नेपाल क्रिकेट संघका नव निर्वाचित अध्यक्ष चतुरबहादुर चन्दले संघ भित्रको सबै काम पारदर्शी ढंगले हुने बताएका छन्।
शनिबार भएको क्यानको निर्वाचनमा बिजयी भएपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अध्यक्ष चन्दले नेपाली क्रिकेट विवादरहित र पारदर्शी रुपमा अगाडि बढ्ने बताएका हुन्। नेपालीहरुमा नेपाली क्रिकेट खेलाडीसँग धेरै ठुलो अपेक्षा रहेको भन्दै अध्यक्ष चन्दले क्रिकेटको विकासलाई नयाँ तरिकाले गति दिन आवश्यक रहेको बताए।
आफ्नो कार्यकालमा क्यान भित्रको सबै कामलाई पारदर्शी बनाउन पहिलो दिनदेखि लाग्ने प्रतिबद्धता पनि उनले ब्यक्त गरे। संघले नेपालले पाएको एकदिवसीय मान्यतालाई अधिकतम सदुपयोग आन्तरिक प्रतियोगिता बढाउने, प्रादेशिक र जिल्लास्तरका प्रतियोगिता गराउने योजना बनाउने उनले बताए। आईसीसीले दिएको रोडम्याप अनुसार क्रिकेट संघले काम गरेको र विवाद समेत नरहेको भन्दै अध्यक्ष चन्दले निलम्बन चाँडै फुकुवा हुने बताए।
आगामी अक्टोबर १३ मा बस्ने आइसीसीको बैठकले नेपाली क्रिकेटलाई सुखद समाचार दिने बिश्वाश पनि व्यक्त गरे। अध्यक्ष चन्दले निलम्बन फुकुवासँगै यसै वर्ष नेपाल प्रिमियर लिग आयोजना गर्ने योजना नयाँ कार्यसमितिको रहेको पनि बताए।

प्रतिक्रिया