बागमती


हेटौँडामा राप्रपाका कार्यकर्ताले प्रचण्डको तस्बिर जलाए

हेटौँडामा राप्रपाका कार्यकर्ताले प्रचण्डको तस्बिर जलाए

नेपालखबर
चैत २, २०८१ शनिबार १४:५२, हेटौँडा

हेटौँडामा पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फोटो जलाइएको छ।

शनिबार हेटौँडामा भइरहेको प्रजातान्त्रिक राष्ट्रिय युवा संगठनको अधिवेशनको उद्घाटन सत्रमा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय सचिव निराजन बम पतालाले रोस्टममै पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको फोटो जलाएका हुन्।

सयौँ बैंक लुटिएको, देशमा आतंङ्क र अशान्त बनाएको, १७ हजार मानिसको मुत्यु र लाखौँ जनताको दुःखको कारण नै प्रचण्ड भएको भन्दै उनले विरोध गर्दै तस्बिर जलाएको बताए।

उनले रोस्टममा प्रचण्डको फोटो जलाइरहँदा संघीय सांसद तथा भौतिक पूर्वाधार विकास समितिका सभापति दीपक बहादुर सिंह प्रमुख अतिथिको रुपमा थिए। उनले पनि तस्बिर जलाउनबाट नरोकेर मौन समर्थन गरेको पाइएको छ।

यता, जिल्लामा पूर्वप्रधानमन्त्रीको तस्बिर जलाइरहँदा जिल्ला प्रशासन कार्यालय र मकवानपुर प्रहरी भने बेखबर बनेको छ। यस घटनाको विषयमा आफूलाई भर्खरै मात्रै जानकारी आएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठले बताइन्।  

आफू एउटा बैठकमा रहेको बताउँदै सीडीओ श्रेष्ठले यस विषयमा पछि कुरा गरिने बताइन्।

शुक्रबार प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘भाइ मारा र मूर्ति चोर’ जस्ता गम्भीर आरोप लगाएका थिए ।

सिन्धुपाल्चोक मेलम्चीमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले भनेका थिए, ‘२५० वर्षसम्म राजा महाराजाले देशलाई कहाँ पुर्‍याए भन्ने नेपाली जनताले बिर्सिएको छ ? मूर्ति चोर को हुन् ? नेपालका ठूल्ठूला मूर्ति चोरेर अहिले राजा ? भाइमारा को हो ? आफ्नै वंश मास्नेले आएर फेरि धाक लगाउन मिल्छ ? सुन तस्कर को हो ? नेपाली जनताले बिर्सिएको भन्ठानेको ?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad