मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१७ गौरीगाउँ भन्ने स्थानमा जमिनै दबिएको डिआई गाडी जमिनमै बेपत्ता भएको ४ दिन बित्यो। गत शुक्रबार साँझतिरको समयमा भित्री कच्ची सडकमा हिलोमा फसेको गाडी निकाल्न सवारी धनी समेत रहेका चालक रामहरी राईले निकै प्रयास गरे। हिलोमा फसेको गाडी निकाल्न झण्डै १ घण्टा लाग्यो।
केही गर्दा पनि गाडी निस्कने सुर नदेखिएपछि ट्याक्टर ल्याएर गाडी तान्ने प्रयास गरियो। स्थानीय एक व्यक्तिले ट्याक्टर बोलाउनको लागि फोन गर्दै थिए। यता, चालक राहमरी र रौतहट स्थायी ठेगाना भएका सहचालक मुक्तिलाल सहनीले गाडी निकाल्ने प्रयास गरिरहे। तर गाडीको अगाडीको भाग बिस्तारै दबिएको जस्तो मुक्तिलालले अनुभव गरे।
उनी चिच्याउँदै चालक रामहरीलाई पनि तुरन्तै निस्कन भने। दुवैजनाले दुईतिरको ढोका खोलेर निस्किन भ्याए। तर उनीहरू निस्किएर हेर्न पनि नभ्याउँदैमा गाडी जमिनमा बिलायो।
‘गाडीको अगाडीको भाग दबिएको चाल पाएपछि धन्न हामी भाग्न भ्यायौँ,’ घटनाबारे नेपालखबरलाई जानकारी दिँदै सहचालक सहनीले भने, ‘खटट्ट... आवाज निस्कियो। दुई सेकेन्ड जतिमा गाडीको अगाडीको भाग बिलायो। त्यसको ३ सेकेण्ड पनि नहुँदै पूरै गाडी जमिनमा बिलायो। मैले आत्तिएर कराएपछि दुवैजना भाग्न भ्यायौँ। नत्र त हामी पनि गाडीसँगै जान्थ्यौँ होला।’
सहचालक सहनीका अनुसार उनीहरू रहेक दिन सोही बाटोमा माछाका दाना बोक्न, माछा लिनका लागि आउजाउ गर्ने गरेका थिए। तर न कहिल्यै गाडी हिलोमा फसेको थियो, न त त्यस स्थान वरपर गाडी दबिएको घटना नै भएको थियो।

विगत १ वर्षदेखि सोही स्थानमा ९ वटा माछा पोखरी सञ्चालन गर्दै आएका सवारी धनी समेत रहेका राइले हरेक दिन त्यहि बाटोबाट गाडी गुडाउने गरेका थिए। तर यस्तो घटना भने जीवनमै पहिलोपटक घटेको उनी बताउँछन्।
‘गाडी त्यसरी जमिनमै दबिएको त मैलै पहिलो पटक देखेको हुँ,’ उनले भने, ‘गाडी निकैबेर हिलोमा फस्यो। गाडी निस्किएला जस्तो भएपछि अगाडी बढाएँ। त्यतिबेला नै भूकम्प गएजस्तै गरी जमिन हल्लिएको महशुस भयो। यत्तिकैमा जमिनबाट केही ब्लास्ट भएजस्तो आवाज आयो। त्यसपछि गाडी जमिनमा दबिन सुरु भयो।’
चालक राईले थपे, ‘जमिन भासिएपछि गाडी एकैछिनमा हरायो। धमिलो पानी घटट्ट गरेर भूमरी बन्यो। यत्तिकैमा वरपरको माटो झर्यो अनि गाडीको थोरै भाग पनि भेटिएन। धन्न सहनी (सहचालक) दाई र म गाडीबाट निस्किएर भाग्न भ्यायौँ।’
उतीबेला सडक नजिकै रहेको माछा पोखरीका माछाहरू पनि असामान्य तरिकाले उफ्रिएको उनी बताउँछन्।
माछा पालन गर्दै आएको पोखरीको छेउबाट बनाइएको कच्ची सडकको हिलोमा फसेको ना ४ च ४८३३ नम्बरको डिआइ गाडी निकाल्ने क्रममा अचानक खाल्टोमै बेपत्ता भएको हो। बोरिङको लागि खनिएको खाल्टो भासिएर गाडी बेपत्ता भएको गाडी दुईदिनसम्म खोजी गरिएको थियो।
त्यसोत, स्थानीय निराजन गौतम घटना घटेको स्थानमा यसअघि कहिल्यै यस्तो घटना नभएको बताउँछन्। धाप क्षेत्र नभएको ठाउँमा यसरी गाडी नै हराउने गरी जमिन भासिएको पहिलो घटना भएको उनको अनुभव छ।
‘यो भन्दा अलि माथिको स्थानहरू चाहिँ अलि धाप क्षेत्र नै हो। तर यो त त्यस्तो ठाउँ नै होइन,’ उनले भने, ‘सडकको दुवै साइडमा माछा पोखरी रहेछ। सडकको भित्तामा बोरिङ पनि खनेको रहेछ। बोरिङ खनेको स्थानमा जमिन कमजोर भएर भासिएर गाडी दबिएको हो कि भन्ने लाग्छ।’
दुईदिनसम्म प्रहरी, स्थानीय तथा जनप्रतिनिधिको रोहबरमा खाल्टोको पानी सुकाएर गाडीको खोजी गर्दा पनि नभेटिएपछि सो स्थानको अध्ययन गर्न भूगर्भविद्को टोली ल्याउन लागिएको हेटौँडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाले बताइन्।
उनका अनुसार मंगलबार भूगर्भविद्को टोली आएर भासिएको जमिनको अध्ययन गर्नेछ।
Shares

प्रतिक्रिया