राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन-२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकलाई शुक्रबार खेल पोसाक प्रदान गरेको छ।
विभिन्न १० खेलको तयारी प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकलाई खेल पोसाक वितरण गरिएको हो।
कराते, बक्सिङ, महिला कबड्डी, महिला भलिबल, तेक्वान्दो, कुस्ती, जुडो, उसु, गल्फ र एथलेटिक्सका खेलाडी तथा प्रशिक्षकलाई खेल पोसाक वितरण गरियो।
राखेपका उपाध्यक्ष विशाल श्रेष्ठ, राखेप कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठ र राखेपका सदस्य पवन शाहीले पोसाक वितरण गरे।
हाङझाव एसियाडकी कीर्तिमानी रजत विजेता करातेकी एरिका गुरुङले प्रशिक्षणले खेलाडीमा ऊर्जा थपेको बताउँदै नयाँ आशा पनि पलाएको बताइन्।
एरिकाले लामो अवधिको प्रशिक्षणले सजिलो महसुस भएको बताउँदै एसियाली खेलकुदका लागि तयार रहेको बताइन्।
राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले पारा तेक्वान्दो, पारा स्विमिङ, पारा एथलेटिक्स, पारा ब्याडमिन्टन र पारा पावरलिफ्टिङलाई यसअघिनै पोसाक वितरण गरिसकेको जानकारी गराए।
जापानमा हुने २०औँ एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक हासिल गर्ने लक्ष्यसहित राखेपले २०८० माघ १५ गतेदेखि मिसन– २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षण सुरु गरेको थियो।

प्रतिक्रिया