युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) चेन्नाई सुपर किंग्समाथि कोलकत्ता नाइट राइडर्सले १० रनको जित हात पारेको छ।
अबुधाबीमा बुधबार भएको खेलमा १ सय ६८ रनको लक्ष्य पछ्याएको चेन्नाईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५७ रनमात्रै बनाउँन सक्यो ।
चेन्नाईका सेन वाट्सनले अर्धशतकीय पारी खेलेपनि टोलीलाई जिताउँन सकेनन। वाटसनले ४० बलमा ६ चौका र एक छक्कासहित ५० रन जोडे।
अम्बाती रायडुले ३०, रवीन्द्र जडेजाले २१, फाप डु प्लेसिस र साम करनले १७–१७, र कप्तान महेन्द्रसिंह धोनीले ११ रनमात्रै बनाउँन सके।
कोलकत्ताका शिवम माभी, भरुण चक्रवर्ती, कमलेस नगरकोटी, सुनिल नारिन र आन्द्रे रसेलले १–१ विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा सबै विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो।
कोलकत्ताका ओपनर राहुल त्रिपाठीले ५१ बलमा ८ चौका र ३ छक्कासहित ८१ रनको अर्धशतकीय इनिङ्स खेलेपछि टोलीले विजयी लक्ष्य बनायो।
यस्तै उसका सुनिल नारिनले १७, शुभमान गिलले ११, दिनेश कार्तिकले १२ र पाट कुमिन्सले अविजित १७ रन जोडे।
चेन्नाईका ड्वाने ब्राभोले ३ तथा शार्दुल ठाकुर, साम करन र कर्ण शर्माले २–२ विकेट लिए।
प्रतियोगितामा कोलकत्ताको यो तेस्रो जित हो। जितसँगै ५ खेलबाट ६ अंक जोडेको कोलकत्ता लिगको तेस्रो स्थानमा उक्लिएको छ।
चेन्नाईको भने यो तेस्रो हार हो। ६ खेलमा ४ अंक जोडेको चेन्नई पाँचौ स्थानमा रहेको छ।

प्रतिक्रिया