घुमघाम


चार दिनको बिदाले पोखराका होटल भरिभराउ

चार दिनको बिदाले पोखराका होटल भरिभराउ

नेपालखबर
जेठ १६, २०८३ शनिबार १९:६, काठमाडौँ

एकातिर गर्मी छल्न आएका भारतीय पर्यटक अर्कातिर चार दिन लामो सार्वजनिक बिदा परेकाले पर्यटकीय राजधानी पोखरामा पर्यटकको चहलपहल बढेको छ। 

लेकसाइडलगायत क्षेत्रका होटल बिहीबारयता पाहुनाले भरिभराउ छन्। यसबीचमा होटलको ‘अकुपेन्सी’ ९० प्रतिशतसम्म पुगेको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी बताउँछन्। 

‘बिहीबारदेखि आइतबारसम्म बिदा परेका कारण पोखरा घुम्न आउनेको सङ्ख्या बढेको छ,’ सुवेदी भन्छन्, ‘यतिबेला भारतीय पर्यटकको आगमन बढेको छ।’

अर्कातिर पर्यटकीय सिजन भएकाले पनि होटललाई सजिलो भएको उनी सुनाउँछन्। ‘चैतदेखि जेठसम्मको समयलाई पदयात्राका लागि पनि उपयुक्त मानिन्छ। यो दोस्रो मुख्य पर्यटकीययाम पनि हो,’ सुवेदी भन्छन्। 

पोखरासँगै आसपासका क्षेत्रका होटलमा पनि पाहुनाको संख्या बढेको उनी सुनाउँछन्। ‘पोखरासँगै आसपासका गन्तव्यस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ,’ उनी भन्छन्। 

सरकारले सातामा दुई दिन बिदा दिन सुरु गरेपछि आन्तरिक पर्यटन गतिविधि बढेको होटल व्यवसायीको भनाइ छ। सरकारको उक्त निर्णयबाट पर्यटन क्षेत्रलाई चलायमान बनाइ राख्न मद्दत पुग्ने व्यवसायी बताउँछन्। 

मनसुन भित्रिनुपूर्वको यो याममा पोखरामा भारतीय पर्यटकको सङ्ख्या बढ्ने गरेको छ। झरी परिरहने पोखरा गर्मी छल्ने गन्तव्यका रूपमा भारतीयको रोजाइमा पर्ने गरेको छ। 

पोखरा आउने भारतीय पर्यटकमध्ये झण्डै ४० प्रतिशत मुक्तिनाथ दर्शनमा जाने गरेका छन्। पदयात्राका लागि विभिन्न गन्तव्यमा जाने तेस्रो मुलुकका पर्यटकले पनि केही समय पोखरामा बिताउने गरेका छन्। 

पोखरा आउने विदेशी पर्यटकमध्ये करिब ४० प्रतिशत अन्नपूर्ण क्षेत्रको पदयात्रामा जाने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का प्रमुख डा. रबिन कडरिया बताउँछन्। अन्नपूर्ण क्षेत्र घुम्न जाने दक्षिण एसियाली मुलुकका पर्यटकमध्ये ९० प्रतिशत जति भारतीय हुने गरेको कडरियाको भनाइ छ। 

अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ–ला, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायतका गन्तव्यस्थल पर्छन्। कास्कीसहित पाँच जिल्लामा समेटिएको अन्नपूर्ण संरक्षण क्षेत्र पर्यटकको रोजाइमा पर्दै आएको छ। (रासस)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad