अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल धितोपत्र बोर्डमा छापा मारेको छ।
प्राथमिक सेयर (आईपीओ) निष्काशनका लागि पाइपलाइनमा रहेका सबै कम्पनीहरुको कागजात अख्तियारले बोर्डबाट आफ्नो नियन्त्रणमा लिएको हो।
बोर्डका सहायक प्रवक्ता टोलकान्त न्यौपानेले अख्तियारको टोली बोर्डमा आएको र आईपीओ निष्काशनको स्वीकृति माग्दै बुझाएका कागजातहरु आफ्नो नियन्त्रणमा लिएको बताए।
‘पाइपलाइनमा जलविद्युत्का ४३ सहित ८९ कम्पनीको कागजपत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले लगेको छ’, उनले नेपालखबरसँग भने।
नेपालखबरले आइतबार नै ‘जलविद्युत् कम्पनीका आईपीओ स्वीकृतिका लागि धितोपत्र बोर्ड अध्यक्ष श्रेष्ठले प्रतिशत नै तोकेर मागे कमिसन’ शीर्षकमा यो खबर ब्रेक गरेको थियो।
धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले बिचौलिया पठाएर ५–७ प्रतिशत कमिसन मागेपछि ऊर्जा प्रवर्द्धकहरूको मंगलबार बसेको बैठकले चरणवद्ध विरोधका कार्यक्रम गर्ने र अन्तिममा अख्तियार गुहार्ने रणनीति बनाएका थिए।
यस लगत्तै बुधबार संसद बैठकमा सांसदहरूले बोर्डले कमिसनको चलखेल गरिरहेको विषयमा छानविन हुनु पर्ने आवाज उठाएका थिए। माओवादी केन्द्रका सांसद माधव सापकोटाले त सभामुख समक्ष यो प्रकरण छानविनका लागि सरकारलाई रुलिङ गर्न समेत माग गरेका थिए।
यसैबीच बुधबार दिउँसो अख्तियारको टोली बोर्डमा पुगेको हो।
लामो समयसम्म आईपीओ निष्काशनको स्वीकृति बोर्डले अड्काउँदै आएको थियो। यसमा जलविद्युत् कम्पनीहरुसँग बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठले बिचौलिया खटाएर प्रतिआयोजना ५ देखि ७ प्रतिशतसम्म कमिसन मागेको खबर नेपालखबरले आइतबार र मंगलबार प्रकाशित गरेको थियो।
जलविद्युत् कम्पनीहरुले कमिसन मागिएको भन्दै आइतबार अख्तियारमा उजुरी गरेका थिए। मंगलबारमात्रै उनीहरुले स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)सँग छलफल गरी बोर्डसँग औपचारिक जानकारी माग्ने बताएका थिए।
Shares

प्रतिक्रिया