स्पोर्ट्स वेयर कम्पनी केल्मीले नेपाली राष्ट्रिय भलिबल टाेलीलाई प्रायोजन गर्ने भएको छ।
कम्पनीले संघसँग २ वर्षे प्रायोजन सम्झौता गरेको हो।
सम्झौतामा केल्मीका देशीय निर्देशक प्रदीप न्यौपाने र भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले हस्ताक्षर गरेका हुन्।
सोमबार भएको सम्झौताअनुसार राष्ट्रिय पुरुष तथा महिला भलिबललाई कम्पनीले खेल सामग्री उपलब्ध गराउनेछ।
उक्त कम्पनीले ५० वटा नेट, २५० वटा भलिबल र पुरूष र महिला टाेलीलाइ २०/२० सेट जर्सी सहयोग गर्नेछ।

खेल सामग्री उत्पादक केल्मी स्पेनिस ब्रान्ड हो। सम्झौतापत्रमा हस्ताक्षर गरेपछि निर्देशक न्यौपानेले भने, ‘नेपालको राष्ट्रिय खेलसँग सम्झौता गर्न पाउँदा खुसी लागेको छ। यसअघि हाम्रो इतिहास फुटबलसँग जोडिएको थियो। तर एउटै खेलमा नबसी सबै खेलमा जाने भनेर दोस्रो खेलको रुपमा भलिबललाई प्राथमिकता दिएका हौँ।’
नेपालमा फुटबलबाट सुरु भएको केल्मी ब्रान्ड अब भलिबलमा पनि आएको उनको भनाइ छ। यसअघि भलिबल क्लब न्यु डायमन्डलाई पनि प्रायोजन गरेको उनले बताए। जुत्ता, मोजा, बल, नेटलगायतका सामग्री सहयोग गर्ने उनले बताए।
प्रायोजन सम्झौतासँगै उसले आज ३० वटा भलिबल समेत प्रदान गरेको छ। बाँकी सामान भने २ महिनामा उपलब्ध गराउने केल्मीले जनाएको छ।
यसअघि कम्पनीले नेपाली फुटबललाई प्रायोजन गर्दै आएको थियो।

प्रतिक्रिया