ad ad

सुदूरपश्चिम


दार्चुलामा भालु मार्न हानेको गोली लागेर छिमेकी ढले

दार्चुलामा भालु मार्न हानेको गोली लागेर छिमेकी ढले

नेपालखबर
असार ९, २०८१ आइतबार १७:२०, कञ्चनपुर

दार्चुलाको नौगाड गाउँपालिका–१ नागुका ५३ वर्षीय जयसिंह डडाल शनिबार बिहान घर नजिकैको जंगलतर्फ लागे। साथमा भरुवा बन्दुक भिरे।

जंगली जनावरले खेतको बारी खाएर स्थानीय हैरान छन्।

डडालको खेतमा फलेका आलु पनि जनावरले सखाप पारेका छन्। शनिबार बिहान खेतमा उनले भालु देखेका थिए।

बस्ती नजिकैको पारीसेती जंगलतर्फ गएको भालु मार्न जयसिंह त्यसतर्फ हानिन्छन्। त्यसै क्रममा उनले चलाएको गोली लागेर एक जनाको मृत्यु भयो।

जयसिंहले चलाएको गोली लागेर सोही ठाउँका ५५ वर्षीय धंके डडालको मृत्यु भएको हो। जयसिंह र धंके दुवैको घर नजिकै छ।

‘बाली खाएर हैरान बनाएको भालुलाई मार्न खोजेको थिएँ। त्यसैलाई मार्न ताकेर गोली हान्ने बेला मान्छेलाई लाग्यो,’ जयसिंह डडालले प्रहरी समक्ष दिएको प्रारम्भिक बयान उद्धृत गर्दै स्रोत भन्छ।

मृतक धंके पनि जंगली जनावरका लागि धराप थाप्न जंगलमा पुगेको आशंका भएपनि अझै यथार्थता खुलेको छैन।

पहाडी भेगमा लुकिछिपी जंगली जनावरको शिकार खेल्ने गरिन्छ। गाउँबाट घटनास्थल करिब आधा घण्टाको पैदल दूरीमा छ। घटनाबारे जिल्ला प्रहरी कार्यालय दार्चुलालाई शनिबार दिउँसो ४ बजे खबर आएको थियो।

स्थानीयले खबर गरेपछि गोली चलाउने जयसिंहले प्रहरी समक्ष आफैंले आत्मसमर्पण गरेका थिए। घटनास्थलबाट नजिकको प्रहरी चौकी दललेख हो। जहाँ पुग्न ८ घण्टाको समय लाग्ने गरेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंह नेतृत्वको प्रहरी टोली आइतबार बिहान ११ बजे मात्रै घटनास्थल पुगेको थियो। घटनाको मुचुल्का संकलन गरेर शव पोष्टमार्टमका लागि ल्याइरहेको प्रहरी निरीक्षक सिंहले बताए।

गोली चलाउने जयसिंह प्रहरी चौकी दललेखकै नियन्त्रणमा छन्। घटनामा प्रयोग भएको बन्दुक भने भेटिएको छैन। उनले बन्दुक खोलामा बगाएको बताएका छन्।

प्रहरीले घटनामा प्रयोग भएको बन्दुक दिनभर खोजेको थियो। तर भेटिएन।

जिल्ला प्रहरी कार्यालय दार्चुलाले घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .