ad ad

बागमती


९ महिना बजेट विवादमा रुमलिएको एमालेलाई बजेटकै जिम्मेवारी, प्रतिपक्षलाई रिझाउन सक्ला?

९ महिना बजेट विवादमा रुमलिएको एमालेलाई बजेटकै जिम्मेवारी, प्रतिपक्षलाई रिझाउन सक्ला?

सुनिता विष्ट
जेठ २९, २०८१ मंगलबार २१:०, हेटाैँडा

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट ल्याउँदै छ। आउँदो असार १ गते अपरान्ह ४ बजेका लागि आह्वान भएको प्रदेश सभा बैठकमा अर्थमन्त्री जगन्नाथ थपलियाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ।

चालू आर्थिक वर्षमा ६२ अर्बको बजेट ल्याएको प्रदेश सरकारले आगामी वर्षका लागि पनि सोही हाराहारीको हुने बताएको छ। प्रदेश सरकारले राजस्व संकलन दर न्यून रहेको भन्दै चालु आर्थिक वर्षकै हाराहारीमा आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको अर्थमन्त्री थपलियाले बताए।

उनका अनुसार प्रदेशको बजेट ६० अर्बको हाराहारीमा हुनेछ।  

त्यसोत, चालू आर्थिक वर्षको बजेट ल्याउँदा नेकपा एमाले प्रमुख प्रतिपक्षी दलको भूमिकामा थियो। प्रमुख प्रतिपक्षी दलको नेता थिए थपलिया। नेपाली कांग्रेसका बहादुर सिंह लामा अर्थमन्त्री थिए। लामाले चालु आर्थिक वर्षको बजेट सदनमा प्रस्तुत गरेका थिए। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी गरि तीन दलको सत्ता गठबन्धन थियो।

उतिबेला कांग्रेसले ल्याएको बजेटमा एमाले चालु आर्थिक वर्षको ९ महिना अर्थात् साउनदेखि चैतको दोस्रो हप्तासम्म बजेटकै बिवादमा रुमलियो।

एमालेलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को साथ थियो। बजेट सन्तुलित नभएको भन्दै बिवाद गर्ने एमालेको काँधमा अब प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई कसरी रिझाउने? भन्ने चुनौती छ।

यता, सरकार पक्षको ५७ सिट मात्रै छ। बजेट पास गराउनदेखि बजेटमा सबै दलको चित्त बुझाउनै पर्ने देखिन्छ। त्यसलाइ ध्यानमा राखेरै सन्तुलित बजेट ल्याउने तयारीमा आफूहरु रहेको प्रदेश अर्थमन्त्री जगन्नाथ थपलिया बताउँछन्।

बजेट सदनमा प्रस्तुत भैसकेपछि बिवाद नहोस् भन्ने उदेश्यले नीति तथा कार्यक्रम तयार गर्दादेखि नै आफू प्रतिपक्षी दलहरुसँगको छलफलमै रहेको उनको भनाइ छ। 

‘बागमती प्रदेशको बजेट एकदमै सन्तुलित आउँछ, मन्त्रीको क्षेत्र तथा सरकार पक्षका सांसदको क्षेत्रमा मात्रै पोख्ने खालको बजेट हामी ल्याउँदैनौं’, अर्थ मन्त्री थपलियाले भने, ‘तत्कालिन सरकारले ल्याएको जस्तो बिवेदपूर्ण बजेट ल्याउने हाम्रो कसरत छैन्। सबैलाई चित्तबुझ्दो, नागरिकहरुको पहुँचमा पुग्ने, उत्पादनको क्षेत्रमा जोडिने तथा प्रदेशमा आफ्नै आर्थिक स्रोत सुनिश्चित गर्ने क्षेत्र समेट्ने बजेट ल्याउँदैछौं। मलाई थाहा छ यो बजेटमा प्रतिपक्षी दलहरु सन्तुष्ट बन्नुहुनेछ।’

यता, सरकारले कस्तो बजेट ल्याउँछ त्यो हेरेर मात्रै के गर्ने भन्न सकिने अवस्था रहेको प्रमुख प्रतिपक्षी दल कांग्रेस बताउँछ।

‘हामी बागमती प्रदेश सभाको सबैभन्दा ठुलो दल हौं,’ कांग्रेस बागमती संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले भने,  ‘त्यो विचार गरेर सबै दल र क्षेत्रलाई समेट्ने बजेट आयो भने बजेट पास गर्न हाम्रो आपत्ती रहँदैन। यदी त्यसाे भएन भने जस्तो स्थिती पनि सिर्जना हुन सक्छ।’ 

कस्तो बजेट चाहन्छन् त प्रतिपक्षी?
बजेट कनिका छरेजस्तो हुनुहुन्न : कांग्रेस

बागमती प्रदेश सरकारले ल्याउने बजेट उत्पादनशिलतासँग जोडिनुपर्ने प्रदेश सरकारको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अपेक्षा राखेको छ।

‘प्रदेशमा ल्याइने बजेट कनिका छरेजस्तो हुनुहुन्न भनेर मुख्यमन्त्रीज्यू र अर्थमन्त्रीज्यूलाई भेटेरै भनेको छु,’ कांग्रेस बागमती संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले भने, ‘मुलतः हामी सन्तुलीत बजेटको प्रतिक्षामा छौं। उत्पादन वृद्धि गर्ने, रोजगार सिर्जना गर्ने, सीप विकासमा जोड दिने तथा प्रदेशको आर्थिक उन्नोती गर्ने बजेट ल्याउनु पर्छ भन्ने हाम्रो माग हो।’

चित्रकारले थपे, ‘बजेट ल्याउनका लागि मात्रै ल्याउने होइन। आर्थिक बृद्धिदर बढाउने खालको कार्यक्रमहरूमा खर्च गर्नुपर्छ। मन्त्रीको निर्वाचन क्षेत्र केन्द्रीत बजेट नहोस् भन्ने कांग्रेसको मान्यता हो।’

प्रदेश सभाको सबैभन्दा ठूलो दलको (३७ सिट) हैसियतमा रहेको कांग्रेस आफूहरूले सुझाए अनुसारकै बजेट सरकारले ल्याउनेमा आशावादी रहेको बताउँछन्।

बिचौलियामुक्त होस् : नेमकिपा
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) प्रदेश सरकारले ल्याउने बजेटमा सर्वप्रथम त बिचौलियाको रजगज कम हुनुपर्ने बताउँछ। नेमकिपा बागमती संसदीय दलका नेता सुरेन्द्रराज गोसाइँले बिचौलियको रजगजका कारण वास्तवित क्षेत्रसम्म बजेट नपुगेकोमा चिन्ता व्यक्त गरे।

नेमकिपाले पनि अन्य दलले जस्तै सन्तुलित बजेटको अपेक्षा गरेपनि पूर्ण सन्तुलित बजेट आउनेमा भने ढुक्क नरहेको नेता गोसाइँले बताए।

‘बजेट ल्याउन पहिला जे जति बेथिति थिए, त्यसलाई सर्वप्रथम सुधार गर्नुपर्छ भन्ने हाम्रो माग हो,’ उनले भने, ‘सरकारमा रहेका दलका सांसद र मन्त्रीहरूको निर्वाचन क्षेत्रमा मात्रै विकास पुर्याउने खेल बन्द हुनपर्छ। उत्पादनसँग जोडिने क्षेत्रमा लगानी गर्नुपर्छ भने निर्वाचन क्षेत्रको भौगोलिक अवस्था, पिछडिएका समुदायलाई मुलधारमा ल्याउने कार्यक्रम जस्ता क्षेत्रलाई समेटेर बजेट ल्याउन सकोस् भन्ने अपेक्षा गरेका छौं।’

उनले थपे, ‘प्रदेश सरकारले सधैं केन्द्रको मुख ताकेर बजेट बनाउने भन्दा पनि आफ्नै स्रोतको पहिचान गरेर सोही अनुसारको बजेट ल्याउने ल्याकत राख्नुपर्ने हो। छैठौं वर्षको बजेट ल्याउँदा पनि यो स्वाद चाख्न पाइएको छैन। हेरौं सातौं वर्षको बजेट कस्तो आउँछ?’

सबैलाई समेट्न सकोस् : राप्रपा
यता, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बजेटले सबै प्रदेशवासीलाई समेट्न सकोस् भन्ने चाहन्छ। राप्रपा संसदीय दलका उपनेता गिरबहादुर तामाङका अनुसार राप्रपाले पहिलो प्राथमिकतामा सबै समुदायलाई समेट्ने बजेटको माग गरेको छ।

‘हामी हिन्दुधर्ममा विश्वास गर्ने दल हौं, त्यसैले धार्मिक धामहरूलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न माग पर्छ भन्ने अपेक्षा सहितको योजना बुझाएका छौं,’ उनले भने, ‘प्रदेशमा सभामुखसहित १३ सिट रहेको राप्रपा टाउको गन्न मात्रै होइन भन्ने बुझ्नुपर्छ। हामी पनि दलीय हैसियतमा छौं। त्यसैले बजेट सन्तुलित, समान्तर र नागरिकमुखी आउनुपर्छ।’

११० सदस्यीय बागमती प्रदेशसभामा नेकपा माओवादी केन्द्र, नेकपा एमाले, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी (हानेपा) सरकारमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .