ट्वेल्व फुटबल ट्रेनिङ सेन्टरले समर फुटबल क्याम्प आयोजना गर्ने भएको छ।
नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान विराज महर्जन र गोलरक्षक विकेश कुथुद्वारा सञ्चालित ट्रेनिङ सेन्टरले विद्यालयको अन्तिम परीक्षा सकिएलगत्तै हुने लामो बिदालाई लक्षित गर्दै क्याम्प आयोजना गर्न लागेको हो।
समर क्याम्प चैत २८ गतेदेखि वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ। सातदोबाटोस्थित एनएसएफ स्पोट्र्स कम्प्लेक्समा बिहान ७ बजेदेखि ९ बजेसम्म क्याम्प सञ्चालन जनाइएको छ। क्याम्पको दर्ता शुल्क ५ हजार रुपैयाँ तोकिएको छ।
विद्यार्थीको मानसिक र शारीरिक स्वास्थ्यका साथै फुटबलप्रति आकर्षित गर्ने योजनाले क्याम्प आयोजना गर्न लागेको महर्जनले बताए। छुट्टीको समयमा धेरै विद्यार्थीले मोबाइल, ल्यापटप, टेलिभिजन जस्ता इलेक्ट्रोनिक उपकरणमा धेरै समय बिताउने प्रवृत्ति बढ्दै गएको छ।
यसले दीर्घकालीन रूपमा शारीरिक तथा मानसिक स्वास्थ्यमा असर पार्न सक्ने भएकाले विद्यार्थीलाई केही समय भए पनि यस्ता ग्याजेटबाट टाढा राख्ने उद्देश्यले क्याम्प सञ्चालन गर्न लागिएको कुथुले बताए।
एसियाली फुटबल महासंघ (एएफसी) प्रमाणित प्रशिक्षकहरूले प्रशिक्षण दिने भएकाले क्याम्पले सहभागी विद्यार्थीको फुटबल कौशल विकासमा सहयोग पुग्ने विश्वास सेन्टरले लिएको छ। क्याम्पमा सहभागीमध्ये सम्भावना देखिएका दुई प्रशिक्षार्थीलाई एक वर्षका लागि ट्वेल्व फुटबल ट्रेनिङ सेन्टरमा छात्रवृत्ति पनि प्रदान गरिनेछ।
६ महिनाअघि सञ्चालनमा आएको यो ट्रेनिङ सेन्टरले ग्रासरुट तहबाटै खेलाडीलाई आवश्यक प्रशिक्षण दिँदै आएको छ। सेन्टरले हरेक शनिबार नियमित प्रशिक्षण पनि सञ्चालन गरिरहेको छ।
Shares

प्रतिक्रिया