छापा खबर


जब फिरौती बापत १६ लाख रुपैयाँ बैंकमा जम्मा भयो...

जब फिरौती बापत १६ लाख रुपैयाँ बैंकमा जम्मा भयो...

नेपालखबर
असोज २२, २०७७ बिहिबार ०:५४,

दाङ पहरुवाकी अनिता रैदासले गत असार १४ गते हिमालयन बैंकको घोराही शाखामा १२ लाख रुपैयाँ जम्मा गरिन्।

उनले नै त्यसको पर्सिपल्ट असार १६ गते हिमालयन बैंककै तुलसीपुर शाखामा चार लाख रकम जम्मा गरिन्।

बैंकका कर्मचारीले उक्त रकमको स्रोत खोजी गर्दै किन जम्मा गर्न लागेको भनेर बुझे। अनिताले पति मध्म रैदास मलेसियामा अपहरणमा परेकाले फिरौती पठाउन लागेको खुलाइन्।

उनले त्यत्रो धेरै रकम मोरङको साबिक सुन्दरपुर गाविस–५ घर भएका ४४ वर्षीय दुर्गाबहादुर श्रेष्ठ (डेभिड) को खातामा जम्मा गरिदिएकी थिइन्।

त्यसबारे बैंकका कर्मचारीले आफ्नो केन्द्रीय कार्यालयमा खबर गरे। बैंकका उच्च अधिकारीले राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाइमा पुर्‍याए। त्यसपछि इकाइ प्रमुखले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखलाई जानकारी गराए।

प्रहरीले रैदास अपहरणका आरोपित श्रेष्ठलाई पक्राउ गरी घटनाको अनुसन्धान गरिरहेको छ। ब्युरोका डीआईजी सहकुल थापाले ९ दिनअघि पक्राउ परेका श्रेष्ठको बयान लिने काम सकिएको जानकारी दिए।

डीआईजी थापाका अनुसार पीडित रैदास केही दिनभित्रै मलेसियाबाट आइपुग्नेछन्। त्यसपछि थप अनुसन्धान सुरु हुने डीआईजी थापाले सुनाए। श्रेष्ठलाई भने नेपाल आएको मौकामा कान्ति बाल अस्पताल अगाडिको सडकबाट पक्राउ गरिएको थियो। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा तुलसी सुवेदीले लेखेका छन्।

अभियुक्त श्रेष्ठ मलेसियास्थित टप ग्लोभ कम्पनीस्थित नेला कर्नर क्यान्टिन सञ्‍चालक रहेछन्। श्रेष्ठकै योजनामा उनकी पत्नी धनमाया श्रेष्ठ र चालक श्याम नेपालीले रैदासलाई ६ दिन बन्धक बनाएको अनुसन्धानका क्रममा खुलेको छ। रकम जम्मा भएपछि छाडिएका रैदास पनि सोही कम्पनीमा कार्यरत छन्।

श्रेष्ठले मलेसियामा रहेका सोझा नेपाली कामदारलाई धम्क्याएर रकम असुल तथा कुटपिट गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनी २२ वर्षदेखि मलेसियामा बस्दै आएको पाइएको छ। ६ वर्षदेखि मलेसियामा कार्यरत रैदासलाई कम्पनीको पैसा चोरेको अभियोग लगाएर चालकको कोठामा थुनेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

घटनाक्रमको सुरुआतमा रैदाससँग कुरा गर्दागर्दै फोन काटिएको अनिताले बताइन्। उनका अनुसार त्यसको दुई दिनपछि मात्र बिहान सवा ४ बजे फेरि मोबाइलको घण्टी बज्यो। तर, पतिको मोबाइलबाट कल आए पनि अरू नै कोही बोले। ती व्यक्तिले रैदासलाई बन्धक बनाएर राखेको बताए।

उनले एक–दुई दिनमै ६० हजार रिंगिट (१७ लाख १८ हजार रुपैयाँ) बैंकमा जम्मा नगरे रैदासलाई मारिदिने धम्की दिए। तब पतिलाई केही नगर्न आग्रह गर्दै अनिताले पैसा खोजेर पठाइदिने सहमति जनाइन्।

अपहरणको ६ दिनमा रैदासलाई अपहरणकारीले मुक्त गरेको उनले सुनाइन्। ब्युरोकै प्रहरीका आग्रहमा अनिताले लकडाउन खुकुलो भएसँगै साउन अन्तिममा अपहरण र शरीर बन्धकमा श्रेष्ठविरुद्ध जाहेरी दिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad