चन्द्रपुर नगरपालिकालाई पराजित गर्दै वालिङ नगरपालिकाले राष्ट्रिय महिला लिगमा सुखद अन्त्य गरेको छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको आफ्नो अन्तिम खेलमा वालिङले चन्द्रपुर नगरपालिकालाई ३–० ले हराउँदै वालिङले लिग यात्रा टुङग्याएको छ।
वालिङको जितमा हिमा रावत, मेथो एलुड रुथ र अमिषा कार्कीले गोल गरे।
खेलको १७ औं मिनेटमा हिमाको गोलबाट वालिङले अग्रता लिएको थियो। ४७ औं मिनेटमा मेथोले गोल गर्दै अग्रता दोब्बर पारिन्। ५४ औं मिनेटमा अमिसाले गोल गर्दै अग्रता फराकिलो पारिन्।
जितसँगै १२ खेलमा १७ अंक जोडेको वालिङ तेस्रो स्थानमा उक्लेको छ। यद्यपी भोलि हुने नेपाल पुलिस क्लव र चौदण्डीगढीको खेलले स्थानको टुङगो लाग्नेछ। खेल सातदोबाटोस्थित एन्फा मैदानमा बिहान १० बजे हुनेछ। वालिङले १२ खेलमा ५ मा जित, ५ मा हार र १ मा बराबरी गर्दै लिग सकाएको हो।
चन्द्रपुरले भने छैटौं स्थानमा रहेर लिग सकाएको छ। चन्द्रपुरले १२ खेलमा ३ मा जित र ९ मा हार भोग्यो।
लिगको अन्तिम दुई खेल शुक्रबार हुनेछ। यद्यपी लिग उपाधिको छिनोफानो भने बुधबार नै भइसकेको छ। जारी लिगमा नेपाल एपीएफले अपराजित यात्रा कायम राख्दै उपाधि आफ्नो पोल्टामा पारेको हो। त्रिभुवन आर्मी क्लब भने दोस्रो स्थानमा छ।
लिग चरणको अन्तिम खेलमा भोलि शीर्ष स्थानको नेपाल एपीएफ क्लव र त्रिभुवन आर्मी फुटबल क्लव खेल्नेछन्। उपाधि जितेको एपीएफ र आर्मीबीचको खेल प्रतिष्ठाको लडाई मात्र हुनेछ।
प्रतिक्रिया