ फर्किएको हो।
ना ४ च ४८३३ नम्बरको गाडी गत शुक्रबार दिउँसो हेटौँडा-१६ र १७ को सिमानामा पर्ने गौरीगाउँस्थित कच्ची सडकको हिलोमा फसेको र केही बेरमै जमिनमुनि पुरिएको थियो।
हिलोमा फसेको गाडी निकाल्ने क्रममा ५ सेकेन्डकैबीचमा उक्त गाडी जमिनमुनि हराएको थियो। उक्त गाडी र त्यस स्थानको अध्ययन गर्न काठमाडौँबाट भूगर्भविद् नारायण अधिकारीको नेतृत्वमा ५ जना फिल्डमा खटिएका थिए।
हिजो दिनभर त्यस स्थानको अध्ययन र म्याग्नेटो मिटरको आधारमा गाडी भासिएको स्थान वरपर चुम्बकीय क्षेत्र तथा पदार्थको अवस्था अध्ययन गरेका थिए। तर, गाडीको अवस्था भने पत्ता लाग्न नसकेको भूगर्भविद् अधिकारीको भनाइ छ।
गाडी भासिएको स्थानमा थप जमिनको सहत विस्तारै भासिन थालेपछि टोलीले आफ्नो अध्ययन तत्कालका लागि स्थगित गरेको हो। भूगर्भविद् अधिकारीले घटनास्थलबाट संकलन गरेको तथ्य र माटोको नमुना ल्याब परीक्षणपछि मात्र घटनास्थलमा दोस्रो चरणको अध्ययन गरिने जानकारी दिए।
गाडी भासिएको ठाउँमा धेरै दलदल माटो रहेको कारण जमिन भासिएको निष्कर्ष निकाल्दै भूगर्भविद् अधिकारीले भने, ‘गाडी दबिएको खाल्टोको जमिनबाट निरन्तर पानी आइरहेको अवस्था छ। यसलाई हेर्दा पनि यो जमिन कमजोर छ भन्न सकिन्छ। भित्र दलदले भएकै कारण गाडीको लोड थाम्न नसकेर गाडी भासिएको हो।’
भूगर्भविद् अधिकारीका अनुसार म्याग्नेटो मिटरले अध्ययन गर्दा गाडी दबिएको जमिनको पूर्वी भागमा छ भन्ने देखिएको छ। तथापि, यसको पुष्टि गर्ने कुनै यन्त्र आफूहरुसँग नभएको उनी बताउँछन्।
दुईदिनसम्म ड्रिल मेसिन जमिनमा ड्रिल गरेर हेर्दा गाडी यहीँ छ भन्ने कुराको पत्ता नलागेको उनको भनाइ छ। पहिलो चरणको अध्ययन सकारात्कम भएको भन्दै काठमाडौँबाट केही दिनमै फर्किएर दोस्रो चरणको अध्ययन थालिने भूगर्भविद् अधिकारीले बताए।
यता, भूगर्भविद्को टोली काठमाडौँ फर्किएपछि भासिएको गाडी खोजी गर्न हेटौँडा उपमहानगरपालिकाले नयाँ तरिका अपनाउने योजना बनाएको छ। भूगर्भविद्को टोलीले पहिलो चरणको रिर्पोट उपमहानगरपालिकामा उपलब्ध गराएपछि सोही अनुसार गाडीको खोजी गरिने प्रवक्ता सवीन न्यौपाने बताउँछन्। 
हालका लागि भने त्यस क्षेत्रलाई जोखिमपूर्ण क्षेत्रको रुपमा राखेर सतर्कता अपनाउने र गाडी खोज्नका लागि अर्को उपाय अपनाइने उनको भनाइ छ। ‘भूगर्भविद्ले त भूमिको अवस्था पत्ता लगाउने कुरा भयो,’ हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता न्यौपानेले भने, ‘उहाँहरुले गाडी सोही खाल्टोको करिब ६ देखि ८ मिटर तल पूर्वपट्टी छ भन्ने संकेत दिनुभएको छ। अब सोही आधारमा सुरक्षाको उपाय अपनाएर खोज्ने काम गर्ने हो।’
गत शुक्रबार माछाको दाना लिन गाडी धनि समेत आफै रहेका चालक रामहरी राई त्यसस्थानबाट हेटौँडा बजारतर्फ आउँदै थिए। सोही क्रममा बोरिङ खनेको सानो खाल्टोमा गाडी फसेपछि निकाल्ने क्रममा एक्कासी गाडी जमिनमै बिलाएको थियो। गाडीमा रहेका चालक राई र सहचालक मुक्तिनाथ सहनीले भने भागेर ज्यान जोगाएका थिए।
Shares

प्रतिक्रिया