बागमती


बागमतीमा एकैदिन पाँच जनाको मृत्यु

बागमतीमा एकैदिन पाँच जनाको मृत्यु

नेपालखबर
जेठ २५, २०८३ सोमबार १४:३६, मकवानपुर

बागमती प्रदेशको धादिङ, चितवन, काभ्रे र दोलखामा शनिबार भएका छुट्टाछुट्टै घटनामा पाँच जनाको मृत्यु भएको छ। घटनामध्ये एक बेपत्ता किशोरको शव नदी किनारमा फेला परेको छ भने जंगलमा सडिगलेको अवस्थामा एक पुरुषको कंकालसमेत भेटिएको छ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार धादिङको निलकण्ठ नगरपालिका-९, पाख्रीखोला जंगलमा सडिगलेको अवस्थामा एक पुरुषको शव फेला परेको थियो।

कटुसको रुखमुनि कम्मर र करङका हड्डी मात्र बाँकी रहेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ। घटनास्थलमा चप्पल, पिक्याप, पाइन्ट र रुखमा बाँधिएको ज्याकेटसमेत फेला परेको थियो। पछि उक्त शव निलकण्ठ-१२ निवासी ५० वर्षीय मिस्टर कुमालको रहेको उनका छोरा दीपेन्द्र कुमालले पहिचान गरेका छन्। कुमाल वैशाख ८ गतेदेखि हराइरहेका थिए।

चितवनको खैरहनी नगरपालिका-८, होलील्यान्ड रोडस्थित डेरामा ५० वर्षीय धनबहादुर परियार मृत अवस्थामा फेला परेका छन्। कोठाको ढोका बन्द रहेको अवस्थामा झ्यालबाट हेर्दा उनी भुइँमा लडिरहेको अवस्थामा फेला परेका थिए। चितवन प्रहरीले स्थानीय जनप्रतिनिधिको रोहवरमा ढोका खोलेर हेर्दा मृत अवस्थामा फेला पारेको हो। घटनाको मुचुल्का तयार गरी शव पोस्टमार्टमका परियारको शव भरतपुर सरकारी अस्पताल पठाएको प्रहरीले जनाएको छ।

यस्तै चितवनको भरतपुर महानगरपालिका-२९, जुगेडीस्थित त्रिशूली नदी किनारमा १६ वर्षीय प्रवीण भुजेलको शव फेला परेको छ। तनहुँको देवघाट-४, गाईघाटमा जेठ २२ गते माछा मार्ने क्रममा बेपत्ता भएका भुजेलको शव तनहुँ-चितवन जोड्ने झोलुंगे पुलमुनि भेटिएको प्रहरीले जनाएको छ। पोस्टमार्टमपछि शव आफन्तलाई बुझाइएको छ।

काभ्रेको नमोबुद्ध नगरपालिका-६, चौकीडाँडामा रोशी खोलामा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय विजय श्रेष्ठको मृत्यु भएको छ। आइतबार साथीहरूसँग पौडी खेलिरहेका बेला डुबेका उनलाई स्थानीयले उद्धार गरी उपचारका लागि मेथिनकोट अस्पताल भकुण्डेबेँसी पुर्‍याएका थिए। तर उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ।

त्यसै गरी दोलखाको वैतेश्वर गाउँपालिका-५, लप्सेमा ५४ वर्षीय पुस्कर राउत घर नजिकैको कुलोछेउमा बेहोस अवस्थामा फेला परेका उनको मृत्यु भएको हो। बेहोस अवस्थामा स्थानीयवासीले उद्धार गरी उपचारका लागि चरिकोट पठाए पनि पशुपति चौलागाई स्मृति अस्पताल पुगेलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad