राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागमतीको १३ जिल्लामध्ये १२ जिल्लाको अधिवेशन सम्पन्न गरेको छ। बागमतीको सिन्धुपाल्चोक बाहेक १२ जिल्लाको अधिवेशन सम्पन्न गरेको हो। ७ जिल्लामा निर्वाचन प्रक्रिया मार्फत नेतृत्व चयन गरिएको हो भने ५ जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको हो।
काठमाडौँ, चितवन, दोलखा, धादिङ, सिन्धुली, रसुवा र नुवाकोटमा निर्वाचन प्रक्रियाबाट पदाधिकारीदेखि सदस्यसम्म चयन गरिएको हो। काभ्रे, रामेछाप, ललितपुर, भक्तपुर, मकवानपुरमा भने सर्वसम्मतमा नयाँ कार्यसमिति चयन भएको हो।
काभ्रेमा भने सचिव पदमा निर्वाचन भएको थियो। प्रदेशको १३ जिल्लामध्ये सिन्धुपाल्चोकमा भने जिल्ला अधिवेशन हुन सकेको छैन।
रसुवाको जिल्ला अधिवेशनबाट वसन्त भट्ट सभापतिमा निर्वाचित भएका छन्। भट्टले ६६ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी सविन सापकोटाले ४१ मत प्राप्त गरेका थिए।
रास्वपा नुवाकोटको जिल्ला सभापतिमा २५ वर्षीय रामेश्वर गजुरेल निर्वाचित भएका छन्। शनिबार सम्पन्न जिल्ला अधिवेशनमा खसेको ३२५ मतमध्ये उनले २५७ मत प्राप्त गर्दै प्रतिस्पर्धीहरूलाई फराकिलो अन्तरले पराजित गरेका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी शरण महतले ३७ र राजु लामिछानेले २८ मत प्राप्त गरेका थिए। यसअघि २१ वर्षको उमेरमै जिल्लाको तदर्थ नेतृत्व सम्हालेका गजुरेल भारी मतान्तरले विजयी भएका हुन्।
यस्तै, रास्वपा चितवनको अधिवेशनबाट इन्जिनियर मिनि माधव खनाल जिल्ला सभापतिमा निर्वाचित भएका छन्। अधिवेशनको अन्तिम मतपरिणामअनुसार खनालले २२२ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कृष्णप्रसाद भुषालले १११ मत प्राप्त गरे भने प्रकाश आचार्यले २२ मत पाए।
रास्वपा भक्तपुरको सभापतिमा रामेश्वर बस्नेत चयन भएका छन्। गत शनिबार भएको रास्वपा भक्तपुरको प्रथम अधिवेशनबाट बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो। उनी निर्विरोध निर्वाचित भएका हुन्।
काठमाडौँ जिल्ला सभापतिमा राजा शाक्य निर्वाचित भएका छन्। निर्वाचन समितिका अनुसार, शाक्यले २५१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी सुरेश सापकोटाले १८२ मत मात्रै प्राप्त गरे। उपसभापतिमा रवीन्द्र गौतम, सचिवमा सन्तमान महर्जन, सहसचिवमा सौरभ बस्नेत, सदस्यमा शम्शेरबहादुर श्रेष्ठ, केदारप्रसाद रैला र बलराम कार्की निर्वाचित भएका छन्।
रास्वपा ललितपुरको प्रथम अधिवेशनमा बुद्धरत्न महर्जन सभापतिमा निर्वाचित भएका छन्। आइतबार सम्पन्न प्रथम अधिवेशनले महर्जनको सभापतित्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो। समितिको उपसभापतिमा सोनिका तामाङ, सचिवमा कृष्ण सिजापति, सहसचिवमा अनुप सापकोटा निर्वाचित भए।
रास्वपा काभ्रे सभापतिमा प्रवीणकुमार ढकाल पुन: चयन भए। १३ सदस्यीय कार्यसमितिमा सचिवबाहेक सबै सर्वसम्मतिमा चुनिएका हुन्। अधिवेशनले उपसभापतिमा पुण्यमाता घिमिरे, सचिवमा गुणनिधि सापकोटा, सहसचिवमा प्रकाश तिमल्सिना तथा सदस्यहरूमा नवरान बोलखे, सरिता केसी, सुशीला खत्री, साजन श्रेष्ठ, विकास तोलांगे, नगेन्द्र डोटेल, जेनकुमार लामा, ताराबहादुर कुँवर र ङेमा लामालाई चयन गरेको छ।
मकवानपुरको सभापतिमा सञ्जीव पाठक चयन भए। पहिलो जिल्ला अधिवेशनबाट पाठकको नेतृत्वमा जिल्लासमिति सर्वसम्मत चयन गरिएको हो। अधिवेशनले उपसभापतिमा टाकाराज थापा, सचिवमा विशभ अधिकारी, सह–सचिवमा शान्ति थापा र सदस्य सम्झना पुडासैनी लगायतलाई चयन गरेको छ।
यता सिन्धुली सभापतिमा अविनाश बस्नेत चयन भएका छन्। अधिवेशनमा सहमति जुट्न नसकेपछि सभापतिसहित पदाधिकारी तथा केही सदस्य पदका लागि निर्वाचन गरिएको थियो। १८१ मत प्राप्त गर्दै बस्नेत सभापतिमा निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी वृखबहादुर बम्जन (अशोक)ले ८८ मत प्राप्त गरे भने कर्णबहादुर कार्कीले चार मत पाए। उपसभापतिमा रामचन्द्र अधिकारीले १०३, सचिव लालप्रसाद देवकोटाले (एलपी)ले १८६, सहसचिव दिनेशप्रसाद सापकोटाले १३० मत प्राप्त गरेका हुन्।
रामेछापमा पुरानै तदर्थ समितिलाई सर्वसम्मतरूपमा निरन्तरता दिइएको छ। शनिबार सम्पन्न अधिवेशनले लामो छलफल र सहमतिबीच यसअघि कार्यरत तदर्थ समितिलाई नै निरन्तरता दिने निर्णय गरेको हो। यहाँ सभापतिमा रमेशकुमार रायमाझी, उपसभापतिमा मोहन कार्की, सचिवमा दिलबहादुर थापा, सहसचिवमा टेकबहादुर सुनुवार र कोषाध्यक्षमा समीक्षा श्रेष्ठ छन्।
धादिङको जिल्ला सभापतिमा राजन अर्याल निर्वाचित भएका छन्। सभापति पदका लागि भएको चुनावी प्रतिस्पर्धामा अर्यालले आफ्ना निकटतम प्रतिस्पर्धी तथा निवर्तमान जिल्ला सभापति सूर्यमणि पाठक र अर्का उम्मेदवार रामकुमार थपलियालाई पराजित गर्दै विजय हासिल गरेका हुन्।
जिल्ला उपसभापति पदमा लिला श्रेष्ठलाई पछि पार्दै श्रवण त्रिपाठी विजयी भएका छन्। जिल्ला कार्यसमितिको सचिव पदमा कल्पना श्रेष्ठ र विदुर अधिकारीलाई पराजित गर्दै राम भण्डारी निर्वाचित भएका छन्। सहसचिवमा श्रीराम आचार्य विजयी भएका छन्।
दोलखाको शनिबार सम्पन्न अधिवेशनले दिनेश बस्नेत सभापतिमा चुनिएका छन्। समितिको उपसभापतिमा हिरण्यप्रसाद उप्रेतीलाई पराजित गर्दै कृष्णबहादुर खड्का निर्वाचित भएका छन्। खड्का तदर्थ समितिको उपसभापतिको जिम्मेवारीमा थिए। सहसचिवमा अर्जुन कार्की निर्वाचित भएका छन्।
सिन्धुपाल्चोकमा किन रोकियो अधिवेशन?
बागमती प्रदेशको १३ मध्ये १२ जिल्लाको अधिवेशन सम्पन्न हुँदा सिन्धुपाल्चोकमा भने अधिवेशन हुन सकेको छैन। शनिबारका लागि तय भएको अधिवेशन स्थगन गरिएको हो। रास्वपा बागमती प्रदेशको महामन्त्री सुरेन्द्र भट्टका अनुसार शनिबार बन्द सत्र सकिएको थियो। तर, सभापति पदकै आकांक्षीहरू धेरै भएपछि सहमति जुटाउन नसकिएको उनले बताए।
‘शनिबार निर्वाचन प्रक्रिया सुरु गर्न नसकिएपछि आइतबार काभ्रेका सांसद मधु चौलागाईको संयोजकत्वमा केन्द्रीय टोली सिन्धुपाल्चोक पुगेको थियो,’ उनले भने, ‘तर आकांक्षीहरू नै तोकिएको स्थानभन्दा बाहिर ३ ठाउँमा भेला राख्नुभएछ। केही गरी पनि सहमति जुटाउन नसकिएपछि प्रदेश अधिवेशन सकेर मात्रै सिन्धुपाल्चोकको अधिवेशन गर्ने सोचेका छौँ।’
उनका अनुसार पाँच जना सभापतिको आकांक्षी छन्। रास्वपाको बागमती प्रदेश अधिवेशन मंगलबारदेखि हेटौँडामा सुरु हुँदैछ। जसका लागि रास्वपा सभापति रवि लामिछानेको प्रमुख आतिथ्यतामा प्रदेश अधिवेशन हुन लागेको हो।
Shares

प्रतिक्रिया