बागमती प्रदेशले १६औँ केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि रक्षा गरेको छ। विभिन्न ६ खेल समावेश प्रतियोगितामा २२ स्वर्ण, २१ रजत र १३ कांस्य जित्दै बागमतीले उपाधि रक्षा गर्न सफल भएको हो।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश र नेपालय इन्टरनेसनल प्रा.लि. को सहआयोजनामा भएको प्रतियोगितामा सुदूरपश्चिम प्रदेश दोस्रो भयो।
सुदूरपश्चिमले १९ स्वर्ण, ९ रजत र १४ कांस्य हात पार्यो। १२ स्वर्ण, १५ रजत र १८ कांस्य जितेको लुम्बिनी प्रदेश तेस्रो बन्यो। ५ स्वर्ण, २ रजत र १८ कांस्यसाथ गण्डकी प्रदेश चौथो, ४ स्वर्ण, ७ रजत र १७ कांस्यसाथ कोशी प्रदेश पाँचौँ, ३ स्वर्ण, ६ रजत र ६ कांस्यसाथ मधेस प्रदेश छैटौं तथा २ स्वर्ण, ५ रजत र १२ कांस्यसाथ कर्णाली प्रदेश सातौँ स्थानमा रहे।
तीनदिने प्रतियोगितामा सात प्रदेशबाट ६८६ खेलाडीले एथलेक्टिस, भलिबल, कबड्डी, तेक्वान्दो, कराते र उसुमा प्रतिस्पर्धा गरेका थिए। पदक विजेतालाई करिब १२ लाख नगद पुरस्कार वितरण गरिएको प्रतियोगिता व्यवस्थापन तथा सञ्चालन समिति सचिव मीनकुमार शर्माले जानकारी दिए। प्रतियोगिताको १७ औँ संस्कारण कोसी प्रदेशमा फागुन १९ देखि २२ गतेसम्म हुने भएको छ।
भलिबलः गण्डकी र बागमतीलाई उपाधि
केन्द्रीय राष्ट्रपति रनिङ शिल्डअन्तर्गत भलिबलको उपाधि गण्डकी र बागमतीले जितेका छन्। गण्डकी छात्र तथा बागमती छात्रामा च्याम्पियन बनेका हुन्। निर्णायक सेटमा विजेता बनेका दुवै टोलीले लुम्बिनीलाई पराजित गरेका थिए। विजेताद्वयले सुरुका २ सेटमा पछि परेको स्थितिलाई उल्ट्याउदै उपाधि जितेका हुन्।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको छात्र फाइनलमा गण्डकीले लुम्बिनीलाई २०–२५, २४–२६, २५–२२, २५–१७ र १५–११ को सेटमा पराजित गरे। सुदूरपश्चिम तेस्रो भयो।
छात्राको उपाधि भिडन्तमा बागमतीले लुम्बिनीलाई २१–२५, २२–२५, २५–१२, २५–२१ र १५–८ ले हरायो। कर्णालीले तेश्रो स्थानमा चित्त बुझायो।
कबड्डीः लुम्बिनीलाई दोहोरो उपाधि
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको कबड्डीको छात्रछात्रा दुवैमा लुम्बिनीले उपाधि चुम्यो। दुवैमा लुम्बिनीको फाइनल प्रतिद्वन्द्वी बागमती रह्यो।
छात्रको फाइनलमा लुम्बिनीले बागमतीलाई ३७–३२ ले पराजित गर्यो। कर्णाली र गण्डकी संयुक्तरूपमा तेस्रो भए। छात्राको उपाधि भिडन्तमा लुम्बिनीले बागमतीलाई ३५–२९ ले हरायो। सुदूरपश्चिम र मधेश तेश्रो स्थानमा रहे।
उसुः सुदूरपश्चिमको वर्चस्व
विभिन्न १२ स्पर्धामा प्रतिस्पर्धा भएको उसुमा सुदूरपश्चिमको वर्चस्व रह्यो। सुदूरपश्चिमले ६ स्वर्ण जित्यो। बागमतीले ३ तथा गण्डकी, लुम्बिनी र कर्णालीले १–१ स्वर्ण हात पारे।
Shares

प्रतिक्रिया