पाहुना टोली इग्ल्याण्डलाई १० विकेटले पराजित गरेसँगै भारतले आइसीसी विश्व टेष्ट च्याम्पियनसिप खेल्ने सम्भावना बलियो भएको छ।
जितसँगै ४ खेलको टेष्ट सिरिजमा भारतले २–१ को अग्रता लिएको छ। हारसँगै इंग्ल्यान्डको आइसिसी विश्व टेष्ट च्याम्पियनसिप फाइनलमा पुग्ने सम्भावना सकिएको छ।
पाहुना टोलीले दिएको ४९ रनको झिनो लक्ष्य भारतले ७ दशमलव ४ ओभरमा भेट्टायो। भारतका रोहित शर्मा २५ र सुधमन गिल १५ रनमा नटआउट रहे। शर्माले २५ बलमा ३ चौका र १ छक्का हाने। २१ बलको सामना गरेका गिलले १ छक्का र १ चौका हाने।
इंग्ल्यान्ड दोस्रो इनिङस्मा ३०.४ ओभरमा ८१ रनमा अल आउट भयो। बेन स्टोक्सले सर्वाधिक २५ रनको योगदान दिए। जो रुट १९ र ओली पोप १२ रनमा आउट भए। अन्य कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
भारतका स्पिनर अक्षर पटेलले ५ र रविचन्द्रन आश्विनले ४ विकेट लिए।
भारत दोस्रो दिनमै पहिलो इनिङस्मा ५३.२ ओभरमा १ सय ४५ रनमा अल आउट हुँदै ३३ रनको अग्रता लिएको थियो। भारतका रोहित शर्माले सर्वाधिक ६६ रनको योगदान दिए। सुभमन गिल ११, विराट कोहली २७ र आश्विन १७ रनमा आउट भए। इंग्ल्यान्डका कप्तान जो रुटले ५ र ज्याक लेचले ४ विकेट लिए।
त्यसअघि अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा टस जितेर ब्याटिङ गरेकोे इंग्ल्यान्ड दोस्रो सेसनमा नै १ सय १२ रनमा अलआउट भएको थियो।
पहिलो टेष्टमा इंग्ल्यान्डमा २ सय २७ रनले विजयी भएको थियो। दोस्रोमा ३ सय १७ रनले पराजित भएको थियो। चौथो तथा अन्तिम टेष्ट खेल ४ मार्चदेखि सुरु हुने छ।

प्रतिक्रिया