कला


तिम्रो औकात के हो पीयूष मिश्रा

तिम्रो औकात के हो पीयूष मिश्रा

काठमाडौँ कलिङ साहित्य महोत्सवमा पीयूष मिश्रा।


पीयूष मिश्रा
जेठ २३, २०८३ शनिबार १९:४०, काठमाडौँ

भारतको ग्वालियरका एक अन्तर्मुखी किशोर, जसले जीवन र मृत्युका प्रश्नहरूसँग खेल्दै बाल्यकाल बिताए। उनले एक दिन बुवाको अगाडि फेल भएको मार्कसिट राखेर भने, ‘म डाक्टर बन्ने छैन, थिएटरमा जान्छु।’ 

त्यही निर्णयले उनलाई भारतीय रंगमञ्च, संगीत, साहित्य र सिनेमाको बहुआयामिक व्यक्तित्व बनायो। ती बालक पछि चर्चित लेखक कलाकार बने। उनी हुन्, पीयूष मिश्रा। उनको आत्मकथा ‘तुम्हारी औकात क्या है पियूष मिश्रा’ नेपालमा समेत लोकप्रिय छ।

शनिबार चौथो काठमाडौँ कलिङ साहित्य महोत्सवमा यही शीर्षकमा प्रस्तोता युनुश खानसँग उनले संवाद गरेका छन्। मिश्राले आफ्नो बाल्यकालका जटिल भोगाइ, थिएटरप्रतिको मोह, परिवारको अपेक्षाविरुद्ध कलाको बाटो रोज्ने साहस र आफ्नो आत्मकथाबारे उनीसँग गरिएको संवादको अंश:

जब मलाई काठमाडौँ बोलाइन्छ, यहाँ प्रस्तुति दिन पाउँदा निकै खुशी लाग्छ। म अहिले आफ्नो ब्यान्डसँग धेरै ठाउँ कन्सर्टका लागि यात्रा गरिरहेको छु। हाम्रो ब्यान्डमा एउटा पनि बलिउड गीत छैन, हामीले गाउने सबै गीत थिएटरबाट जन्मिएका हुन्। काठमाडौँमा पनि ती गीत प्रस्तुत गर्न उत्साहित हुनेछु।

मेरो आत्मकथा ‘तुम्हारी औकात क्या है पियूष मिश्रा’ मा मेरा जीवनका तीन महत्त्वपूर्ण चरणको कथा हो। मैले जीवनका पहिलो २० वर्ष ग्वालियरमा बिताएँ, त्यसपछिका २० वर्ष दिल्लीमा र पछिल्ला वर्षहरू मुम्बईमा। यो पुस्तकमा यी तीनै सहरसँग जोडिएका मेरा अनुभव, संघर्ष र सम्झनाहरू समेटिएका छन्।

मेरो बाल्यकाल अरू बालबालिकाजस्तो सामान्य थिएन। छिमेकीको झ्याल फुटाउने, क्रिकेटको बल अरुको घरभित्र छिराउने वा साथीहरूसँग उधुम मच्चाउने खालको बाल्यकाल मैले जिइनँ। म अत्यन्त अन्तर्मुखी थिएँ। सानैदेखि मेरो मनमा जीवन र मृत्युका गहिरा प्रश्नहरू खेलिरहन्थे- म कहाँबाट आएँ? मरेपछि कहाँ जान्छु?

मलाई आमाबाबुको माया त थियो, तर त्यो प्रेम अलि फरक प्रकारको थियो। विशेष गरी आमाको माया यति तीव्र थियो कि उहाँ चाहनुहुन्थ्यो, म उहाँबाहेक अरू कसैलाई माया नगरूँ।

हाम्रो परिवार खानदानी थियो, तर बैंक ब्यालेन्स शून्य थियो। यस्तो अवस्थामा हुर्किने बच्चाको जीवन निकै जटिल हुन्छ। कोही गरिब भए, उसलाई गरिब भन्न सकिन्छ, कोही धनी भए उसलाई धनी भन्न सकिन्छ, तर खानदानी भएर पनि आर्थिक अवस्था कमजोर हुँदा त्यसलाई व्यक्त गर्न गाह्रो हुन्छ। मैले त्यस्तै वातावरणमा बाल्यकाल बिताएँ।

सायद यही असामान्य बाल्यकालले मेरो कल्पनाशक्तिलाई सानैदेखि फराकिलो बनायो। कक्षा १० सम्म पुग्दा मैले एउटा कुरा स्पष्ट रूपमा बुझिसकेको थिएँ- म मेरो बुवाले चाहेजस्तो बन्नेछैन। उहाँ मलाई डाक्टर बनाउन चाहनुहुन्थ्यो, तर मलाई भ्यागुता चिरफार गर्नै डर लाग्थ्यो। मानिसको शल्यक्रिया कसरी गर्न सक्थेँ?

मेरो जन्मनाम प्रियाकान्त शर्मा थियो। यो नामले मलाई धेरै अप्ठ्यारोमा पार्थ्यो। बुवाले आफ्नो प्रिय साथीको नामबाट प्रेमपूर्वक मेरो नाम राख्नुभएको थियो। तर विद्यालयमा सबैले मलाई ‘प्रिया-प्रिया’ भनेर जिस्क्याउन थाले। अन्ततः कक्षा १० मा पुगेर मैले आफ्नो नाम परिवर्तन गरी पीयूष राखेँ।

एक दिन मैले फेल भएको मार्कसिट बुवाको अगाडि राखेँ र स्पष्ट रूपमा भनेँ, ‘म डाक्टर बन्न चाहन्नँ। म मेडिकल साइन्स पढ्न चाहन्नँ। मैले निर्णय गरिसकेको छु, म थिएटर आट्र्समा जान्छु।’

त्यो समय यस्तो निर्णय लिनु निकै कठिन थियो। सिनेमाको संसार टाढाको सपना जस्तै थियो। अमिताभ बच्चन, विनोद खन्ना, शशी कपूर र मिथुन चक्रवर्ती जस्ता कलाकारहरू यति ठूला स्टार थिए कि उनीहरूलाई भेट्ने कल्पनासमेत गर्न सकिँदैनथ्यो।

तर मलाई थिएटरको नशा लागिसकेको थियो। मैले निश्चय गरेँ- म थिएटर नै गर्छु। घरबाट प्रश्न आयो, ‘थिएटर गरेर कमाउँछौ कसरी? जीवन चलाउँछौ कसरी?’

मेरो जवाफ सधैं एउटै हुन्थ्यो, ‘म थिएटर नै गर्छु।’

उहाँहरूले भन्नुभयो, ‘यसबाट पैसा आउँदैन।’

मैले भनेँ, ‘ठीक छ, पैसा नआए पनि म यही गर्छु।’

त्यसरी नै मैले जीवनका २० वर्ष थिएटरमा समर्पित गरेँ। संघर्ष थियो, अनिश्चितता थियो, तर त्यही यात्राले आजको पीयूष मिश्रालाई निर्माण गर्‍यो।

त्यसपछि मैले नेसनल स्कुल अफ ड्रामा (एनएफडीसी) मा प्रवेश गरेँ। धेरैलाई लाग्थ्यो, त्यो मेरो सपना थियो। तर वास्तवमा म एनएफडीसीभन्दा पनि ग्वालियर छोड्न चाहन्थेँ। किनकि यदि जीवनमा केही बन्ने चाहना छ भने घरको छायाबाट बाहिर निस्कनैपर्छ। आमाले बनाइदिनुभएको रोटीको स्वाद पनि एक समयपछि छोड्नैपर्छ। आफ्नो बाटो आफैँ बनाउन घरबाट टाढा जानुपर्ने हुन्छ।

म कक्षा १० मा पढ्दाताका आफ्नी एक शिक्षिकासँग आकर्षित भएको थिएँ। हामी दुवैबीच एउटा आत्मीय सम्बन्ध बनेको थियो। उनलाई मेरा गीतहरू पनि निकै मन पर्थे। तर समयसँगै उनको विवाह भयो र त्यो भावना सम्झनामै सीमित रह्यो।

मलाई काम गर्न असाध्यै मन पर्छ। म आफूलाई धेरै विधामा काम गर्न सक्ने व्यक्ति मान्छु। अभिनय, लेखन, संगीत, गायन- यी सबै क्षेत्रमा मैले काम गरेको छु। त्यसैले म आजका युवालाई एउटा कुरा भन्न चाहन्छु- आफ्नो क्षमतालाई कुनै एउटा क्षेत्रमा मात्र सीमित नगर। तिमीहरू धेरै कुरा गर्न सक्षम छौँ।

हामीमध्ये धेरैजसोले आफूलाई एउटै पहिचानभित्र बन्द गर्छौं। तर मानिसको सम्भावना त्योभन्दा धेरै ठूलो हुन्छ। आफूभित्र भएका विभिन्न प्रतिभालाई चिन्ने र प्रयोग गर्ने साहस गर्नुपर्छ। जीवनमा नयाँ-नयाँ क्षेत्र खोज्दै अगाडि बढ्नुपर्छ, किनकि हामी केवल एउटा कामका लागि मात्र जन्मिएका हुँदैनौँ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad