ad ad

खेल


उपाधिविहीन बेल्जियमको ‘स्वर्णिम पुस्ता’

उपाधिविहीन बेल्जियमको ‘स्वर्णिम पुस्ता’

नेपालखबर
मंसिर १६, २०७९ शुक्रबार ०:२३, काठमाडौँ

बेल्जियमको राष्ट्रिय फुटबल टोलीको अहिलेको स्वाड हेर्ने हो भने यो इतिहासकै सबैभन्दा बलियो टोली हो। फिफा वरीयतामा बेल्जियम दोस्रो स्थानमा छ। 

साथै यो टोली विश्वकै उत्कृष्ट टोलीमध्येको एक हो। यद्यपि बेल्जियमको यो टोलीले महत्वपूर्ण उपाधि भने हात पार्न सकेको छैन। बिहीबार भएको क्रोएसियाविरुद्धको खेलमा गोलरहित बराबरी खेल्दै बेल्जियम फिफा विश्वकपको समूहचरणबाटै बाहिरिएको छ। यससँगै बेल्जियमको यसपटकको विश्वकपको सपना पनि समाप्त भएको छ।

अहिलेसम्म बेल्जियमले कुनै पनि अन्तर्राष्ट्रिय ट्रफी हात पार्न सकेको छैन। पछिल्लो केही वर्षदेखि नै बेल्जियमको टोलीलाई इतिहासकै स्वर्णिम पुस्ताको रुपमा रहँदै आएको बेल्जियमको टोलीले अपेक्षा अनुसारको नतिजा भने दिन सकेको छैन। 

बेल्जियमको अहिलेसम्मको सबैभन्दा ठूलो उपलब्धि भनेकै सन् २०१८ मा रुसमा भएको विश्वकपमा तेस्रो हुनु हो। बेल्जियमले उत्कृष्ट टोली निर्माणको लागि पनि उल्लेख्य लगानी गरेको छ। 

सन् २००२ मा अन्तिम १६ बाट बाहिरिएपछि बेल्जियमले फुटबल टोलीमा महत्वपूर्ण परिवर्तन सुरु गरेको थियो। त्यतिबेलाका भेटरान खेलाडीले फुटबलबाट सन्यास लिएका थिए र टोलीलाई नयाँ परिवर्तनको आवश्यकता देखिएको थियो। जसको कारण सन् २००४ को युरो र २००६ को विश्वकपमा बेल्जियम  छनोट पनि हुन सकेन। 

सन् २००८ मा बेल्जियमको राष्ट्रिय टोलीका केही खेलाडी इंग्लिस प्रिमियर लिगजस्ता प्रतिष्ठित लिगमा आबद्ध हुन थालेका थिए। म्यानचेस्टर सिटीका लिजेन्ड  भिन्सेन्ट कोम्पानी बेल्जियमबाट प्रिमियर लिगमा आबद्ध हुने पहिलो चर्चित नाम थियो। 

सन् २०१४ को विश्वकपको युरोपेली छनोटको क्रममा भने बेल्जियमको नयाँ स्वाड लगभग तयार भएको थियो। साथै उनीहरु आफ्नो पहिलो चुनौतीको लागि अघि बढेका थिए।

यो टोलीमा थिबाउट कोट्वा, भिन्सेन्ट कोम्पानी, जान भटोंगेन, मोउसा डेम्बेले, एक्सेल विट्सेल, मारोउआने फेलाइनी, इडेन हाजार्ड, केभिन मिरालस, केभिन डि ब्रूयन, स्टेभेन डेफोउर र रोमेलु लुकाकुजस्ता खेलाडी थिए। यो छनोटको समूह एमा रहेको बेल्जियम शीर्षस्थानमा रहँदै विश्वकपमा छनोट भएको थियो। 

बेल्जियमको पहिलो स्वर्णिम पुस्ताको टोली पूर्णरुपमा असफल भने भएन। विश्वकपको क्वार्टरफाइनलसम्म पुगेको यो टोली अर्जेन्टिनासँग पराजित भएको थियो। सन् २०१४ मा बेल्जियम  फिफा वरीयताको चौथो स्थानसम्म पुगेको थियो। 

सन् २०१६ को युरो कपको क्वार्टरफाइनलसम्म उत्कृष्ट प्रदर्शन गर्दै पुगेको बेल्जियम क्वार्टरफाइनलको खेलमा भने अप्रत्याशितरुपमा वेल्ससँग पराजित भयो। सन् २०१८ को विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेको बेल्जियम तेस्रो बनेको थियो। यो बेल्जियमको लागि अहिलेसम्मकै उत्कृष्ट नतिजा हो। 

सन् २०२० को युरोकपमा पनि बेल्जियम क्वार्टरफाइनलमा इटालीसँग पराजित हुँदै उपाधिको होडबाट बाहिरिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .