खेल


भिक्टोरी हाफ म्याराथनको उपाधि रायमाझी र केसीलाई

भिक्टोरी हाफ म्याराथनको उपाधि रायमाझी र केसीलाई

नेपालखबर
पुस २५, २०७७ शनिबार ७:५०,

जितगढी किल्लाको प्रवद्र्धन गर्ने उद्देश्यले बुटवलमा सम्पन्न भिक्टोरी हाफ म्याराथनको उपाधि खड्ग दल गण रोल्पाका शिवबहादुर रायमाझीले हात पारेका छन्।

बुटवलको जीतगढी किल्लामा नेपाली फौजले प्रदर्शन गरेको वीरताको स्मरण गर्दै मध्य पश्चिम पृतना मुख्यालय योगीकुटी बुटवलको अगुवाइ तथा लुम्बिनी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोगमा सम्पन्न म्याराथनको २१ किलोमिटर दूरी उनले एक घण्टा ११ मिनेट ४९ सेकेण्डमा पूरा गर्दै उपाधि हात पारेका हुन्।

यसैगरी नारायण दल गण कपिलवस्तुका सुवास कार्कीले एक घण्टा १४ मिनेट ३९ सेकेण्डमा दूरी पार गर्दै दोस्रो भए भने बिन्दवासिनी बहिनी चन्द्रौटा कपिलवस्तुका सशस्त्र प्रहरी बलका गौरव भण्डारीले एक घण्टा १४ मिनेट ५१ सेकेण्डमा दूरी पार गर्दै तेस्रो स्थान हासिल गरेका थिए।

यसैगरी महिलातर्फको उपाधि गरुड दल बुटवलकी निर्मला केसीले हात पारिन् उनले एक घण्टा ३३ मिनेट ३४ सकेण्डमा दूरी पार गरेकी थिइन्।

सशस्त्र प्रहरी बल बिन्दवासिनी बाहिनीका भावना शाहीले एक घण्टा ३६ मिनेट पाँच सेकेण्डमा पार गर्दै दोस्रो भइन् भने गोरख दल गण पाल्पाकी मिनिसा थापा एक घण्टा ३७ मिनेट २० सेकेण्डमा दूरी पार गर्दै तेस्रो भएकी सिथइन्।

विजेता प्रथम, द्वितीय र तृतीयले क्रमशः नगद रु २५ हजार, २० हजार र १५ हजारसहित मेडल, प्रमाणपत्र प्राप्त गरेका छन्।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, आन्तरिक मामिला तथा कानूनमन्त्री कूलप्रसाद केसी, उद्योग, पर्यटन, वन तथा पर्यटनमन्त्री लीला गिरी र नेपाली सेना मध्य पश्चिम पृतना मुख्यालयका पृतनापति उपरथी सञ्जय थापाले जितगढी किल्ला परिसरमा आयोजना गरिएको विशेष कार्यक्रममा विजेता, उपविजेता खेलाडीलाई पुरस्कार वितरण गरेका थिए।

‘जीतगढीको सान नेपालीको पहिचान’ भन्ने नारासहित आयोजना गरिएको विजय दौडमा मुख्यमन्त्री पोखरेल, आन्तरिक मामिला तथा कानूनमन्त्री केसी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री गिरीसहित विभिन्न क्षेत्रका व्यक्तिहरु सहभागी भएका थिए।

हाफ म्याराथुन बुटवल बहुमुखी क्याम्पसबाट शुरु भई योगीकुटी हुँदै ड्राइभर टोलबाट फिर्ता भएर लुम्बिनी अस्पताल, पुरानो बसपार्क हुँदै जीतगढीमा समाप्त भएको थियो। जीतगढी किल्लाको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यले कोरोना महामारीका बीच पनि सतर्कता अपनाएर कार्यक्रम आयोजना गरिएको नेपाली सेना मध्य पश्चिम पृतना मुख्यालयका पृतनापति, उपरथी सञ्जय थापाले बताए। नेपाल र अङ्ग्रेजबीच सन् १८१४ देखि १८१६ सम्म भएको युद्धमा नेपाली फौजले अंग्र्रेज फौजलाई परास्त गरेको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad