राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको प्रथम अधिवेशन मंगलबारबाट हेटौँडामा सुरु भयो। पार्टी स्थापनापछिको पहिलो ऐतिहासिक अधिवेशनका लागि रास्वपाका नेता कार्यकर्तादेखि सांसदहरूको समेतको उल्लेख्य सहभागिता रह्यो।
बागमती प्रदेशबाट निर्वाचित सांसदहरूमात्रै हेटौँडा झरेनन्। प्रतिनिधि सभा बैठक छाडेर बाँके ३ बाट निर्वाचित सांसद खगेन्द्र सुनारदेखि मोरङबाट निर्वाचित सांसद यज्ञमणि न्यौपाने, केपी खनालदेखि सागर ढकालसम्मले अधिवेशनको आतिथ्यता लिन भ्याए।
अधिवेशनको उद्घाटन सत्रमा रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले रास्वपामा स्वार्थको राजनीति नगर्न निर्देशन जारी गरेका थिए। बागमतीको नेतृत्वले नै सिंगो रास्वपाको आधार तय गर्ने उनले बताएका थिए।
कारण १ः प्रतिनिधिमै विवाद
महामन्त्री बुर्लाकोटीको निर्देशनअनुसार बागमती प्रदेशको पहिलो अधिवेशन शान्त, निष्पक्ष र धाँधली रहित हुन्छ भन्नेमा धेरै नेताहरू आशावादी देखिन्थे। मञ्चमा उद्घाटन सत्र चल्दै गर्दा निर्वाचन परिचालन कमिटीले निर्वाचनको तयारी सुरु गरिसकेको थियो। जब उद्घाटन सत्र नसकिँदै अधिवेशन परिसरमा प्रतिनिधिहरूको नामको सूची टाँसियो, तब रास्वपाभित्रको भडास पोखिसकेको थियो।
रास्वपाको केन्द्रदेखि प्रदेशसम्मका नेताहरूले प्रतिनिधि संख्या कति? भन्ने टुंगो लगाउन सकेका थिएनन्। रास्वपा बागमती प्रदेशका निर्वतमान सभापति अचुतम लामिछाने आफैँ केन्द्रीय सदस्यहरूलाई प्रदेशको प्रतिनधि संख्या कति हो? भनेर सोध्दै हिँडेका थिए। रास्वपाभित्रको पहिलो विवाद नै प्रतिनिधि छनोट बनेको हो।
अधिवेशनमा सहभागी प्रतिनिधिहरूका अनुसार भक्तपुर जिल्लासम्बन्धी मतदाता नामावली तथा उम्मेदवारहरूको विवरण स्पष्टरूपमा सार्वजनिक नगरिएको विषयलाई लिएर विवाद सुरु भएको थियो। निर्वाचन क्षेत्र र क्लस्टरअनुसार उम्मेदवारहरूको नामावलीमा त्रुटि रहेको दाबी गर्दै केही प्रतिनिधिहरूले निर्वाचन समितिको ध्यानाकर्षण गराएका थिए।
अन्य जिल्लाबाट आएका प्रतिनिधिहरू समेत अन्योलमै देखिन्थे। रामेछापबाट प्रतिनिधि बनेर आएका एक सदस्यले भने, ‘कतिलाई जिल्लाबाट प्रतिनिधि बनाएर यहाँ ल्याइएको छ। तर यहाँ आएर हेर्दा आफ्नो नाम भेटिदैँन। सभापतिको उम्मेदवार बन्न चाहाना राख्ने व्यक्तिका नजिकको मान्छेको नाम भेटिन्छ। यस्तै भएर हामी असन्तुष्ट भएका हौँ।’ ती नेता जस्तै असन्तुष्टको भीड बढेको थियो, जसकारण अधिवेशन स्थल खाली गराउन प्रहरी परिचालन गर्नुपर्यो।
कारण २ : सभापतिको दाबी
अधिवेशन सुरु हुनुअघि सभापति पदमा निवर्तमान सभापति लामिछाने सर्वसम्मत हुन सक्ने आकलन थियो। उद्घाटन सत्रमा केन्द्रीय नेताहरूको भाषणपछि धेरैले प्रदेश सभापतिमा आकांक्षा व्यक्त गरे।
बागमती प्रदेश कमिटीले रास्वपाको राजनीतिक भविष्य तय गर्ने भाषणले धेरै नेताको आकांक्षा बढेको दृश्य देखिन्थ्यो। यता लामिछानेको चुनावी प्रतिस्पर्धा भए पनि मकवानपुरको उत्सव अर्यालसँग मात्रै हुनेमा उनी ढुक्क देखिन्थे।
लामिछाने प्रदेश सभापति हुँदा अर्याल प्रवक्ताको जिम्मेवारीमा थिए। काठमाडौँका लामिछाने नुवाकोट-२ बाट निर्वाचित सांसद पनि हुन्। जसकारण नुवाकोटसहित छिमेकी जिल्ला धादिङ, रसुवादेखि काठमाडौँ उपत्यकाको ३ जिल्ला र उपत्यकासँग जोडिएका काभ्रेका प्रतिनिधिले आफैँ मत दिन्छन् भन्नेमा लामिछाने विश्वस्त थिए।
अर्याल जेन-जी युवा, मकवानपुर, चितवनदेखि अन्य जिल्लाबाट आएका प्रतिनिधिले मत दिन्छन् भन्नेमा थिए। दुवै जनाले एक अर्कालाई मात्रै मुख्य प्रतिस्पर्धीका रूपमा हेरेका थिए। तर अन्त्यमा सभापति पदमा पाँच जनाले उम्मेदवारी दर्ता गराए।
लामिछाने र अर्यालसहित धादिङका कृष्णमान शाक्य, काभ्रेका बदन भण्डारी र रामेछापका हरिबहादुर भण्डारीले सभापतिमा उम्मेदवारी दर्ता गरे। बदन भण्डारीले भने उम्मेदवारी फिर्ता लिए पनि चार जनाको उम्मेदवारी कायम रह्यो।
निर्वाचन प्रक्रिया राति १ बजेबाट सुरु भएको थियो। ६ जनाले मतदान गरेपछि विवाद सुरु भएको थियो।
उम्मेदवारको संख्या र भुगोलका कारण पराजित हुने त्रासले सभापतिकै उम्मेदवार र उनीहरूका समर्थकहरु विरोधमा उत्रिएका कारण नेतृत्व चयनमै अन्योल सिर्जना भयो।
कारण ३ : लामिछानेलाई हारको त्रास
अधिवेशनमा झमेला हुनुको अर्को कारण हो, लामिछानेले हार्ने डर। २०७९ फागुन ८ मा भएको रास्वपा बागमतीको निर्वाचनमा ३१ मतान्तरले विजयी भएका लामिछाने सोही जित दोहोर्याउन चाहन्छन्। सोही तयारीका साथ निर्वाचनमा होमिएका उनको माहोल बिग्रिएको लामिछानेको टीमले सुइँको पायो।
जेनजी उम्मेदवार अर्याल मैदानमा उत्रिएपछि लामिछाने गलिसकेका थिए। मंगलबार (हिजो) साँझ करिब ८:३० बजेतिर सञ्चारकर्मीहरुसँग गफिँदै लामिछानेले भनेका थिए, ‘खै दिउँसोसम्म त दुईजना मात्रै सभापतिको उम्मेदवार बन्ने हल्ला थियो। अहिले ५ जना पुग्नुभयो रे। साथीहरुले किन यसरी उम्मेदवारी दर्ता गरेका हुन्? भनेर म आफैँ अचम्ममा छु।’
उनको यो भनाइले नै उनको जितमा अन्य नेताले तगारो खडा गरे भन्ने पुष्टि गर्थ्यो। लामिछानेको मुख्य चुनौतीको रूपमा अर्याल भए पनि धादिङका शाक्य र रामेछापका खत्रीले आफ्नो मत बिगार्ने आकलनपश्चात् लामिछाने निकटका नेताहरू निर्वाचन प्रक्रिया अलमल्याउने योजना बुन्दै थिए। सोहीअनुरूप प्रतिनिधि छनोटको विषयलाई उत्कर्षमा पुर्याएर निर्वाचन प्रक्रिया टारेर निवर्तमान सभापति लामिछानेले राति अधिवेशनस्थल छोडेको रास्वपाका एक नेताले बताए।
अनि आयो स्थगितको सूचना
अधिवेशनस्थलमा प्रतिनिधिहरूले नाराबाजी गर्न थालेपछि केन्द्रीय निर्वाचन आयोग, रास्वपाका प्रमुख भुवन केसीले बागमती प्रदेशको प्रथम अधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया प्राविधिक तथा व्यवस्थापकीय कारणले अस्थायीरूपमा स्थगित गरिएको सूचना जारी गरे।
उनका अनुसार मतपत्रमा देखिएका केही त्रुटि सच्याउन, मतदाता नामावलीको अन्तिम प्राविधिक प्रमाणीकरण गर्न, करिब ४ सय जनाको समायोजन सूचीसम्बन्धी उजुरी तथा विवाद सम्बोधन गर्न र निर्वाचन समितिमा आवश्यक जनशक्ति थप गर्नुपर्ने भएकाले निर्वाचन प्रक्रिया स्थगित गरिएको बताइएको छ। आयोगले अधिवेशन रद्द नभएको स्पष्ट गर्दै निर्वाचन कार्यक्रम पुन: सञ्चालन हुने र जसका लागि २४ घण्टा अगावै सूचना जारी गरिने बताएको छ।
रास्वपाको विधानअनुसार दुई चरणमा निर्वाचन हुनेछ। पहिलो चरणमा सभापति र प्रदेश सदस्यहरूको निर्वाचन हुनेछ भने निर्वाचित सदस्यहरू मध्येबाट दोस्रो चरणमा पदाधिकारी चयन गरिने व्यवस्था छ। बागमती प्रदेशमा ६५ सदस्यीय प्रदेश समिति गठन हुनेछ।
Shares

प्रतिक्रिया