ad ad

बागमती


तीन पटक विश्वासको मत लिएर १८ महिना सत्ता जोगाएका जम्कट्टेलको पद संकटमा

तीन पटक विश्वासको मत लिएर १८ महिना सत्ता जोगाएका जम्कट्टेलको पद संकटमा

सुनिता विष्ट
असार १८, २०८१ मंगलबार १६:३२, हेटाैँडा

सोमबार राति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको सहमतिसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार संकटमा छ।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड आफ्नो नेतृत्व जोगाउनका लागि यतिबेला दौडधुपमा छन्। सत्ताच्यूत हुने त्रासमा छन् उनी।

यस्तै त्रासमा छन् बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल पनि।

प्रदेश सरकारको दोस्रो कार्यकालको सुरुवातदेखि नै नेतृत्वको स्वाद चाख्न पाइरहेका मुख्यमन्त्री जम्कट्टेलको पद यतिबेला धरापमा परेको छ।

जम्कट्टेलको प्रदेश संसदीय यात्राको यो दोस्रो कार्यकाल हो। पहिलो कार्यकालमा पनि प्रदेश सभामै निर्वाचित भएका थिए। अघिल्लो कार्यकालमा पनि माओवादी संसदीय दलका नेता रहेका उनी माओवादीको पोल्टामा मुख्यमन्त्रीको चिठ्ठा परे नेतृत्व पाउने दाउमा थिए। तर उतीबेला त्यस्तो अवसर पाएनन्।

उनले पहिलो कार्यकालमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय र केही समय अर्थमन्त्रीको जिम्मेवारी सम्हाले।

एमाले बागमती संसदीय दलका नेता डोरमणि पौडेल करिब ४ वर्ष मुख्यमन्त्री बनेपछि सरकार परिवर्तन हुँदा नेकपा एकीकृत समाजवादीले बागमतीको नेतृत्व पायो। सातै प्रदेशको भागबण्डा अनुसार एकीकृत समाजवादीका तत्कालीन संसदीय दलका नेता राजेन्द्रप्रसाद पाण्डे पहिलो कार्यकालको अन्त्यको एक वर्ष मुख्यमन्त्री बने। जम्कट्टेलले रहर गरेपनि पालो पाएनन्।

पहिले कार्यकाल मुख्यमन्त्री नपाएका उनी ४ मंसिर २०७९ को आम निर्वाचनमा धादिङ निर्वाचन क्षेत्र १(ख) बाट फेरि प्रदेश सभा सदस्य पदका लागि होमिए। एमालेका गजेन्द्र थपलियालाई ७ हजार ४२५ मत अन्तरले पराजित गर्दै जम्कट्टेल विजयी भए। त्यसपछि सुरु भयो उनको उपलब्धिमुलक राजनीतिक यात्रा।

१४ पुस २०७९ मा प्रदेश सांसदहरूले शपथ लिएसँगै सुरु भयो सरकार गठनको प्रक्रिया। बागमतीको नेतृत्वका लागि जम्कट्टेल र एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलियाबीच रस्साकस्सी चलेपनि भागबण्डामा जम्कट्टेलले बाजी मारे।

२५ पुस २०७९ मा मुख्यमन्त्री नियुक्त भएका उनले त्यसको भोलिपल्ट पद तथा गोपनियताको शपथ लिए। त्यसबेलादेखि सुरु भएको यो १८ महिनाको यात्रामा तीनपटक सदनबाट विश्वासको मत लिइसकेका छन्। केन्द्रीय सत्ता समीकरणमा पटक/पटक आएको उथलपुथलका कारण तीनपटक विश्वासको मत लिनुपर्ने स्थिती सिर्जना भयो।

जम्कट्टेलले २०७९ माघ ३ गते पहिलो पटक विश्वासको मत लिएका थिए भने एमालेले सरकार छाडेपछि पुनः सोही वर्ष चैत १० गते दोश्रो पटक विश्वासको मत लिएका थिए। तेस्रोपटक १९ चैत २०८० मा विश्वासको मत पाएका थिए।

सत्ता टिकाउन बारम्बार धौ-धौ परेपनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका विश्वासपात्र उनले नेतृत्वबाट व्याक हुनै परेन।

अन्य प्रदेशको नेतृत्व परिवर्तन भैरहँदा बागमती सरकारको नेतृत्वले स्थितरता पायो। तर राजनीतिमा नयाँ मोड आएसँगै अब जम्कट्टेलको मुख्यमन्त्री यात्रामा ब्रेक लाग्ने सम्भावना बढेको छ।

केन्द्रमा प्रचण्ड सरकारको नेतृत्व ढल्ने निश्चित भएसँगै बागमतीमा जम्कट्टेललको पद धरापमा परेको छ। माओवादी सरकारबाट बाहिरिँदा जम्मकट्टेल प्रमुख प्रतिपक्षी दलको नेताको भूमिकामा रहनेछन्।

अब कांग्रेस–एमालेको सत्ता गठबन्धनमा बागमतीको नेतृत्व एमालेको भागमा परे संसदीय दलका नेता जगन्नाथ थपलिया मुख्यमन्त्री बन्नेछन्। यदी कांग्रेसको भागमा पर्‍यो भने कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा नयाँ मुख्यमन्त्री बन्ने सम्भावना छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .