खेल


टीयू मैदान नवीकरणका लागि प्रस्ताव पठाउने क्यानको तयारी

टीयू मैदान नवीकरणका लागि प्रस्ताव पठाउने क्यानको तयारी

लक्ष्मी जि.सी
चैत २३, २०८२ सोमबार १७:४४, काठमाडौँ

नेपाल क्रिकेट संघ (क्यान) ले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको जग्गा नवीकरणका लागि प्रस्ताव पठाउने तयारी गरेको छ। 

क्यान, राष्ट्रिय खेलकुद परिषद् र त्रिभुवन विश्वविद्यालयसँगको सम्झौता सकिन अब केही समयमात्र बाँकी छ। 

यसैबीच, क्यानले राष्ट्रिय खेलकुद परिषद्, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालयमार्फत त्रिभुवन विश्वविद्यालयसँग प्रस्ताव लैजाने तयारी गरेको छ।

क्यान प्रवक्ता छुम्बी लामाले भने, ‘सबै प्रक्रिया पूरा गरेर शिक्षा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् हुँदै त्रिभुवन विश्वविद्यालयसँग सम्झौता नवीकरणका लागि प्रस्ताव लैजाने तयारी भएको छ।’
 

प्रवक्ता लामाका अनुसार क्यान बैठकबाट यो विषयमा निर्णय गरिसकेकाले अब सबै प्रक्रिया पूरा गरेर नवीकरणका लागि प्रस्ताव लैजाने तयारी छ। 

त्रिभुवन विश्वविद्यालय स्रोतले भने अहिलेसम्म कुनै प्रस्ताव नआएको र राखेप वा मन्त्रालयसँग छलफल गरेर आफूहरु अघि बढ्ने बताएको छ।  

स्रोतले भन्यो, ‘टीयूको कुलपति प्रधानमन्त्री हुने भएकाले सरकारले कस्तो निर्णय त्यसमा भर पर्छ, टीयूमा धेरै मुद्दाहरु छन्, त्योमध्ये यो पनि एक हो तर धेरैलाई यो मैदान कुरा मात्रै ठूलो लागेको छ। अब सम्झौता नवीकरणका लागि प्रस्ताव आएपछि बैठक बसेर छलफल गरेर अघि बढ्छौँ।’ 

त्रिवि क्रिकेट मैदानका लागि वि.सं. २०५९ वैशाख १ देखि २०८३ को वैशाखसम्मका लागि सम्झौता भएको थियो। सम्झौतामा दुई पक्षबीच पाँच वर्षमा भाडा वृद्धि गर्ने उल्लेख भए पनि सम्झौताअनुसार काम हुन सकेन। 

सुरुवातको ३ वर्ष क्यानले वार्षिक ३ लाख रुपैयाँ भाडा दिँदै आएको थियो। तर तेस्रो वर्षपछि भने क्यानले वार्षिक ९ लाख रुपैयाँ भाडा त्रिविलाई दिँदै आएको छ। 

टियु मैदानको सम्झौता नवीकरणका विषयमा अन्यौल हुँदा दोस्रो चरणको काम सुरु हुन सकेको छैन। 

मैदानमा पहिलो चरणको काम सम्पन्न हुँदा १० हजार क्षमताको प्यारापिट र ६ वटा फ्लडलाइट जडान भइसकेको छ। सहरी विकास मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले कीर्तिपुर क्रिकेट रंगशालाको गुरुयोजना स्वीकृत गर्दै दोस्रो चरणका लागि करिब १० अर्ब रुपैयाँको बजेट समेत सुनिश्चित गरिसकेको छ। 

जग्गाको सुनिश्चितता भए दोस्रो चरणको काम सुरु गरेर आगामी २ वर्षभित्र सम्पूर्ण निर्माण सक्ने लक्ष्यमा सहरी विकास मन्त्रालय रहेको छ।

यो पनि–

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad