युरोपियन च्याम्पियनसिप (युराेकप)मा समूहहरूको दोस्रो चरणका खेल सकिएका छन्। अहिलेसम्म इटाली, बेल्जियम र नेदरल्यान्ड्सले अन्तिम १६ (नकआउट) मा स्थान बनाइसकेका छन्।
प्रतियाेगितामा युरोपका २४ टोलीहरुलाई ६ समूहमा बाँडिएको छ। प्रत्येक टोलीमा ४ टोली छन्। समूहमा सबैले एकअर्कासँग खेलेपछि शीर्ष दुई टोलीले सिधै अन्तिम १६ मा स्थान बनाउँछन्। यस्तै तेस्रो स्थानमा रहेका चार उत्कृष्ट टोलीले पनि नकआउट चरणमा स्थान बनाउन पाउनेछन्।
अहिलेसम्मको नतिजा र समूहको अन्तिम खेल बाँकी रहँदा अन्तिम १६ मा स्थान बनाउन कुन टोलीलाई के-के आवश्यक छ?
समूह ए
बाँकी खेलः इटालीविरुद्ध वेल्स, स्विट्जरल्यान्डविरुद्ध टर्की (दुवै खेल आइतबार राति)
सुरुवाती दुई खेलमा टर्की र स्विट्जरल्यान्डलाई समान ३–० गोलअन्तरले पराजित गरेसँगै इटाली समूह 'ए'को शीर्षमा रहँदै नकआउट चरणमा पुगिसकेको छ। आइतबार राति वेल्ससँग बराबरी खेलेमा मात्रै पनि इटाली समूहको शीर्षमा रहँदै अघिल्लो चरण पुग्नेछ।
दोस्रो स्थानमा रहेको वेल्सले अन्तिम खेलमा इटालीलाई पराजित गर्न सकेको खण्डमा समूहको विजेता बन्नेछ। त्यसो भएमा इटाली र वेल्स समूहको शीर्ष दुई टोली बन्दै अन्तिम १६ मा प्रवेश गर्नेछन्।
टर्कीसँग पराजित भएमा स्विट्जरल्यान्ड प्रतियोगिताबाटै बाहिरिनेछ। यदि स्विट्जरल्यान्ड्सले जित्यो र वेल्सले हार्यो भने स्विट्जरल्यान्ड शीर्ष दुईमा रहँदै अघिल्लो चरण प्रवेश गर्नसक्छ। त्यस्तो अवस्थामा स्विट्जरल्यान्ड र वेल्सको समान ४ अंक हुनेछ र गोल अन्तर हेरिनेछ।
यता टर्कीको भने समूहको शीर्ष दुईभित्र अटाउँदै अघिल्लो चरण पुग्ने सम्भावना सकिसकेको छ। तर तेस्रोमा रहँदै अघिल्लो चरणमा प्रवेशका लागि टर्कीले स्विट्जरल्यान्डलाई पराजित गर्नैपर्नेछ।
समूह बी
बाँकी खेल: रसियाविरुद्ध डेनमार्क, फिनल्यान्डविरुद्ध बेल्जियम (सोमबार राति)
सुरुवाती दुई खेलमा रसिया र डेनमार्कलाई पराजित गर्दै बेल्जियमले यस समूहबाट अन्तिम १६ मा स्थान बनाइसकेको छ। फिनल्यान्डसँग सोमबार बराबरी खेलेमा मात्रै पनि बेल्जियम समूह विजेताका रुपमा अघिल्लो चरणमा हुनेछ।
फिनल्यान्ड र रसियाको ३ अंक छ। सुरुवाती दुई खेल हारेपछि डेनमार्क अंकविहीन पुछारमा छ।
रसियाले डेनमार्कविरुद्ध जित हासिल गरेमा वा बेल्जियमले फिनल्यान्डलाई हराएमा शीर्ष दुईमा रहँदै रसिया अन्तिम १६ मा पुग्नेछ।
यदि डेनमार्कले रसियालाई हरायो र फिनल्यान्ड बेल्जियमसँग हारेमा डेनमार्क दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा पुग्नसक्छ। तर त्यसका लागि रसिया र फिनल्यान्डसँग उसको गोल अन्तर हेरिनेछ।
समूह सी
बाँकी खेल: नर्थ मेसेडोनियाविरुद्ध नेदरल्यान्ड्स र युक्रेनविरुद्ध अष्ट्रिया (सोमबार राति)
सुरुवाती दुई खेल जित्दै नेदरल्यान्ड्सले यस समूहबाट शीर्षमा स्थान पक्का गर्दै अन्तिम १६ मा स्थान बनाइसकेको छ। यता नर्थ मेसेडोनियाले भने दुई खेलमा हार व्यहोर्दै प्रतियोगितामा अघिल्लो यात्रा समाप्त गरिसकेको छ।
अब सोमबार हुने अष्ट्रिया र युक्रेनबीचको खेलले दोस्रो स्थानमा रहँदै नकआउट चरणमा पुग्ने टोलीको टुंगो लाग्नेछ। तर बराबरी भएमा भने दुवैबीचको गोल अन्तर हेरिनेछ।
समूह डी
बाँकी खेल: चेक रिपब्लिकविरुद्ध इंग्ल्याड, क्रोएसियाविरुद्ध स्कटल्यान्ड (मंगलबार राति)
अन्तिम खेलमा चेक रिपब्लिकसँग पराजित भएमा पनि इंग्ल्यान्डसँग ४ अंक रहेकाले तेस्रो स्थानको उत्कृष्ट टोली रहँदै अन्तिम १६ मा पुग्ने निश्चितजस्तै छ। बराबरी गरेमा वा जितेमा भने इंग्ल्यान्ड सिधै नकआउट चरणमा हुनेछ।
शीर्ष स्थानमा रहेको चेक रिपब्लिकले इंग्ल्यान्डसँग बराबरी खेलेमा मात्रै ऊ समूह विजेताका रुपमा अन्तिम १६ मा हुनेछ।
स्कटल्यान्डलाई भने अन्तिम खेलमा क्रोएसियाविरुद्ध जित आवश्यक छ। पराजित वा बराबरी भएको खण्डमा पनि टोली बाहिरिनेछ। क्रोएसियाको अवस्था पनि स्कटल्यान्डजस्तै छ। उसलाई पनि स्कटल्यान्डसँग जित निकालेमा मात्रै अन्तिम १६ मा पुग्ने सम्भावना छ।
समूह ई
बाँकी खेल: स्लोभाकियाविरुद्ध स्पेन र स्विडेनविरुद्ध पोल्यान्ड (बुधबार राति)
एक खेलमा जित र एक खेलमा बराबरी गरेको स्विडेन ४ अंकसहित यस समूहको शीर्ष स्थानमा छ। उसलाई अन्तिम १६ मा स्थान बनाउन बुधबार पोल्यान्डविरुद्ध बराबरी वा जित आवश्यक पर्नेछ। बराबरी भएमा अन्य टोलीको नतिजा पनि हेरिनेछ।
स्लोभाकियाले पहिलो खेलमा पोल्यान्डलाई पराजित गर्दै सनसनी मच्चाएको थियो। स्पेनविरुद्ध बराबरी गरेमा मात्रै स्लोभाकियालाई नकआउट चरणमा पुग्न पर्याप्त हुनेछ। तर पराजित भएमा भने उसले अरु टोलीको नतिजा कुर्नुपर्ने अवस्था छ।
स्विडेन र पोल्यान्डसँग सुरुवाती दुई खेलमा बराबरीमा रोकिएपछि स्पेनका लागि भने अन्तिम खेलमा स्लोभाकियालाई पराजित गर्नुपर्ने अवस्था छ। पुनः बराबरी खेलेमा स्पेन उत्कृष्ट तीनमा रहँदै अघिल्लो चरण प्रवेश गर्न सक्नेछ।
पोल्यान्डले अन्तिम खेलमा स्विडेनलाई पराजित गरेमा उसको पनि नकआउट चरणमा प्रवेश गर्ने सम्भावना बन्छ। पराजित भएमा प्रतियोगिताबाट बाहिरिने पोल्यान्डको भाग्य बराबरी भएमा भने अरुको नतिजामा भर पर्नेछ।
समूह एफ
बाँकी खेल: जर्मनीविरुद्ध हंगेरी र पोर्चुगलविरूद्ध फ्रान्स (बुधबार राति)
पोर्चुगलमाथि सनसनीपूर्ण जित निकाल्दै यस समूहमा जर्मनी दोस्रो स्थानमा उक्लिएको थियो। फ्रान्सले शनिबार राति हंगेरीसँग बराबरी खेलेपछि बुधबार रातिमात्रै यस समूहबाट अगाडि जाने टोलीको टुंगो लाग्ने भएको छ।
यस समूहका सबै टोलीलाई अन्तिम १६ मा पुग्ने अवसर भएकाले सबै जितको खोजीमा हुनेछन्। सोही कारण ग्रुप अफ डेप्थ मानिएको यस समूहको अन्तिम दिन निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा छ।
पोर्चुगलसँग बराबरी वा जर्मनी र हंगेरीबीचको खेलमा बराबरी भएमा मात्रै फ्रान्सको अन्तिम १६ पक्का हुनेछ। फ्रान्सले जितेमा समूहको शीर्ष रहँदै नकआउट चरणमा हुनेछ।
पोर्चुगलले जितेमा अर्को चरण पक्का हुनेछ। बराबरी खेलेर जर्मनीले हारेमा पनि उसको दोस्रो चरण पक्का छ। जर्मनीलाई जित अथवा बराबरी खेलेर फ्रान्स नहारेमा नकआउट चरणमा पुग्न ढुक्क हुनेछ।
हंगेरीले जितेमा र पोर्चुगल पराजित भएमा हंगेरी दोस्रो स्थामा रहँदै नकआउट चरणमा हुनेछ। हंगेरीले जितेर फ्रान्स हार्दा भने गोल अन्तरका आधारमा दोस्रो स्थान तय हुनेछ।
Shares
प्रतिक्रिया