बझाङमा जिप दुर्घटनामा परेर मृत्यु भएका चार जनाको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी जागेश्वर भण्डारीका अनुसार मृतकमध्ये चार जनाको सनाखत भएको हो।
सनाखत हुनेहरुमा मष्टा गाउँपालिका–२ खेतकोटकी १३ वर्षीया सम्झना खड्का, सोही ठाउँका २५ वर्षीय रोशन खड्का, ११ वर्षीय प्रचण्ड खड्का र २८ वर्षीया वसन्ती धामी रहेका छन्।
सदरमुकाम चैनपुरबाट मष्टा गाँउपालिकाको वडा नं २ खेतकोट जाँदै गरेको जिप बुधबार दिउँसो दुर्घटना भएको थियो। जिप सडकबाट दुई सय मिटर तल खसेर भीरमा अड्किएको छ।
सो दुर्घटनामा परेर ८ जनाले ज्यान गुमाएका छन्। अन्य १६ यात्रु घाइते भएको प्रहरीले जनाएको छ।
गम्भीर घाइते ५ जनालाई थप उपचारको लागि धनगढी रिफर गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक रमेश अवस्थीले बताए।
‘घाइतेको अवस्था चिन्ताजनक छ, मृतक संख्या बढ्न सक्छ,’ उनले भने, ‘सबैको सनाखत पनि हुन सकेको छैन।’
उनका अनुसार अन्य घाइतेहरुको बझाङ अस्पतालमा उपचार भइरहेको छ।
Shares

प्रतिक्रिया