सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको सभापतिमा पाँच जनाले उम्मेदवारी दर्ता गरेका छन्।
मंगलबार हेटौँडामा जारी प्रथम अधिवेशनमा दुई सांसदसहित पाँच नेताले उम्मेदवारी दर्ता गराएका हुन्। निर्वतमान प्रदेश सभापति एवं रसुवाबाट निर्वाचित सांसद अच्युतम लामिछाने, काभ्रे २ बाट निर्वाचित सांसद बदन भण्डारी, धादिङका कृष्णमान शाक्य, रामेछापका हरि बहादुर खत्री र मकवानपुरका उत्सव अर्यालले उम्मेदवारी दर्ता गरेका हुन्।
लामिछाने रसुवाबाट निर्वाचित सांसद समेत हुन् भने बदन सार्वजनिक मामिला विभागको सचिव हुन्। मकावनपुरका अर्याल यसअघि प्रदेश कमिटीका प्रवक्ता हुन् भने कृष्णमान पार्टीको केन्द्रीय प्रशिक्षण विभागको सदस्य हुन्। रामेछापका खत्री भने पहिलो पटक राजनीतिमा होमिएका हुन्।
आकांक्षी नेताहरूबीच सहमति जुट्न नसक्दा निर्वाचन प्रक्रिया सुरु भएको हो। सभापति सहित अन्य पदाधिकारी र सदस्यहरुको लागि समेत निर्वाचन प्रक्रिया हुन लागेको रास्वपा नेताहरुले बताए।
रास्वपाको विधानअनुसार बागमती प्रदेशमा ६५ सदस्यीय प्रदेश समिति गठन हुनेछ। समितिमा एक जना सभापति, उपसभापति र महामन्त्री रहने व्यवस्था छ भने दुई जना सहमहामन्त्री रहनेछन्। सहमहामन्त्रीमध्ये एक महिला र एक पुरुष अनिवार्य हुनुपर्ने प्रावधान राखिएको छ।
त्यसैगरी कोषाध्यक्ष र प्रवक्तासहित पदाधिकारी चयन गरिनेछ। विधानअनुसार निर्वाचन भएमा दुई चरणमा मतदान हुनेछ। पहिलो चरणमा सभापति र प्रदेश सदस्यहरूको निर्वाचन हुनेछ भने निर्वाचित सदस्यहरू मध्येबाट दोस्रो चरणमा पदाधिकारी चयन गरिने व्यवस्था छ। मतदान प्रक्रिया अबको केही बेरमै सुरु हुने निर्वाचन परिचालन कमिटीले जनाएको छ।
Shares

प्रतिक्रिया