World Cup 2026


३३औँ खेलमा तोडियो विश्वकपको कीर्तिमान, ६८ वर्षपछि सबैभन्दा चाँडै पूरा भयो १०० गोल

३३औँ खेलमा तोडियो विश्वकपको कीर्तिमान, ६८ वर्षपछि सबैभन्दा चाँडै पूरा भयो १०० गोल

कोडी गाक्पोले नेदरल्यान्ड्सका लागि शनिबार राति स्विडेनविरुद्ध गोल गरेपछि (फिफा)


नेपालखबर
असार ७, २०८३ आइतबार १३:५४, काठमाडौँ

सन् २०२६ को फिफा विश्वकप सन् १९५८ यता सबैभन्दा चाँडो सय गोल स्कोर हुने संस्करण बनेको छ। 

संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा जारी विश्वकपको ३३औँ खेलमा यो कीर्तिमान बनेको हो। 

लिभरपुलका फरवार्ड कोडी गाक्पोले नेदरल्यान्ड्सका लागि शनिबार राति स्विडेनविरुद्धको ५–१ को जितमा गरेको गोल सयौँ गोल थियो। ६८ वर्षमा पहिलोपटक ३३औँ खेलमा सय गोल पूरा भएको हो। 

यसअघि सन् १९५४ मा स्विट्जरल्यान्डमा भएको विश्वकप संस्करण २० खेलमै सय गोल पूरा भएको थियो। जुन प्रतियोगिता तत्कालीन पश्चिम जर्मनीले जितेको थियो। 

सन् २०१४ मा ब्राजिलमा भएको प्रतियोगितामा ३६ खेलमा मात्र सय गोल पूरा भएको थियो। ३६ नै खेलमा सन् १९८२ मा पनि सय गोल पूरा भएको थियो। त्यसैगरी सन् १९७८ मा अर्जेन्टिना र सन् १९९४ मा अमेरिकामा सम्पन्न विश्वकपमा ३८ खेलमा सय गोल पूरा भएको थियो। 

यस विश्वकपमा प्रतिखेल औसत ३.०९ गोल भइरहेको छ। यसपालिको विश्वकपमा ३ सय गोल पूरा हुन सक्ने अनुमान छ। 

जुलियन क्विनन्सको पहिलो गोल
जारी प्रतियोगिताकै पहिलो गोल मेक्सिकोका जुलियन क्विनन्सको नाममा रह्यो। जुन ११ को उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकाविरुद्ध २–०को जित निकाल्दा उनले नै गोल गरे। 

त्यसयता निरन्तर गोल स्कोर भइरहेको छ। जुन १४ मा जर्मनीले नवप्रवेशी कुराकाओविरुद्ध ७–१ को गोल अन्तरको जित निकाल्यो। त्यसको ४ दिनपछि सहआयोजक क्यानडाले कतारविरुद्ध ६–० गोल अन्तरको जित निकालेको थियो। 

यसपालि धेरै गोल हुनुमा एडिड्यासको ट्रियोन्डा बल खेलाइनुलाई पनि मानिएको छ। बलको उडान रोक्न धेरै गोलरक्षकहरु असफल भएका छन्। फ्रान्सका कप्तान किलियन एम्बाप्पेले गरेको दोस्रो गोल यसको उदाहरण हो। जसले सेनेगलका गोलरक्षक एडुआर्ड मेन्डीलाई बिट गर्दै ३३ यार्डबाट गोल भएको थियो। 

२२ यार्डभन्दा धेरै टाढाबाट स्कोर भएको गोलमध्ये यो पनि एक थियो। यस्तामध्ये दुई गोल स्विडेनका यासिन आयारीले ट्युनिसियाविरुद्ध गरेका थिए। जुन २४.८ यार्ड र २४.३ यार्डबाट थियो। 

अस्ट्रेलियाका कनर मेटकाफले ट्युनिसियाविरुद्ध नै २५.६ यार्डबाट गोल गरेका थिए भने ब्राजिलका विरुद्ध इस्माइल साइबेरीले २४.७ यार्डबाट गोल गरेका थिए। यसपालि गोलरक्षकहरु मज्जाले बल नियन्त्रण गर्न सकिरहेका छैनन्। १० भन्दा धेरै गोल त पेनाल्टी क्षेत्रबाहिरबाट हानिएका छन्। जसलाई गोलरक्षकहरुले समाउन सकेका छैनन्। 

त्यसो त बलले नै प्रभाव पारेको विश्वकप यो मात्र होइन। सन् २०१० मा दक्षिण अफ्रिकामा भएको प्रतियोगितामा पनि ‘जाबुलानी’ले यस्तै तनाव सिर्जना गरेको थियो। धेरै लामो दूरीका गोल त्यसबेला भएका थिए। इंग्ल्यान्डका डेभिड जेम्सलगायत खेलाडीले बलको आलोचना नै गरेका थिए। प्रतियोगिता सकिँदासम्म १४५ गोलमध्ये २६ वटा यस्ता गोल भएका थिए। 

त्यसो त गोल नै नभएका खेल पनि छन्। यस प्रतियोगिताको रोचक गोलरहित बराबरी केप भर्डेले सन् २०१० को विश्वविजेता स्पेनसँग (जुन १५) खेलेको छ। ४८ टोलीमा विस्तारित यो विश्वकपका चार टोलीहरु कुराकाओ, जोर्डन र उज्बेकिस्तानसँगै केप भर्डे रहेको छ। 

धेरै गोल हुनुमा बढ्दो तापक्रमलाई पनि कारण मानिएको छ। यसपालि प्रतिखेल औसत ३.०९ गोल भएको छ। चार वर्षअघि कतारमा सम्पन्न विश्वकपमा प्रतिखेल औसत २.६९ गोल भएको थियो। जुन मध्यपूर्वमा अत्यधिक गर्मीको कारण डिसेम्बर महिनामा खेलाइएको थियो।

अहिले उत्तर अमेरिकामा पनि बढी गर्मी भएकाले खेलाडीलाई शारीरिक संघर्ष र धेरै गोलको अवस्था भएको हुनसक्ने आकलन छ। जर्मनीले आईअभरी कोस्टविरुद्धको जित निकाल्दासम्म प्रतियोगितामा १०५ गोल भइसकेको छ। जसमध्ये ३० गोल ७६ देखि खेल सकिँदासम्मको समयमा भएको छ। कतिपय गोल खेलाडीको गल्तीले पनि भएको छ। स्विडेन र ट्युनिसियाको खेलमा यो देखिएको थियो। बीबीसीबाट 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad