ad ad

बागमती


बिमा रकम फुत्काउन आफ्नै पसलमा चोरी भएको अभिनय गर्दा...

बिमा रकम फुत्काउन आफ्नै पसलमा चोरी भएको अभिनय गर्दा...

पसल सञ्चालकसहित पक्राउ परेका ५ जना


नेपालखबर
असार १९, २०८१ बुधबार ११:३५, चितवन

बिमा रकमको लोभमा आफ्नै पसल लुटपाट भएको अभिनय गर्ने पसल सञ्चालकसहित पाँच जना पक्राउ परेका छन्।

यही असार १ गते साँझ कालिका नगरपालिका वडा नम्बर ६ खोलेसिम लस्थित विनोद सुनचाँदी पसलमा लुटपाट गरेको आरोपमा पसलका सञ्चालकसहित पाँच जना मंगलबार पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा विनोद सुनचाँदी पसलका सञ्चालक कालिका नगरपालिका–६ का ३५ वर्षीय विनोद सुनार, चोरी गर्न सहयोग गर्ने पसलका व्यवस्थापक कालिका नगरपालिका वडा नम्बर ७ का २५ वर्षीय विजय विश्वकर्मा, चोरी गर्ने म्याग्दी गाउँपालिका वडा नम्बर ७ का ५० वर्षीय पूर्णबहादुर विश्वकर्मा र बारागढी नगरपालिका वडा नम्बर ४ का १८ वर्षीय पवनकुमार पासवान एवं चोरी भएको सामान लुकाउन सहयोग गर्ने कालिका-६ का ४२ वर्षीय अञ्जना पुडासैनी केसी छन्।

लुटपाटको मुख्य योजनाकार पसल सञ्चालक, चोरी गर्न सहयोग गर्ने र सामान लुकाउन सहयोग गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोको सहयोगमा उनीहरूलाई पक्राउ गरिएको हो।

पसल सञ्चालक विनोद  स्वयंमले झुटा चोरी तथा लुटपाट गर्ने योजना बनाई बिमा रकम ठगी तथा विभिन्न व्यक्तिबाट लिएको ऋण रकम चोरी भएको देखाई जालसाजी गरी फाइदा लिने मनसायले लुटपाट गर्न लगाएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भावेष रिमालले बताए।

बिमा दाबी गर्न पसल सञ्चालक आफैँले घटना गराएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाउँदै उनले मोटरसाइकलमा चोरी गर्न आउने व्यक्तिलाई प्रलोभनमा पारेर घटना गराएको देखिएको रिमालले बताए। 

धारिलो हतियार खुकुरी र चक्कु घाँटीमा राखी डरत्रास देखाइ पसलबाट रु दुई करोड १७ लाख ५४ हजार चार सय १५ बराबरको सुनचाँदीका गहना चोरी भएको पसल सञ्चालकले दाबी गरेका थिए।

चोरी भएको सुनको गुणस्तर परीक्षण हुन बाँकी छ। पक्राउ परेका व्यक्तिका विषयमा थप अनुसन्धान गर्न प्रहरीले चितवन जिल्ला अदालतबाट छ दिनको म्याद पाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .