रजनी थोकरको निर्णायक गोलमा चन्द्रपुर नगरपालिका रौतहटले राष्ट्रिय महिला लिगमा विराटनगर नगरपालिका मोरङलाई पराजित गरेको छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आइतबार भएको खेलमा चन्द्रपुरले मोरङलाई १–० को झिनो अन्तरले हराँउदै लिगमा दोस्रो जित दर्ता गरेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा मात्रै गोल सम्भव भएको हो। खेलको ७० औं मिनेटमा रजनीले निर्णायक गोल गरिन्।
चन्द्रपुरले पहिलो लेगमा भन्दा सुधारिएको प्रर्दशन गरेको थियो। पहिलो लेगमा विराटनगरले चन्द्रपुरलाई ५–० को फराकिलो अन्तरले हराएको थियो।
जितसँगै चन्द्रपुरले अंकतालिकामा ३ अंक जोडेको छ। ६ अंक जोडेको चन्द्रपुर तालिकाको छैटौं स्थानमा यथावत छ। हारपछि १० अंक भएको विराटनगर तेस्रो स्थानमा यथावत छ।
आजै हुने दोस्रो खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र वालिङ नगरपालिका स्याङ्जा खेल्नेछन्। खेल सोही मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ।
पुलिस लिगमा तेस्रो जित दर्ता गर्दै अंक तालिका सुधार गर्न चाहान्छ। आजको खेलमा पुलिस विजयी भए एक स्थान सुधार गर्दै तेस्रो स्थानमा पुग्नेछ।
यता पहिलो लेगमा पुलिसलाई बराबरीमा रोकेरको वालिङ उच्च मनोबलका साथ मैदान उत्रिँदै छ। विदेशी खेलाडी समावेश गरेर बलियो भएको वालिङ पुलिसलाई हराउँदै तेस्रो स्थानमा उक्लने रणनितीमा छ।
समान अंक भए पनि गोल अन्तरका आधारमा पुलिस चौथो र वालिङ पाँचौँ स्थानमा छ।

प्रतिक्रिया