राष्ट्रिय क्रिकेट टोलीबाट खेलिसकेका बायाँ हाते तीव्र गतिका बलर ललितसिंह भण्डारी सवारी दुर्घटनामा परी घाइते भएका छन्। महेन्द्रनगरबाट धनगढी जानेक्रममा उनी सवार मोटरसाइकल दुर्घटनामा परेको हो।
इलाका प्रहरी कार्यालय झलारीका अनुसार ललित र उनका आफन्त करण ठगुन्ना सवार मोटरसाइकल ट्रकसँग जुध्दा दुर्घटना भएको हो।
गम्भीर चोट लागेका ललितलाई प्राथमिक उपचारपछि धनगढी रिफर गरिएको थियो। हाल उनको धनगढीस्थित निसर्ग हस्पिटलमा उपचार भइरहेको छ।
हाल ललितको अवस्था खतराबाहिर रहेको अस्पताल स्रोतले जनाएको छ। ट्रकका चालक भने फरार छन्। ठक्कर दिने ट्रक भने प्रहरीको नियन्त्रणमा रहेको प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक धर्मेन्द्र रावलले जानकारी दिए।
पछिल्लो समय चोटका कारण राष्ट्रिय टोलीबाट बाहिर रहेका उनी हाल नेपाल पुलिस क्लबबाट घरेलु तथा फ्रेन्चाइज लिग खेलिरहेका छन्।

प्रतिक्रिया