कारोबार


डेढ अर्ब बढी नाफा गरेको मुक्तिनाथ विकास बैंक वाणिज्य बैंक बन्ने तयारीमा

‘डेढ दशकदेखि राष्ट्र बैंकले नयाँ इजाजत दिएको छैन, अब वाणिज्य बैंक थप गर्ने नगर्ने निर्णय सञ्चालक समितिले गर्नेछ’
डेढ अर्ब बढी नाफा गरेको मुक्तिनाथ विकास बैंक वाणिज्य बैंक बन्ने तयारीमा

मुक्तिनाथ विकास बैंकको केन्द्रीय कार्यालय (विशाल कार्की)


सम्झना घिमिरे
कात्तिक २६, २०८२ बुधबार १२:८, काठमाडौँ

वाणिज्य बैंकहरूकै बराबरीमा नाफा गर्दै आएको मुक्तिनाथ विकास बैंक स्तरोन्नति हुने प्रक्रियामा लागेको छ। गत आवमा डेढ अर्बमाथिको नाफा गरेको बैंकले चुक्ता पुँजी ८ अर्बमाथि पुर्‍याएपछि स्तरोन्नतिको प्रक्रिया सुरु गरेको हो। 

कृषि र साना तथा मझौला उद्यममा केन्द्रित हुने योजनासहित बैंकले वाणिज्य बैंक बन्ने प्रस्ताव साधारणसभाबाट पारित गरिसकेको छ।

यही कात्तिक १५ गते बसेको बैंकको १९औँ वार्षिक साधारणसभाले विकास बैंकबाट वाणिज्य बैंकमा स्तरोन्नतिका लागि प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको थियो। 

वाणिज्य बैंक हुन नेपाल राष्ट्र बैंकले चुक्ता पुँजी न्यूनतम ८ अर्ब हुनैपर्ने व्यवस्था गरेको छ।

मुक्तिनाथ विकास बैंकले राष्ट्र बैंकबाट पुँजीवृद्धिको स्वीकृति पाएको थियो। योसँगै ७ अर्ब ४ करोडबराबरको चुक्ता पुँजी रहेको बैंकले बोनस बाँडेर पुँजी ८ अर्बमाथि पुर्‍याइसकेको छ। पुँजी पुर्‍याउनका लागि बैंकले चुक्ता पुँजीको १३.५३ प्रतिशतले हुन आउने ९५ करोड ३४ लाख रुपैयाँबराबरको बोनस सेयर वितरण गरेको छ। यसपछि चुक्ता पुँजी ८ अर्ब ३ लाख पुगेको छ।

कृषि र साना तथा मझौला लघुउद्यम केन्द्रित हुने गरी विकास बैंकबाट वाणिज्य बैंकमा स्तरोन्नति गर्न आवेदन दिने तयारी रहेको बैंकका एक अधिकारीले नेपालखबरलाई बताए। 

उनले भने, ‘कम्पनी रजिस्ट्रार कार्यालयमा पुँजी वृद्धि स्वीकृतिपछि हामीले क वर्गमा स्तरोन्नतिका लागि आवेदन दिँदै छौँ।’

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा ३७ ले बैंकिङ तथा वित्तीय कारोबार गर्न दफा ३३ बमोजिम निवेदन दिने बैंक तथा वित्तीय संस्थाको न्यूनतम चुक्ता पुँजी र त्यस्तो बैंक वा वित्तीय सस्थाले सञ्चालन गर्ने कारोबार तथा कार्यक्षेत्रको आधारमा राष्ट्र बैंकले बैंक वा वित्तीय संस्थालाई ‘क’, ‘ख’, ‘ग’ वा ‘घ’ वर्गमा वर्गीकरण गरी सोही बमोजिमको इजाजतपपत्र दिने व्यवस्था गरेको छ। 

यस्तै दफा ३८ ले बैंक तथा वित्तीय संस्थाहरूले माथिल्लो वर्गमा परिणत हुनसक्ने अधिकार पनि प्रदान गरेको छ। सोही दफालाई टेकेर मुक्तिनाथ विकास बैंकले वाणिज्य बैंक बन्ने प्रक्रिया थालेको उनले बताए।

त्यसो त नेपाल राष्ट्र बैंकले २०६८ सालदेखि वाणिज्य बैंकहरूको इजाजत दिएको छैन। २०६७ माघमा सानिमा बैंकलाई विकास बैंकबाट वाणिज्य बैंकमा स्तरोन्नतिका लागि केन्द्रीय बैंकले इजाजत दिएको थियो। त्यसयताका १५ वर्षमा विकास बैंकहरु स्तरोन्नति भएका छैनन्। 

राष्ट्र बैंकका प्रवक्ता गुरु प्रसाद पौडेलले त्यसयता वाणिज्य बैंक नथपिएको पुष्टि गरे।

त्यसो त गएको दशकमा राष्ट्र बैंकले वाणिज्य बैंकहरूको संख्या अधिक भएको भन्दै ‘फोर्स मर्जर’को नीति लिएको थियो। ३२ वटाको संख्यामा पुगेको वाणिज्य बैंकहरूलाई ‘फोर्स मर्जर’बाट २० वटामा झारेको थियो । 

नेपालका लागि १५ वटा वाणिज्य बैंकहरू पर्याप्त हुने प्रतिवेदनहरू आएपछि राष्ट्र बैंकले न्यूनतम पुँजीको सीमा बढाएर बैंकहरूलाई मर्जरमा लगेको थियो। 

करिब ६ वर्षभित्रै १२ वटा बैंक घटाएको राष्ट्र बैंकलाई अब भने नयाँ इजाजत दिने वा नदिने संकट आइपर्दै छ। कानुनतः पुँजीवृद्धि गरेर स्तरोन्नति गर्न कुनै रोकतोक नभएपछि राष्ट्र बैंकले दिने कि नदिने भन्ने निर्णय गर्न पाउने केन्द्रीय बैंकका प्रवक्ता पौडेल बताउँछन्। 

‘कुनै पनि बैंक वा वित्तीय संस्थाहरूले न्यूनतम मापदण्ड पूरा गरेर स्तरोन्नतिका लागि राष्ट्र बैंकमा आवेदन दिन पाउँछन्’, उनले नेपालखबरसँग भने। 

तर राष्ट्र बैंकले गएको डेढ दशकदेखि नयाँ इजाजत नदिएकोले वाणिज्य बैंक थप हुन्छ वा हुँदैन भन्ने अन्योलमै छ। 

‘स्तरोन्नति गर्न दिने नदिने भन्ने कुरा सञ्चालक समितिले गर्नेछ’, पौडेलले थपे। 

हुन त गभर्नर डा. विश्वनाथ पौडेलले कार्यकालको पहिलो मौद्रिक नीतिमार्फत स्तरोन्नति गर्न सकिने सन्देश दिइसकेका छन्। उनले पुँजी वृद्धिमा सहजीकरण गर्ने तथा वर्गीकरणमा समेत पुनरवलोकन गर्न सकिने बाटो मौद्रिक नीतिबाट खोलिदिएका हुन्। 

‘बैंक तथा वित्तीय संस्थाहरूको पुँजी वृद्धिमा सहजीकरण गर्ने उद्देश्यले यस बैंकको स्वीकृतिमा आवश्यकताअनुसार पुँजी बढाउन सक्ने व्यवस्था गरिनेछ’, चालू आवको मौद्रिक नीतिमा उल्लेख छ। 

यस्तै नीतिमा बैंक तथा वित्तीय संस्थाहरूको वर्गीकरण र कार्यदायरा पुनरवलोकन गर्न विस्तृत अध्ययन समेत गरिने उल्लेख छ।

अघिल्ला गभर्नर महाप्रसाद अधिकारीले संख्या बढाउन नहुने अडान लिएका थिए। तर उनीपछि आएका हालका गभर्नर पौडेल संख्या थपमा लचिलो देखिँदै आएका छन्। यही नीतिगत परिवेश हेरेर मुक्तिनाथ बैंकले पनि वाणिज्य बैंक बन्ने प्रक्रिया सुरु गरेको हो। 

कृषि र साना उद्यम केन्द्रित वाणिज्य बैंक बन्ने चाहना
२०६३ सालमा तीनवटा जिल्लाबाट विकास बैंकको यात्रा सुरु गरेको यो बैंकले कृषि, साना र मझौला तथा लघु उद्यम केन्द्रित वाणिज्य बैंक बन्ने गरी योजना पेस गर्न लागेको छ। 

‘अहिले पनि हामीसँग ९० प्रतिशत ग्राहक ग्रामीण क्षेत्रका लघुउद्यम तथा कृषिका छन्’, बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलले नेपालखबरसँग भने, ‘हाम्रो विशेषता पनि यसैमा भएको कारणले स्पेसिफिक वाणिज्य बैंक बन्ने योजना अघि सारेका हौँ।’

बैंकले हाल मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ कृषि कम्पनीलाई सहायक कम्पनीको रुपमा सञ्चालन गर्दै आएको छ। यस बैंकमा झण्डै १६ सय कर्मचारी कार्यरत छन्। 

यस्तो छ वासलात
गएको आर्थिक वर्ष १ अर्ब ५३ करोड ७४ लाख खुद नाफा कमाएको बैंकले चालू आवको पहिलो त्रैमासिकमा २२ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। 

यो अवधिसम्म बैंकले ९६ अर्ब ६५ करोड ऋण प्रवाह गरेको छ भने १ खर्ब १४ अर्ब निक्षेप संकलन गरेको छ। 

बैंकले ३ अर्ब ७० करोड सञ्चित कोषमा राखेको छ। पहिलो त्रैमासिकसम्म बैंकको क्यापिटल एडुकेसी रेसियो (पुँजी पर्याप्तता अनुपात) १२.९२ प्रतिशत र खराब कर्जा दर भने बैंकको ४.०३ प्रतिशत छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad