ad ad

खेल


महिलातर्फको आरबीबी एनभीए कपको उपाधि न्यु डायमन्डलाई

महिलातर्फको आरबीबी एनभीए कपको उपाधि न्यु डायमन्डलाई

नेपालखबर
चैत २६, २०७७ बिहिबार १२:३५,

होंगान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब पाँचौ संस्करणको आरबीबी एनभीए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबलको महिलातर्फको च्याम्पियन बनेको छ। 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बिहीबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो।

यससँगै न्यु डायमन्ड वर्षको पहिलो २०७४ माघपछि पहिलो उपाधि जित्न सफल भएको छ। न्यु डायमन्ड २०७४ माघमा आफैँले आयोजना गरेको प्रथम न्यु डायमन्ड कपको च्याम्पियन बनेयता दर्जन बढी पटक फाइनलमा पुगेपनि उपाधि जित्न सकेको थिएन।

यस्तै डायमन्ड तेस्रो संस्करणपछि एनभीए लिगको च्याम्पियन बनेको हो। तेस्रो संस्करणमा डायमन्डले नेपाल पुलिसलाई पराजित गर्दै उपाधि जितेको थियो। डायमन्ड पहिलो संस्करणको पनि च्याम्पियन हो।

बिहीबार डायमन्डले पहिलो सेट २२–२५ ले गुमाएपनि त्यसपछिको तीन सेट आफ्नो पक्षमा पार्दै उपाधि जित्न सफल भएको हो। पहिलो सेटको सुरुवातमा ५–० ले पछि पार्दै खराब सुरुवात गरेपनि प्रतिस्पर्धात्मक पूनरागमन गरेको डायमन्डले उक्त सेट आफ्नो पक्षमा पार्न सकेन।

तर, पहिलो सेटको अन्तिमको लयलाई त्यसपछि कायम राख्दै विभागीय टोलीमाथि जित हासिल गर्न सफल भयो। दोस्रो सेटमा सुरुवात देखि नै अग्रतामा रहेको डायमन्डले पछि फर्केर हेर्नु परेन। उक्त सेटमा डायमन्ड २५–११ ले विजयी भएको थियो। तेस्रो सेट डायमन्डले २५–१९ को सहज जित निकाल्दै उपाधि नजिक पुगेको थियो। चौथो सेट २१–२५ ले गुमाएको डायमण्डले पाँचौ सेटमा १५–११ ले आफ्नो पक्षमा पारेको हो।

उपाधिसँगै न्यु डायमन्डले ३ लाख रुपैयाँ हात पारेको छ। दोस्रो भएको पुलिसले १ लाख ७५ हजार, तेस्रो भएको एपीएफले ७५ हजार तथा चौथो भएको आर्मीले ३७ हजार ५ सय रुपैयाँ प्राप्त गरेको छ। १९ चैतबाट शुरु भएको प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ ६ टोलीले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिताको सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीले समान २५–२५ हजार प्राप्त गर्नेछन्। व्यक्तिगत विधाका उत्कृष्ट लिवेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १०–१० हजार हात पार्नेछन्।

यस्तै पुरुषतर्फ टिप टप हेल्प नेपाल स्पोर्ट्स विभागीय नेपाल एपीएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेको छ।

एकपक्षीय बनेको खेलमा तीन भारतीय खेलाडी सम्मिलित हेल्प नेपालले पहिलो सेट २५–१४ ले सहजै आफ्नो पक्षमा पारेको थियो। दोस्रो सेटमा २५–२० को सहज जित निकालेको हेल्प नेपालले तेस्रो सेटमा २५–२२ को जित निकाल्दै च्याम्पियन बन्न सफल भयो।

उपाधिसँगै हेल्प नेपालले ३ लाख रुपैयाँ हात पारेको छ। दोस्रो भएको एपीएफले १ लाख ७५ हजार, तेस्रो भएको बुलबुले रारा भलिबल क्लबले ७५ हजार तथा चौथो भएको नेपाल पुलिस क्लबले ३७ हजार ५ सय रुपैयाँ प्राप्त गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .