खेल


फिफा विश्वकप: यी ४ टोली ‘डेब्यु’का लागि तम्तयार

फिफा विश्वकप: यी ४ टोली ‘डेब्यु’का लागि तम्तयार

लक्ष्मी जि.सी
जेठ १९, २०८३ मंगलबार ६:५३, काठमाडौँ

फिफा विश्वकप २०२६ आउन अब ९ दिन मात्र बाँकी छ। विश्व फुटबलको अभिभावक फिफाले पहिलो पटक ३२ बाट ४८ टोलीलाई सहभागी गराउँदै २०२६ को विश्वकप आयोजना गर्दै छ।

अमेरिका, मेक्सिको र क्यानडामा हुने विश्वकपको तयारी अन्तिम चरणमा पुगेको छ। 

विश्वकपमा सहभागी हुने टोली ३२ बाट ४८ पुर्याउँदा ४ टोलीले विश्वकपमा डेब्यु गर्दै छन्। 

ती चार टोलीमा केप भर्डे, कुराकाओ, जोर्डन र उज्वेकिस्तानल छन्। विश्वकपमा डेब्युका लागि तम्तयार यी टोली कस्ता छन् त?

केप भर्डे
पहिलो पटक विश्वकप खेल्न लागेको केप भर्डे स्पेन, उरुग्वे र साउदी अरेबिया रहेको समूह ‘एच’मा छ। फिफा वरीयताको ६९औँ स्थानमा रहेको केपभेर्डेको नाम कति फुटबल समर्थकले पहिलो पटक सुन्दै छन्। 

लगभग ५ लाख २५ हजार जनसंख्या भएको सेनेगलको तटमा रहेको सानो द्वीपसमूह कुराकाओ र आइसल्यान्डपछि विश्वकपमा भाग लिने तेस्रो सबैभन्दा कम जनसंख्या भएको देश केप भर्डे बन्नेछ।  

विश्वकपसम्म आइपुग्न केप भर्डेले थुप्रै संघर्ष गरेको छ। केप भर्डेका ३५ वर्षीय कप्तान रायन मेन्डेस भन्छन्, ‘हामीले चारवटा अफ्रिकी कप अफ नेसन्स प्रतियोगितामा भाग लिएका छौँ र हामी २०१४ को विश्वकपको लागि छनोट हुने धेरै नजिक पनि थियौँ। वर्षौँदेखि धेरै कुरा हासिल भएको छ।’ 

केप भर्डे डायस्पोरा प्रतिभाको आपूर्तिको लागि भने आफ्नो पोर्चुगिज औपनिवेशिक विगतमा धेरै निर्भर छ। विश्वकपको मिति नजिकिँदै जाँदा ३५ वर्षीय विंगर ग्यारी रोड्रिग्स सबैको नजरमा पर्न सक्नेछन्। 

ब्लू शार्कको उपनाम पाएको केप भर्डे विश्व चर्चित खेलाडीविना नै मैदान उत्रिँदै छ। विश्वकपमा केवल तीन खेल खेलेर फर्किने योजनामा केप भर्डे कत्ति पनि छैन। उनीहरु प्रतियोगितामा छाप छोड्न चाहन्छन्। 

कप्तान मेन्डेस भन्छन्, ‘एउटा कुरा निश्चित छ, हामी त्यहाँ केवल तीन खेल खेल्न र घर फर्किन जाँदैनौँ।’

कुराकाओ
सानो टापु अनि ठूला सपनाहरू बोकेको क्यारिबियन टापु हो कुराकाओ। यहाँको फुटबल टोली अहिले विश्वकपको अन्तिम तयारीमा जुटिरहेको छ। 

विश्वविजेता जर्मनी, इक्वेडर र आइभरी कोस्ट रहेको समूह ‘इ’मा रहेको कुराकाओ विश्व वरीयताको ८२औँ स्थानमा छ। 

जनसंख्याको हिसाबले विश्वकपमा छनोट हुने सबैभन्दा सानो देश हो कुराकाओ। १ लाख ६० हजार जनसंख्या रहेको कुराकाओ ब्लू वेभको शिखरमा छन्, जसलाई राष्ट्रिय टोली भनिन्छ। 

विश्वकपसम्मको यात्रा तय गर्न कुराकाओले कडा संघर्ष गरेको छ। कुराकाओलाई विश्वकपसम्मको यात्रा तय गराउन ७८ वर्षीय डिक एड्भोकाट हुन्। उनी नेदरल्यान्ड्स, पीएसभी र रेन्जर्सका पूर्वप्रबन्धक हुन्। उनै एड्भोकाट विश्वकपमा सहभागी हुने सबैभन्दा सिनियर प्रबन्धक बन्ने तयारीमा छन्। 

नेदरल्यान्ड्सभित्रको स्वशासित रूपमा रहेको कुराकाओको विश्वकप टोली पूर्ण रूपमा यसको डच–आधारित डायस्पोराप्रति ऋणी रहेको कुराकाओको फुटबल महासंघका अध्यक्ष गिल्बर्ट मार्टिना स्वीकार गर्छन्। 

उनले भने, ‘राष्ट्रिय टोलीका सबै खेलाडीहरू विदेशी लिगहरूमा खेल्छन्। सायद सबैभन्दा प्रसिद्ध खेलाडी ताहिथ चोङ हुन्, जो अहिले च्याम्पियनशिप टोली शेफिल्ड युनाइटेडमा छन्। कुराकाओमा जन्मेका एक मात्र टोली सदस्य, चोङ १३ वर्षको उमेरमा नेदरल्यान्ड्स सरेका थिए।

२६ वर्षीय विङ्गर वा आक्रमणकारी मिडफिल्डर आफ्नो गति, ड्रिब्लिङका लागि परिचित छन्। सबैभन्दा प्रसिद्ध कुराकाओन सम्भवतः पूर्व अजाक्स र बार्सिलोना स्टार प्याट्रिक क्लुइभर्ट हुन्, जसको जन्म सुरिनामी बुबा र कुराकाओकी आमाबाट भएको थियो।

कुराकाओले विश्वकप २०२६ लाई भविष्य र अर्को पुस्ताका लागि महत्त्वपूर्ण रुपमा लिएको छ। 

जोर्डन
डेब्युको तयारीमा रहेको जोर्डन एसियाली छनोटबाट विश्वकपसम्मको यात्रा गरेको टोली हो। 

विश्वकपमा सहभागी अन्डरडग टोलीका बाबजुद जोर्डन केवल संख्या पुर्याउन मात्र विश्वकपमा सहभागी हुँदै छैन। 

जोर्डनका मुख्य प्रशिक्षक जमाल सेल्लामीले आफ्ना खेलाडीहरूलाई २०२२ को कतार विश्वकपमा सहभागी मोरक्कोको आश्चर्यजनक दौडको अनुकरण गर्न आग्रह गरेका छन्। मोरक्कोले गत विश्वकपमा सेमिफाइनसम्मको यात्रा तय गरेको थियो। त्यसले आफूहरुलाई पनि विश्वास दिने जोर्डनका प्रशिक्षक जमालको भनाइ छ। 

मिडफिल्डर नूर अल–रावब्देहले भने, ‘हामी केवल सहभागिताको लागि जाँदैनौँ, प्रतियोगितामा सकेसम्म टाढा जाने लक्ष्यमा छौँ, इमानदारीपूर्वक भन्नुपर्दा, कहिलेकाहीँ यसबारे सोच्दा निद्रा लाग्दैन, यो हाम्रो लागि सपना साकार भएजस्तो लाग्छ।

फिफा वरीयताको ६३औँ स्थानमा रहेको जोर्डनले थुप्रै फुटबल संस्कृतिसँग नजिक हुने मौका पाएको छ। साविक विजेता अर्जेन्टिना, अष्ट्रिया र अल्जेरिया रहेको समूह ‘जे’मा रहेको जोर्डन विश्व फुटबलमा आफ्नो बेग्लै छाप छाड्ने तयारीमा छ।

उज्वेकिस्तान
एसियाली छनोटको बाटो हुँदै विश्वकप पुगेको उज्वेकिस्तान विश्वकपमा डेब्युको दिन गनिरहेको छ। 

यद्यपि उज्बेकिस्तान एफएका उपाध्यक्ष रवशान इरमाटोभ भने विश्वकपका लागि अपरिचित छैनन्। उनले तीन फाइनलमा रेफ्रीको भूमिका निर्वाह गरिसकेका छन्। तर उनी विश्वास गर्छन्– मध्य एसियाली देशको लामो समयदेखि प्रतीक्षा गरिएको छनोट फुटबल विकासको पछिल्लो चरण मात्र हो। 

उज्वेकिस्तान विश्वकपको लागि छनोट हुनु ३४ वर्षदेखि ३ करोड ८० लाख मानिसहरूको लागि सपना भएको उपाध्यक्ष इरमाटोभले बताए। 

उनले भने, ‘उज्बेकिस्तान राष्ट्रको लागि कति महत्त्वपूर्ण थियो, हामीले धेरै समय पख्र्यौँ। सोभियत संघको विघटनपछि सन् १९९४ मा फिफा सदस्यता प्रदान गरिएदेखि उज्बेकिस्तानको पहिलो छनोट फाइनल स्थान सुरक्षित गर्ने सात प्रयासपछि आएको हो।’

रोमाबाट लोनमा इस्तानबुल बासाकसेहिरमा पुगेका कप्तान एल्डोर शोमुरोडोभ ९० खेलमा ४४ गोल गर्दै देशको सर्वाधिक गोलकर्ता हुन्। उनले यो सिजनमा टर्किस सुपर लिगमा २१ गोल गरेका छन्।

तर टोलीको सबैभन्दा चर्चित खेलाडी सम्भवतः म्यानचेस्टर सिटीका अब्दुकोदिर खुसानोभ हुन्। २२ वर्षीय सेन्टर ब्याक यस सिजन डिफेन्सको मुख्य हिस्सा बनेका छन्। उनको पोजिसनअनुसारको खेल, गति, शक्ति र शान्त नेतृत्वको लागि उनी परिचित छन्।  

गत जुनमा संयुक्त अरब इमिरेट्स (युएई) सँग गोलरहित बराबरी खेल्दै उज्बेकिस्तानले विश्वकपमा स्थान पक्का गरेको थियो। जोर्डन पूर्व इटालियन विश्वकप विजेता फाबियो क्यानाभारोको प्रशिक्षणमा छ। 

फिफा वरीयताको ५०औँ स्थानमा रहेको उज्वेकिस्तन कोलम्बिया, पोर्चुगल र डीआर कंगो रहेको समूह ‘के’मा छ।

यो पनि पढ्नुहोस्–

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad