कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई पक्राउ गरी प्रहरीले अदालतमा पेस गरेको छ।
कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नेत्रमणि गिरीका अनुसार भण्डारीलाई आज बिहान भीमदत्त नगरपालिका-१८ कटानस्थित घरबाटै पक्राउ गरिएको हो।
‘अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ गरेका हौँ’, एसपी गिरीले नेपालखबरसँग भने, ‘अहिले अदालतमा पेस गरेका छौँ।’
जिल्ला अदालत कञ्चनपुरले भण्डारीलाई २०८२ जेठ १ गते गाली बेइज्जती मुद्दामा १ महिना ७ दिन कैद सजाय र १२ हजार १०० जरिवानाको फैसला सुनाएको छ।
कञ्चनपुरमा १३ वर्षीया किशोरी निर्मला पन्त बलात्कारपछि हत्या गरिएकी प्रकरणमा पत्रकार भण्डारीले मानसखण्ड दैनिक र सामाजिक सञ्जालबाट समेत आफ्नो विषयमा लेख्दा प्रतिष्ठामा आँच पुगेको भनी तत्कालीन एसपी दिल्लीराज विष्टका छोरा किरण विष्टले जिल्ला अदालतमा मुद्दा दर्ता गराएका थिए।
जिल्लाको फैसलाविरुद्ध भण्डारीले उच्च अदालतमा पुनरावेदन गरेका थिए। तर उच्च अदालत दिपायलको महेन्द्रनगर धनगढी इजलासले पनि गत चैत २२ गते जिल्ला अदालतकै फैसला सदर गरेको छ।
Shares

प्रतिक्रिया