ad ad

समाज


भागरथी हत्या प्रकरणः दिनेशले हत्या गरेको भन्नेमा परिवारको आशंका, शव अझै अस्पतालमै

भागरथी हत्या प्रकरणः दिनेशले हत्या गरेको भन्नेमा परिवारको आशंका, शव अझै अस्पतालमै

गोकुल जोशी
फागुन ६, २०७७ बिहिबार १२:२९,

बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७, कतोलाकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव बुझ्न परिवारले अस्वीकार गरेको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीले घटनामा संलग्न सोही स्थानका १७ वर्षीय दिनेश भट्टलाई मंगलबार राति पक्राउ गरी बुधबार सार्वजनिक गरेको थियो।

घटनाका प्रमुख अभियुक्त दिनेश पक्राउ परे पनि भागरथीको परिवारले भने उनले घटना घटाएको भन्नेमा आफूहरु विश्वस्त नभएको बताएको छ। उनीहरुले घटनाका दोषीका सन्दर्भमा आफूहरु विश्वस्त नभएसम्म शव नबुझ्ने अडान लिएका छन्।

‘एउटा सानो केटोले यत्रो घटना गराएको भन्नेमा हामीहरुलाई शंका छ। उसैले गराएको हो भनी विश्वास नलागेसम्म शव बुझ्दैनौँ’, भागरथीका एक आफन्तले नेपालखबरसँग भने।

भागरथीको शव जिल्ला अस्पताल बैतडीको शव गृहमा राखिएको छ। गत माघ २१ गते बुधवारका दिन विद्यालय गएकी भागरथी भट्टको अर्कोदिन साँझ घर नजिकै लबलेक सामुदायिक वनमा शव भेटिएको थियो।

हत्याका प्रमुख अभियुक्त मानिएका दिनेशले पुरानो रिसइबीका कारण हत्या गरेको स्वीकारेका छन्। प्रहरीका अनुसार बलात्कारको प्रयास गरे पनि भागरथीको यौनांगबाट रगत बगिरहेकाले त्यसै छोडेको दिनेशले प्रहरीलाई बयान दिएका छन्।

पोस्टमार्टम रिपोर्टले बलात्कार भएको देखाएको र दिनेशले त्यो इन्कार गरेकोे भन्दै भागरथीको परिवारले यसमा पनि शंका व्यक्त गरेको छ। यद्यपि प्रहरीले भने अनुसन्धानमा शंका नगर्न आग्रह गरेको छ।

भागरथीको घडी भेटियो
भागरथी हत्या प्रकरणका आरोपी दिनेश भट्टविरुद्ध प्रहरीले थप प्रमाण फेला पारेको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार घटनास्थल नजिकैको खोल्सोमा भागरथीले लगाएको घडी भेटिएको हो। भागरथीको घडी आरोपीले भनेकै ठाउँमा भेटिएपछि अब परिवारले शव बुझ्नेमा प्रहरी आशावादी छ।

‘अभियुक्तले फालेको स्थान बताएपछि हामीले त्यहाँ खोजी गर्दा भागरथीको घडी भेटाएका छौँ’, सुदूरपश्चिम प्रहरीका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहले भने, ‘परिवारले अझै पनि शव बुझ्न नमानेपछि हामीहरु उहाँहरुसँग थप छलफलमा छौँ।’

भागरथीको परिवार अहिले जिल्ला प्रहरी कार्यालय बैतडीमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .