World Cup 2026


विश्वकपमा बद्लिएको नियमबीच कीर्तिमानको पर्खाइमा मेस्सी, पछ्याउँदै एमबाप्पे

विश्वकपमा बद्लिएको नियमबीच कीर्तिमानको पर्खाइमा मेस्सी, पछ्याउँदै एमबाप्पे

लक्ष्मी जि.सी
असार ८, २०८३ सोमबार १८:५७, काठमाडौँ

विश्वकप फुटबलअन्तर्गत समूह चरणका खेल जारी रहँदा फिफाले नियम परिवर्तन गरेको छ। अब एउटै समूहका दुई टोलीको बराबरी अंक भएमा गोलअन्तरको सट्टा ‘हेड टु हेड’का आधारमा निर्णय हुनेछ। विश्वकपमा यो नियम पहिलो पटक लागू गरिएको हो। 

दोस्रो चरणका खेल चलिरहँदा आएको यो नियमले समूह चरणको अन्तिम खेलमा ठूलो प्रभाव पार्न सक्नेछ। नियम परिवर्तनको प्रभाव दोस्रो चरणका खेलबाट नै देखिन थालेको छ। 

स्पेन शीर्षस्थानमा, केप भर्डेको प्रशंसा
गए राति भएको खेलमा स्पेनले एसियाली टोली साउदी अरबमाथि ४-० गोल अन्तरको फराकिलो जित निकालेको छ। बार्सिलोनाका युवा स्टार लामिन यामलको गोलमा स्पेनले खेलको १०औँ मिनेटमै सुरुवाती अग्रता बनाएको थियो। २१औँ र २४औँ मिनेटमा मिकेल ओयरजावालले दुई गोल गर्दा स्पेनले पहिलो हाफमै ३-० को फराकिलो अग्रता बनायो। 

त्यसपछि यामलसहित आफ्ना प्रमुख रोजाइका खेलाडीलाई विश्राम दिँदा स्पेनले दोस्रो हाफमा भने एक गोल मात्रै थप्यो। स्पेनले पाएका केही सुन्दर अवसरलाई पनि गोलमा परिणत गर्न सकेन। 

खेलको ४९औँ मिनेटमा साउदी अरबका हसनले आत्मघाति गोल गर्दा स्पेनले ४-० गोल अन्तरले जित निकाल्यो। 

स्पेनसँगको हारसँगै साउदी अरब एक अंकसहित तालिकाको पुछारमा छ। पहिलो खेलमा नवप्रवेशी केप भर्डेसँग बराबरीमा रोकिएको स्पेन भने यो जिसँगै तालिकाको शीर्ष स्थानमा पुगेको छ। 

समूह ‘एच’मा रहेको स्पेनको चार अंक छ। अहिलेसम्म शीर्षस्थानमा भए पनि स्पेनको नकआउटमा पुग्ने भने पक्का भइसकेको छैन।

समूहका अन्तिम चरणका खेलपछि मात्रै यो समूहबाट नकआउटमा पुग्ने टोलीको टुंगो लाग्नेछ। अब स्पेनले अन्तिम खेलमा उरुग्वेसँग खेल्नेछ। 

यही समूहको अर्को खेलमा उरुग्वेलाई केप भर्डेले २-२ गोलको बराबरीमा रोकेको छ। खेलमा सुरुवाती अग्रता भने केप भर्डेले बनाएको थियो। खेलको २१औँ मिनेटमा केभिन पिनाको गोलमा अग्रता लिएको केप भर्डे पहिलो हाफमै २-१ गोलले पछि पर्‍यो।  

तर उरुग्वेका डिफेन्डर र गोल रक्षकको गल्तीको फाइँदा उठाउँदै केप भर्डे ६१औँ मिनेटमा खेलमा फर्कियो। त्यसपछि दुई पटकको विश्वविजेता उरुग्वेका प्रहार विफल बनाउँदै केप भर्डे अर्को अंक थप्न सफल भयो। 

विश्वकपमा डेब्यु गरेको केप भर्डेले बलिया मानिएका स्पेन र उरुग्वेलाई बराबरीमा रोक्दा मजबुद टोलीका रुपमा देखिएको छ। 

केप भर्डेका गोलरक्षक भोजिन्हा।

यस्तै केप भर्डेको मैदानबाहिर पनि उतिकै चर्चा भइरहेको छ। यो खेलमा पनि केप भर्डेको प्रदर्शनको मात्रै चर्चा भएन, गोलरक्षक भोजिन्हाले आफ्नी आमालाई खेल हेर्न रंगशालामा पुर्‍याए। यसअघि अमेरिकाको भिसा नपाउँदा पहिलो खेल हेर्न आमाले नपाएको भन्दै उनी भावुक बनेका थिए। 

यस्तै समूह ‘जी’मा पनि बेल्जियम र इरानले गोलरहित बराबरी खेलेका छन्। बलियो मानिएको बेल्जियम १० खेलाडीमा सीमित हुँदा गोलरहित बराबरीमा रोकिएको हो। डिफेन्डर नाथन एनगोय ६१औँ मिनेटमा सिधै रेडकार्ड पाउँदै मैदान छाडेका थिए। यसअघि पहिलो खेलमा बेल्जियमले इज्पिटसँग बराबरी खेलेको थियो। 

इजिप्टले भने सोमबार बिहान न्युजिल्यान्डलाई ३-१ गोल अन्तरले हराएको छ। न्युजिल्यान्डमाथिको जितसँगै मोहम्मद सलाहको देश इजिप्ट चार अंकसहित तालिकाको शीर्ष स्थानमा पुगेको छ। समान दुई अंक भएका इरान दोस्रो र बेल्जियम तेस्रो स्थानमा छन्। एक अंकसहित न्युजिल्यान्ड चौथो स्थानमा छ। 

कीर्तिमानको पर्खाइमा मेस्सी र पछ्याउँदै एमबाप्पे
विश्वकपमा आज राति र भोलि बिहान समूह ‘आई’ र ‘जे’का खेल हुनेछन्। यी दुई समूहमा साविक विजेता अर्जेन्टिना र उपविजेता फ्रान्स पनि छन्। पहिलो खेलमा दुवै टोलीले स्पष्ट जित हात पार्दा अरु टोलीमा भने दबाब थपिएको छ।

समूह ‘आई’का सेनेगल र इराक तथा समूह ‘जे’ का जोर्डन र अल्जेरियालाई स्पष्ट जितको आवश्यक छ। हारको नतिजाले यी टोली समूह चरणबाट नै घर फर्कनुपर्नेछ। 

सोमबार राति अर्जेन्टिना र अस्ट्रिया भिड्दै छन्। यो खेल राति पौने ११ बजे सुरु हुनेछ।

समूह चरणको पहिलो खेलमा अर्जेन्टिनाले कप्तान लियोनल मेस्सीको ह्याट्रिकमा अल्जेरियालाई ३-० गोल अन्तरले सहजै हराएको थियो। अस्ट्रियाले पनि जोर्डनलाई ३-१ गोल अन्तरले पराजित गरेको थियो। 

समूह चरणको पहिलो खेलमा नै जित निकाल्दै तीन अंक बटुलेका यी दुवै टोलीका लागि आज रातिको खेल ‘नक आउट’का लागि निर्णायक हुनेछन्। 

किनकि, यो खेलको विजेताले एक खेलअघि नै नकआउटमा स्थान बनाउँदा पराजित हुने टोलीले भने समूह चरणको अन्तिम खेलसम्म पर्खनुपर्नेछ। आज पराजित हुने टोलीलाई समूहको अन्तिम खेलमा दबाब थपिनेछ। त्यसैले दुवै टोली अन्तिम खेलअघि नै नकआउट पक्का गर्ने योजनासहित मैदान उत्रिनेछन्। 

पहिलो खेलमा सानदार प्रदर्शन गरेका मेस्सीमाथि सबैको नजर हुनेछ। विश्वकपमा पहिलो ह्याट्रिकसहित थुप्रै कीर्तिमान बनाएका मेस्सी पनि आजको खेलमा पहिलेकै लयमा देखिन चाहन्छन्।

अर्जेन्टिनी टोलीको टिम गेमको सहयोगमा मैदानमा मेस्सीको प्रदर्शन उत्कृष्ट देखिएको छ। फरवार्ड लाइनमा मेस्सीलाई साथ दिन लौटारो मार्टिनेज र थिएगो अल्माडाले नै साथ दिन सक्नेछन्। अस्ट्रियाविरुद्ध पनि गोल गर्न सके मेस्सीले अर्को कीर्तिमान बनाउनेछन्। 

पहिलो खेलमा ह्याट्रिक गर्दा जर्मनीका मिरोसलाभ क्लोजसँग सर्वाधिक गोलमा बराबरी गरेका मेस्सीलाई कीर्तिमानका लागि एक गोल आवश्यक छ। क्लोज र मेस्सीले समान १६ गोल गरेका छन्। मेस्सीको कीर्तिमानका लागि पनि यो खेल महत्त्वपूर्ण हुनेछ। 

अर्को खेलमा पौने ३ बजे साविक उपविजेता फ्रान्स इराकसँग भिड्नेछ। पहिलो खेलमा सेनेगललाई ३-१ गोलले हराएको फ्रान्स तीन अंकसहित तालिकाको दोस्रो स्थानमा छ। इराकले पहिलो खेल नर्वेसँग ४-१ गोलले गुमाएको थियो। क्लोज र मेस्सीलाई पछ्याइरहेका फ्रान्सका कप्तान केलियन एमबाप्पलेले दुई गोल गरेका छन्। 

समूह ‘आई’ मा नर्वे र फ्रान्सको खेल बहुप्रतिक्षित हो तर यो खेलका लागि समूह चरणको अन्तिम खेल पर्खनुपर्नेछ। 

मंगलबार बिहान पौने ६ बजे नर्वे र सेनेगल भिड्नेछन्। समूह चरणको पहिलो खेलमा इराकमाथि ४-१ गोल अन्तरको जित हात पारेको नर्वे तालिकाको शीर्ष स्थानमा छ। विश्वकपमा डेब्यु गरेका एर्लिङ हलान्डले पहिलो खेलमै आफ्नो जादु विश्व मञ्चमा देखाउँदै दुई गोल गरेका थिए। 

मंगलबार बिहान पौने ९ बजे जोर्डन र अल्जेरिया खेल्नेछन्। समूह चरणको पहिलो खेलमा हार भोगेका दुवै टोली पहिलो जित निकाल्दै नक आउट खेल्ने सम्भावना कायम राख्न चाहन्छन्। यो खेलमा पराजित हुने टोली एक खेलअगावै समूह चरणबाट बाहिरिने छ। 

गोल, असिस्ट र रेड कार्ड लर्को
दोस्रो चरणको खेल चलिरहँदा जर्मनीका डेनिज उन्डभ, क्यानडाका जोनाथन डेविड र अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीको नाममा समान तीन गोल छ। अन्य १२ खेलाडीले दुई गोल गरेका छन्। 

गोलका लागि असिस्ट गर्नेमा स्वीडेनका एलेक्जेन्डर इसाक शीर्ष स्थानमा छन्। उनले तीन गोलका लागि असिस्ट गरेका छन्। 

उद्घाटन खेलमै तीन वटा रेड कार्ड दिइएको यो विश्वकपमा अहिलेसम्म १० खेलाडीले रातो कार्ड पाइसकेका छन्। केप भर्डेका सिन्डे लोपेस र दक्षिण अफ्रिकाका तिबोहो मोकेइनाले दुवै खेलमा एल्लो कार्ड पाएका छन्। उनीहरूले समूहका अन्तिम खेल गुमाउने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad