सुदूरपश्चिम


जात्राको रमाइलो नभुल्दै गाउँ शोकमग्न

जात्राको रमाइलो नभुल्दै गाउँ शोकमग्न

गोकुल जोशी
कात्तिक २, २०७९ बुधबार २१:१५, कञ्चनपुर

बझाङ सदरमुकाम चैनपुरको सिलदेवी मन्दिरमा बुधबार मेला लागेको थियो। मेलामा विभिन्न ठाउँबाट जात्रालु ओइरिएका थिए।

दिनभरी मेलामा उनीहरुले इष्टमित्रहरुसँग खुसी साटासाट र एकआपसमा रमाइलो गरे। कतिले देउडा कम्मर मर्काए। तर यो खुसी धेरै बेर टिक्न सकेन। 

मेलाबाट छुट्टिएर घर नपुग्दै दुखद खबर सुनियो। मेलाको रमाइलो नभुल्दै घर फर्किरहेका मष्टा गाउँपालिकाका यात्रु सवार जिप दुर्घटनामा पर्यो।

जात्राले ल्याएको रमाइलो पललाई दुर्घटनाले क्षणभरमै शोकाकुल बनाएको छ। दुर्घटनामा जात्राबाट घर फर्किरहेकाहरु कसैले ज्यान गुमाए त कोही अस्पतालको शैयामा जीवन मृत्युको दोसाँधमा छन्।

सदरमुकाम चैनपुरबाट मष्टा गाउँपालिका– २, खेतकोट जाँदै गरेको सुपप्र ०१–००१ च ११७ नम्बरको जिप बुधबार दिउँसो दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

कच्ची सडकमा क्षमताभन्दा बढी यात्रु बोक्दा जिप दुर्घटना भएको हुन सक्ने प्रहरीको भनाइ छ। जिप सडकबाट २ सय मिटर तल खसेको थियो।

मष्टा गाँउपालिका–४ मा भएको जिप दुर्घटना परेर ७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक रमेश अवस्थीले बताए। उनका अनुसार १६ जना घाइते भएका छन्। 

दुर्घटनामा परी मृत्यु हुनेमा मष्टा गाँउपालिका वडा नं २ खेतकोटका १३ वर्षीया सम्झाना खड्का, १५ वर्षीय रोशन खड्का, २८ वर्षीया वसन्ती धामी, १३ वर्षीय प्रचण्ड खड्का, ३८ वर्षीय विरेन्द्र अधिकारी, ७ महिनाकी बालिका दक्षिता कठायत र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका घर भएका ४२ वर्षीय झरेन्द्र बोहरा रहेका छन्।

जिप दुर्घटना हुँदा घाइते भएका १६ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। गम्भीर घाइते ५ जनालाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ।

घाइते हुनेमा मष्टा गाउँपालिका–२ का ८ वर्षीय अमृत खड्का, १३ वर्षीया रोशनी धामी, सिंहवीर बुढा, ३५ वर्षीय गाडी चालक राजेश रोकाया, ४ वर्षीय सिर्जन सिंह, ११ वर्षीया अम्बिका सिंह, ५० वर्षीया सिन्किदेवि भण्डारी, २५ वर्षीया कमला कठायत, २१ वर्षीया नन्दा ओखेडा, ७५ वर्षीय बिरबहादुर खड्का, मष्टा गाँउपालिका १ साडा बस्ने ३६ वर्षीय सन्तोष सिंह, २२ वर्षीय ईश्वर ओखेडा, अनिस ओखेडा, १० वर्षीय अंकित खड्का, ४ वर्षीया सिम्रन सिंह र २२ वर्षीया हेमन्ती सिंह रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .