मनास्लु हिमाल आरोहणका लागि सजिलो र छोटो पदमार्गको प्रारम्भिक अध्ययन शुरू भएको छ।
मनाङको नासों गाउँपालिकाले वैकल्पिक मार्गको अध्ययन शुरू गरेको हो। मनास्लु आरोहणका लागि सहज बाटो पहिचान गर्ने उद्देश्यले गाउँपालिकाको समन्वय र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को प्रायोजनमा पदमार्ग सर्वेक्षण शुरू गरिएको छ।
हाल मनास्लु आरोही काठमाडौंबाट गोरखाको आरुघाट, सामागाउँ हुँदै यात्रा गर्छन्। पूर्वतर्फबाट मनास्लु आरोहण शुरू हुन्छ। तर, मनाङको नासोँ गाउँपालिकाले काठमाडौंबाट लमजुङको बेंसीसहर हुँदै धारापानी, तिल्चे, गुवा, सुती खोला, याकखर्क हुँदै भीमथाङमा बास बसेर पश्चिमतर्फबाट आरोहणको सम्भावनाबारे अध्ययन शुरू गरेको जनाएको छ।
सामागाउँ र भीमथाङ दुवैतर्फको आरोहण मार्ग ६ हजार मिटर उचाइको तेस्रो शिविरमा पुगेर मिसिन्छ। गोरखामा पर्ने मनास्लु आठ हजार १६३ मिटर अग्लो छ। सन् १९५६ मे ९ मा जापानका टी इमानिस र नेपालका ग्याल्सेन नोर्बुले पहिलो पटक आरोहण गरेका थिए। त्यतिवेला भीमथाङबाटै आरोहण भएको र पछि पदमार्गमा क्षति पुगेपछि सामागाउँतर्फबाट आरोहण थालिएको नासोँ गाउँपालिका अध्यक्ष गुरुङले बताए।
फेरि भीमथाङबाट आरोहणको सम्भावनाबारे प्रारम्भिक अध्ययनमा संलग्न कर्मा शेर्पाले थप अध्ययन आवश्यक रहेको बताए। ‘हामी जाँदा हिउँ थियो, त्यसैले थप अध्ययन आवश्यक छ,’ शेर्पाले भने, ‘भीमथाङतर्फको मार्गमा पहिरोको जोखिम कति छ? सहज हुन्छ कि हुँदैन भन्ने जस्ता विभिन्न प्राविधिक विषयको अध्ययन गर्नुपर्ने देखिन्छ।’
शेर्पाले पहिलो चरणमा फोटो÷भिडियो खिचेर ल्याएको र अनुभवी आरोहीबाट त्यसको विश्लेषण गरेर निष्कर्ष निकाल्न बाँकी रहेको बताए। गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले अनुभवी माउण्टेन गाइडको सहभागितामा प्रारम्भिक सम्भाव्यता अध्ययन शुरू गरेको तर निष्कर्ष आउन बाँकी रहेको बताए।
यदि भीमथाङतर्फको मार्गबाट आरोहण गर्न सम्भाव्यता पुष्टि भएमा सबैभन्दा सजिलो र छोटो मार्ग यही हुने उनले बताए। ‘हामीले भीमथाङबाट मनास्लु आरोहणको सपना देखेका छौं,’ अध्यक्ष गुरुङले भने, ‘यदि यो सफल भएमा नेपालको आठ हजार मिटरभन्दा माथि आधारशिविरसम्म पुग्ने छोटो दूरीको पदमार्ग भनेको नै यही हुनेछ।’
काठमाडौंबाट लमजुङको बेंसीसहर हुँदै मनाङको तिल्चे गाउँसम्म बस वा गाडीमा यात्रा गर्न सकिन्छ। त्यसपछि तिल्चेबाट पैदल हिँडेर गुवा, सुती खोला, याकखर्क हुँदै भीमथाङमा बास बस्न सकिन्छ। त्यहाँबाट सिंधै मनास्लुको आधारशिविरमा साढे दुई दिनमै पुग्न सकिन्छ। यस मार्ग मनास्लु आरोहणको सबैभन्दा छोटो दूरी रहेको गाउँपालिका अध्यक्ष गुरुङले बताए।
यस पदमार्गमा करीब ३० वटा होटल छन्। तीन हजार सातसय मिटरको उचाइमा रहेको भिमथाङमा मात्रै ११ वटा होटल छन्। यी होटलमा पाँच सय जना अट्न सक्ने क्षमता रहेको छ।
अहिले धारापानीबाट पदयात्रामार्फत तिल्चे, गुवा, सुती खोला, याकखर्क, भीमथाङ हुँदै मनास्लु आरोहणका लागि जाने गरिन्छ। छोटो समयमा पुग्ने भएकाले यस मार्गलाई केही आरोहीले मनाङको पदमार्ग हुँदै यस हिमाल आरोहण गर्ने गरेका छन्। यस सर्वेक्षणले मार्ग पहिचान तथा अनुमति पाएमा आरोही तथा पथप्रदर्शकलाई सहज हुनेछ। (रासस)
Shares

प्रतिक्रिया