सुदूरपश्चिम प्रदेशबाट ३ महिला र २ पुरुषसहित ५ जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदमा निर्वाचित भएका छन्।
सुदूरपश्चिम प्रदेश भूगोलबाट निर्वाचित केन्द्रीय सदस्यमध्ये हेमराज थापाले सबैभन्दा बढी २ हजार ७३ मत ल्याएका छन्।
गत प्रतिनिधिसभा निर्वाचनमा बाजुराबाट पराजित थापा पार्टीको आन्तरिक चुनावमा भने सर्वाधिक मतसहित केन्द्रीय सदस्यमा विजयी भएका हुन्।
यस्तै सुदूरपश्चिमबाट प्रतिनिधिसभा सदस्य केपी खनाल १८ सय ८३ मतसहित रास्वपाको केन्द्रीय सदस्य निर्वाचित भएका छन्। जेनजी सांसद खनाल कैलाली २ बाट निर्वाचित सांसद हुन्।
यसैगरी कञ्चनपुर क्षेत्र नं. २ बाट निर्वाचित अर्का प्रतिनिधिसभा सदस्य दीपक बोहरा पनि रास्वपाको केन्द्रीय सदस्य बनेका छन्। उनी १४ सय ९१ मतसहित केन्द्रीय सदस्य पदमा विजयी भएका हुन्।
यस्तै सुदूरपश्चिमबाट रास्वपा केन्द्रीय सदस्यमा जानकी जोशी ११ सय ४८ र चन्द्रा ऐर चाँदनी ११ सय ४६ मतसहित निर्वाचित भएका छन्।
बैतडीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हरिमोहन भण्डारी र कञ्चनपुर ३ बाट निर्वाचित ज्ञानेन्द्र सिंह महताले भने केन्द्रीय सदस्यको चुनाव हारेका छन्।
सुदूरपश्चिम भूगोलबाट १८ जनाले केन्द्रीय सदस्य पदमा प्रतिस्पर्धा गरेका थिए।
Shares

प्रतिक्रिया