देशका आठ वटा विश्वविद्यालयका उपकुलपतिका लागि २४ जनाको नाम टुंगो लागेको छ। हरेक विश्वविद्यालयका लागि तीन-तीन जनाको नाम टुंगो लगाएर नियुक्तिका लागि पठाइएको छ।
उपकुलपति छनोट समितिले आठ विश्वविद्यालयका उपकुलपतिको अन्तिम सूची टुंगो लगाएको जनाएको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको नेतृत्वमा गठित समितिले उपकुलपतिका लागि नाम सिफारिस गरेको हो।
सिफारिस समितिले त्रिभुवन विश्वविद्यालयसहित पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको उपकुलपतिको लागि नाम सिफारिस गरेको छ।
तीन-तीन जनाको नाम टुंगो लगाएर विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहलाई बुझाएको शिक्षा मन्त्रालयले स्रोतले जनाएको छ। ‘नाम टुंगो लागेर प्रधानमन्त्री कार्यालयमा बुझाइ सकिएको छ। प्रधानमन्त्रीले पनि अध्ययन गर्नुहुन्छ होला,’ शिक्षा मन्त्रालयले स्रोतले नेपालखबरलाई भन्यो, ‘अब केही दिनमा नियुक्ति गर्ने सम्भावना छ।’
आठ विश्वविद्यालयको उपकुलपतिका लागि २१८ जनाको आवेदन परेको थियो। आवेदन परेकामध्ये १०-१० जनाको नाम ‘सर्ट लिस्ट’मा राखिएको थियो। सर्ट लिस्ट सार्वजनिक गरेर उनीहरूका विषयमा सुझाव पनि संकलन गरिएको थियो।
सर्ट लिस्टमा परेका उम्मेदवारसँग अन्तर्वार्ता र प्रस्तुतीकरण गरिएको थियो। त्यसपछि छनोट समितिले नाम टुंगो लगाएको शिक्षा मन्त्रालयले जनाएको छ।
सरकारले अध्यादेशमार्फत विश्वविद्यालयका उपकुलपतिलाई हटाएको थियो। त्यसपछि गत वैसाख २५ गते आवेदन माग गरिएको थियो।
जसमा त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि ५०, पूर्वाञ्चल विश्वविद्यालयका लागि ३८, पोखरा विश्वविद्यालयका लागि ३८, सुदूरपश्चिम विश्वविद्यालयका लागि १९ र मध्यपश्चिम विश्वविद्यालयका लागि २० जनाले आवेदन दिएका थिए।
त्यस्तै, लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि ११, कृषि तथा वन विज्ञान विश्वविद्यालयका लागि १५ र राजर्षि जनक विश्वविद्यालयको लागि २७ जनाले आवेदन दिएका थिए।
अध्यादेशमार्फत उपकुलपतिहरू पदमुक्त भएपछि समितिले खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न लागेको हो। उपकुलपति बन्न विद्यावारिधि अनिवार्य गरिएको छ।
अनुसन्धान तथा प्राज्ञिक अनुभव, उच्च नैतिक चरित्र, राजनीतिक दलको सदस्य नरहेको र लेख-रचनामा बौद्धिक चोरी नगरेको स्वघोषणा अनिवार्य गरिएको छ।
त्यस्तै, उपकुलपतिका लागि आवेदन दिन कम्तीमा विद्यावारिधि पूरा गरेको, अनुसन्धान र प्राज्ञिक क्षेत्रमा १० वर्ष काम गरेको, ४० वर्ष उमेर पूरा भएकोलगायतका योग्यता राखिएको थियो।
त्रिविका लागि सिफारिस तीन जना
त्रिभुनव विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिएका ५० जनामध्ये १० जनाको नाम ‘सर्ट लिस्ट’मा परेको थियो। तिमध्ये तीन जनाको नाम सिफारिस गरेर पढाएको शिक्षा मन्त्रालय स्रोतले जानकारी दिएको छ।
त्रिविको उपकुलपतिका लागि छनोट भएका तीन जनामा प्राडा नन्दबहादुर सिंह, डा. भोला थापा र प्रा.डा. दुर्गादत्त पौडेल छन्।
प्रा.डा. सिंह मध्यपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति हुन्। त्यस्तै, डा. थापा काठमाडौँ विश्वविद्यालयका पूर्व उपकुलपति हुन् भने प्रा.डा. पौडेल अमेरिकाको युनिभर्सिटी अफ लुसियामा कार्यरत छन्।
Shares

प्रतिक्रिया