अटो


‘कारखाना तथा वर्कशप सञ्चालन निर्देशिका’ डेढ वर्षदेखि यातायात विभागमै अलपत्र

‘कारखाना तथा वर्कशप सञ्चालन निर्देशिका’ डेढ वर्षदेखि यातायात विभागमै अलपत्र

बसन्त अर्याल
कात्तिक ४, २०७६ सोमबार १२:३०,

यातायात व्यवस्था विभाग र अटोमेकानिक्स व्यवसायीले डेढ वर्षअघि नै जारी भएको ‘कारखाना तथा वर्कशप सञ्चालन निर्देशिका’ कार्यान्वयनमा बेवास्ता गरेका छन्। सरकारले कारखाना र वर्कशपलाई व्यवस्थित बनाउन निर्देशिका जारी गरे पनि व्यवसायी र विभागको कुरो नमिल्दा निर्देशिका कार्यान्वयन अलपत्र बनेको हो।

विभागले २०७४ चैतमा ‘कारखाना तथा वर्कशप सञ्चालन निर्देशिका २०७४’ जारी गरेको थियो। यसमा वर्कशप व्यवसायीलाई छ वर्गमा विभाजन गरी कुन वर्गको वर्कशपले के–के मापदण्ड पालना गर्नुपर्ने उल्लेख गरेको छ।
तर निर्देशिका जारी भएको डेढ वर्ष भइसक्दा पनि कार्यान्वयन हुनसकेको छैन। निर्देशिकामा छ महिनाभित्र दर्ता नभए वर्कशप बन्द गर्ने व्यवस्था छ। तर विभागले व्यवसायीलाई पत्र पठाउने कामबाहेक अरु केही पनि गर्नसकेको छैन ।

यातायात व्यवस्था विभागका प्रविधिक निर्देशक प्रेम कुमार सिंहले दर्ता हुनको लागि सूचना जारी गरिसकेकाले अब दर्ता नहुनेलाई कारबाही गर्ने बताए। तर वर्कशप व्यवसायीहरुले भने विभागले जारी गरेको निर्देशिका अव्यावहारिक भएकाले दर्ता हुन नसक्ने दाबी गर्दै आएका छन्।

नेपाल अटोमेकानिक्स व्यवसायी महासंघका महासचिव ठाकुर प्रसाद न्यौपानेले निर्देशिकाका कतिपय विषय राम्रो भए पनि मापदण्ड ठूला उद्योगलाई हेरेर ल्याइएको बताए।

‘साना तथा स्वरोजगार उद्योगलाई उपेक्षा गरी मापदण्ड भएकाले हामी व्यवसायी निर्देशिकाअनुसार दर्ता हुनसक्दैनौं’, उनले नेपालखबरसँग भने, ‘निर्देशिकालाई व्यावहारिक बनाउन हामीलाई यो–यो कुरा चाहिन्छ भनेर विभागमा दिएका छौं तर आजसम्म पनि कुनै छलफल नै भएको छैन।’

तर विभाग व्यवसायीको कुरामा सहमत छैन। विभागका इन्जिनियर मोहन भट्टराईले निर्देशिका वर्कशप व्यवसायीहरुकै सहमतिमा आएकाले अहिले त्यसको विरोध गर्नु ठीक नभएको बताए। उनले व्यवसायीहरु आफ्नो व्यवसाय दर्ता गर्न अटेर गरेको भन्दै कुनै मापदण्ड अव्यावहारिक भए त्यसलाई विभागले सच्याउन सक्ने बताए।

उनले भने, ‘विभागले सबैलाई एकै पटक चित्त बुझाउन त सक्दैन तर व्यवसायीलाई कुनै समस्या भए त्यसमा विभागले छलफल गर्न तयार छ।’ हरेक वर्कशपले एउटा इन्जिनियर राख्नुपर्ने व्यवस्था व्यावहारिक नभएको महासचिव न्यौपानेको भनाइ छ।

‘नेपालमा १० हजार अटो वर्कशप भएको र नेपालमा इन्जिनियरिङ परिषदबाट मेकानिकल इन्जिनियरका लाइसेन्स लिएका ४ हजार ७ सय ९८ जना र अटो मोबाइल इन्जिनियर ५० जना मात्र छन्’, उनले भने, ‘यसमा पनि कति विदेश गएका छन्, स्पष्ट तथ्याङ्क छैन। सबै वर्कशपमा कसरी पुग्छन् इन्जिनियर?’

तर निर्देशिकामा इन्जिनियर पार्टटाइम राख्न सक्ने व्यवस्था छ नि भन्ने नेपालखबरको प्रश्नमा उनले भने, ‘मापदण्ड नेपालभरमा लागू भएको हो। पार्टटाइम भए पनि राख्नसक्ने व्यवस्था छ। तर जुम्लामा दुई ठाउँमा वर्कशप छ। मुस्ताङमा एक ठाउँमा मात्र छ। त्यहाँ इन्जिनियर कसरी राख्ने? यदि प्रतिफल आउँदैन भने कसैले व्यवसाय गर्दैन। त्यसैले विभागले व्यवसायीले न्यूनतम प्रतिफल आउने गरी मापदण्ड बनाउनुपर्छ।’

उनले पार्टटाइम इन्जिनियर राख्दा वर्कशपमा बनाएको गाडीमा समस्या आए इन्जिनियरले जिम्मा लिने कि वर्कशपले जिम्मा लिने भनी प्रतिप्रश्न गरे।

मेकानिकल इन्जिनियर सुशील तन्डुकारले पनि विभागले जारी गरेका सबै वर्कशपले मापदण्ड पूरा गर्न असम्भव रहेको बताएका छन्। विभागले निर्देशिकालाई व्यावहारिक बनाए साना वर्कशप पनि दर्ता भई यो क्षेत्र व्यवस्थित हुने अपेक्षा गरे।

निर्देशिकामा वर्कशपलाई छवटा खण्डमा विभाग गरेर मापदण्डहरु तोकेको छ। सबैखालका वर्कशपहरु सडक सीमाभन्दा बाहिर निर्माण गर्नुपर्ने, त्यसैगरी पर्खाल र तारबार घेर्नुपर्ने व्यवस्था अनिवार्य गरिएको छ। वर्कशप वरपर फोहोर व्यवस्थापन गर्नुपर्ने, सवारी राख्न पर्याप्त स्थान हुनुपर्ने पर्याप्त मेसिनरी र औजारहरु हुनुपर्नेलगायतका व्यवस्थाहरु गरिएका छन्।

वर्कशपमा अग्नि नियन्त्रक सिस्टम राख्नुपर्ने प्राथमिक उपचारको टुल बक्स राख्नुपर्नेलगायतका नियमहरु पनि ल्याइएका छन्। वर्कशपको प्रकृतिअनुसार कति क्षेत्रफल हुनुपर्ने भन्ने पनि तोकिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad